Sunday, October 25

सबैका बुवा, मेरा बुवा जस्तै हुन…….

August 19, 2020 142

म मेरो बुबासँग सोफामा कहिल्यै बसेको थिएन । मेरो विवाह पछि, एक दिन बुवाले बेलुकाको खाना खाएपछि मलाई बोलाउनु भयो । “छोरा बस” बुवाले सोफा तिर इशारा गर्दै भन्नुभयो ! “कस्तो चलिरहेको छ त तेरो वैवाहिक जीवन ?” एक्कासी बुवाले प्रश्न गर्नु भयो ! “राम्रो छ बुवा” मैले जवाफ दिएँ । केही मिनेट सम्म चलेको हाम्रो कुराकानीको क्रममा म बुबालाई वयस्क जीवन, जिम्मेवारीहरू र विवाहको आशाहरूबारे मेरा विचारहरू व्यक्त गर्दै थिएँ, उहाँ चुपचाप मेरो कुरा सुन्दै हुनुहुन्थ्यो ।

दुईवटा जूसका गिलासहरु सामुने टेबलमा भर्खरै “उसले” राखेर गई । बुवाले एउटा गिलास उठाउनु भयो र गिलासमा रहेका बरफका टुक्राहरुलाई त्यो जुसमा घोल्दै मेरो आँखामा गहिरो सँग हेरेर भन्नुभयो “छोरा, जीवनमा कहिले आफ्ना मित्रहरुलाई न बिर्सिनु !” उहाँले सल्लाह दिनुभयो, “किनकी तिम्रा साथीहरु तिम्रो उमेर अनुसार तिम्रो लागि अझ महत्वपूर्ण र आवश्यक हुनेछन् ।”

“आफ्ना छोराछोरीहरु र उनीहरुका छोराछोरीहरुलाई धेरै माया र प्रेम गर्दै जानु, तर आफ्ना पुराना, निस्वार्थ र अनन्त मित्रहरुलाई कहिल्यै नबिर्सनु । आफ्नो बहुमूल्य समय बाट अलिकति समय निकालेर आफ्ना मित्रहरुहरुसँग समय बिताउने अवश्य प्रयास गर्नु । उनिहरुसँग रमाईलो गर्नु । उनिहरुको घरमा खाना खान जानु र उनिहरुलाई आफ्नो घरमा खाना खान बोलाउनु । कहिल्यै समयले भ्याएन भने फोन बाटै कुराकानी गरेर उनिहरुको हालचालको बारेमा सोधीहाल्नु ।”

“कस्तो बेवास्ता, विचित्र र अनौठो सल्लाह !” मैले मेरो दिमागमा सोचेँ । म भर्खरै विवाह भएको जीवनको खोजीमा थिएँ र बुढोले मलाई मित्रताको नतिजाबारे बताइरहनुभएको थियो।

मैले सोचें, “के जूसमा पनि नशा हुन्छ र ? नशा नभए किन बुवाले यसरी लेक्चर दिई रहनु भएको छ त ?” आखिर, म अब ठूलो भई सकेको छु, मेरी श्रीमती र मेरो भविष्यको परिवार न मेरो जीवनको उद्देश्य र सबै कुरा हो ।

तर समय बित्दै जाँदा मैले बुवाका कुराहरुलाई विस्तारै बुझ्दै गएँ । म मेरा केही साथीहरूसँग सम्पर्कमा थिएँ । संयोगवश समयको साथ-साथ साथीहरूको संख्या बढ्दै गयो । केही समय पछि मैले महसुस गरें कि त्यस दिन मेरो बुबाले मलाई उमेरको सही अनुभवको साथ व्याख्या गर्नु भएको रहेछ, ‘जूसको नशा’ मा होइन ।

वास्तविकतामा, जीवनको सब भन्दा ठूलो आँधीमा, साथीहरू कहिले नाविक बनेर, कहिले डूंगा बनेर त कहिले पतवार बनेर साथ दिईरहेका हुन्छन । अक्सर तिनीहरू जीवनको लडाईमा तपाईं सँगै हुन्छन् । साँचो मित्रहरुको एउटै काम हुने गर्दछ “मित्रता” तिनीहरूको धर्म पनि एउटै हुन्छ “मित्रता” र उनीहरूको उद्देश्य पनि एउटै हुने गर्दछ “मित्रता”!

मेरो जीवनको पचास बर्ष पछि, मलाई थाहा भयो कि घडीको सुईहरू पूरै घेरा घुमेर फेरी त्यहिं पुगेका थिए जहाँबाट मैले जीवन शुरू गरेको थिएँ ।

विवाह अघि मेरा केवल साथीहरू थिए । विवाह पछि मेरा बच्चाहरू भए । बच्चाहरू हुर्किए । उनीहरूको जिम्मेवारी पूरा गर्दा गर्दा म बूढो भई सकें । बच्चाहरूले आफ्नो आफ्नो व्यवसाय सुरु गरी सकेका थिए । उनिहरु आ-आफ्नो जिम्मेवारीमा व्यस्त भए । छोराका बच्चाहरु केही समय सम्म बाजे-बजैका खेलौना बनेर रहे । त्यसपछि, तिनीहरूको रुचि पनि आ-आफ्ना साथिहरुमा हुन गयो र जीवन अलग बाटोमा हिडन थाले ।

अब घरमा हामी दुई बुढा बूढी मात्र थियौं । समय बित्दै गयो । साथी-सहयोगी र प्रतिद्वन्द्वीहरूले मलाई धेरै चाँडै बिर्सनुभयो।

एउटा चीज जो कहिल्यै परिवर्तन भएन, ती हुन मेरा मुट्ठीभर पुराना साथीहरू । आज पनि जब म मेरा साथीहरूसँग हुन्छु, म अझै जवान छु र मैले धेरै वर्षहरू बाँच्नु पर्छ भन्ने महसूस गर्छु ।

साँचो साथीहरू जीवनको आवश्यकता हुन्छन, थोरै भए पनि केही साथीहरूको साथमा रहनुहोस् । तपाईका साथिहरु जतिसुकै अनौंठा, गैरजिम्मेवारपूर्ण, मूर्ख र कम बुद्धिमान् भए पनि जीवनको अत्यन्त नराम्रो समयमा तिनिहरूभन्दा ठूला योद्धा र चिकित्सक भेट्नु असम्भव छ ।

राम्रो मित्र टाढा होस अथवा नजिक, तपाईंको मुटुमा धड्कने गर्दछ । साँचो साथीहरुलाई जीवन भर साथमा राख्नुहोस् । जिम्मेवारी पूरा गर्नुहोस तर हर हालतमा मित्रतालाइ बचाउनुहोस । उनीहरूलाई सुरक्षित राख्नुहोस् । तपाइँको यो बचत तपाइँलाई जीवन भर काम लाग्नेछ ।

प्रतिकृया दिनुहोस्