शुक्रबार ०७ माघ २०७८

काठमाडौं । नेकपा एमाले पार्टीमा सुद्धिकरणको अभियान सुरु भएको छ । एमालेले पार्टी अनुशासन विपरित काम गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

पार्टीका नेता कार्यकर्ताले अनुशासनको पालना नगर्ने, आफ्नै नेतृत्व विरुद्ध जथाभावि बोल्दै हिँड्ने, गुट भेला गर्ने, संगठनको विधि पद्धतिको पालना नगर्ने गतिविधि बढ्दै गएपछि एमाले त्यस्ता गतिविधिमा संलग्न नेता माथि कारबाही सुरु गरेको छ ।

मुहान नै धमिलो भएपछि खोला नसङ्लिने निष्कर्ष सहित एमालेले पार्टीको सुद्धिकरण र सफाई अभियान मुहानबाटै सुरु गरेको छ । पार्टी हित विपरित गतिविधिको अगुवाई गर्ने नेता माधव नेपालबाट कारबाही सुरु भएको छ ।

सोमबार मात्रै एमालेले पार्टीका नेता माधव नेपाललाई ६ महिनाको लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ । त्यस्तै अर्का नेता भीम रावललाई पनि सोही सजाय गरेको छ । त्यति मात्र होइन सच्चिएर नआए वा अझै पार्टी र नेतृत्वको हित र निर्देशन विपरित गए बीचैमा थप कडा कारबाही गर्ने समेत एमालेले उहाँहरुलाई चेतावनी दिएको छ ।

गुट नै बनाएर पार्टी हित विपरित गुटका भेला गर्दै हिँड्ने प्रमुख चार जना नेतालाई एमालेले स्पष्टिकरण सोधेको थियो । ती मध्ये नेपाल र रावलले स्पष्टिकरण स्वरुप अध्यक्षलाई विभिन्न अभियोग लगाउँदै प्रश्न गरेर स्पष्टिकरण बुझाउनुभएको थियो ।

स्पष्टिकरण सोधिएका मध्ये दुई जना नेताले अझै पार्टीमा स्पष्टिकरण बुझाउनुभएको छैन । सुरेन्द्र पाण्डे र घनश्याम भुसालले अझै पनि पार्टीमा स्पष्टिकरण बुझाउनुभएको छैन ।

पार्टीमा स्पष्टिकरण बुझाए पनि चित्त बुझ्दो नबुझाएको भन्दै दुईजना माथि कारबाही भएको छ । तर स्पष्टिकरण नै नबुझाई अटेर गर्ने दुई जना नेतालाई स्पष्टिकरण नबुझाउनुको कारण सोधेर एमालेले पत्र काट्ने भएको छ ।

त्यसरी पत्र काट्दा पनि दुई जना नेताले कि त फेरि पनि स्पष्टिकरण नबुझाउने वा स्पष्टिकरण बुझाए पनि नेपाल र रावलले जस्तै पार्टी अध्यक्षलाई आरोप लगाउँदै पत्र बुझाउने सम्भावना छ । उहाँहरु पनि पार्टीमा चित्त बुझ्दो जवाफ दिने पक्षमा देखिनु भएको छैन । सार्वजनिक रुपमा उहाँरुबाट व्यक्त अभिव्यक्तिले उहाँहरु पनि एमालेले भनेजस्तो सच्चिएर एमालेमा फर्कने सम्भावना न्युन छ ।

पार्टीले अर्को पटक पत्र पठाउँदा पनि जवाफ नदिए वा चित्त बुझ्दो जवाफ नदिए उहाँहरु पनि कारबाहीको भागिदार हुने निश्चित छ । माधव नेपाल र भीम रावलका आगामि गतिविधि र उहाँहरुको गतिविधिलाई समेत हेरेर एमालेले उहाँहरुलाई गर्ने कारबाही निर्धारण गर्ने देखिन्छ ।

pathivaranews

 

१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया