बिहिबार ३० बैशाख २०७८

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसला (२०७७ फाल्गुन २३) पछि पुनःस्थापित नेकपा एमालेको आन्तरिक जीवन सबैभन्दा बढी प्रभावित भएको छ । नेकपा हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको गठबन्धनमा रहेको माधव नेपाल–झलनाथ खनालको समूह फैसलासँगै पुनःस्थापित नेकपा एमालेमा फर्किने र ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णयका साथ फिर्ता भए पनि उनीहरूले सोचेअनुरूपको परिस्थिति निर्माण नभएका कारण अन्योलपूर्ण भविष्यका साथ राजनीतिक गतिविधि अघि बढाइरहेका छन् ।

ad
ad
ad

२३ फागुनपछि निरन्तर रूपमा समानान्तर गतिविधि गरिरहेको यस समूहले स्थायी समिति, केन्द्रीय कमिटीका बैठकहरू आयोजना गर्नुका साथै २०७७ चैत ४ र ५ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राष्ट्रिय कार्यकर्ता भेला, युवा, महिला र विद्यार्थीलगायतका जनवर्गीय संगठनहरूका भेला गर्दै कमिटीहरू गठन गर्ने कामसमेत सम्पन्न गरिसकेको छ ।

 

उता अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेको संस्थापनले २०७७ फाल्गुन २८ मा पार्टी केन्द्रीय कमिटीको बैठकबाट २३ जना माओवादी समूहबाट एमाले प्रवेश गरेका नेताहरूलाई पार्टी केन्द्रीय सदस्यका रूपमा मनोनयन गर्नुका साथै २०७७ चैत ५ र ७ गतेको संसदीय दलको बैठक आयोजना गरेर नेकपा एमालेको संसदीय दलको विधानसमेत संशोधन गरिसकेको छ । र, त्यस विधानलाई चैत ७ मै आयोजित केन्द्रीय कमिटीको बैठकबाट अनुमोदनसमेत गरिसकेको छ । चैत ७ गतेको बैठकबाट २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्नुका साथै पुनःस्थापित एमालेको दसौं महाधिवेशन आगामी २०८७ मंसिर २–६ गतेसम्म आयोजना गर्ने निर्णयसमेत गरेको थियो ।

 

सर्वोच्च अदालतको फैसलाले एमाले २ जेष्ठ २०७५ को अवस्थामा पुगेकाले सोही अनुरूपका पार्टी संरचना र कमिटीहरूको मात्र वैधता रहने र अध्यक्ष ओलीले २०७७ फाल्गुन २८ र चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकबाट गरेका निर्णयहरू अमान्य हुने बताउँदै आएको माधव नेपाल समूह यही अडानमा रहेको छ । यी निर्णयहरू खारेज हुनुपर्ने अन्यथा समानान्तर पार्टीको अभ्यास गर्ने यस समूहको नीति रहेको छ ।

 

यसकै फलस्वरूप माधव नेपाल समूहले निरन्तर समानान्तर गतिविधिलाई अगाडि बढाइरहेको र पार्टीद्वारा आयोजना गरिएका केन्द्रीय कमिटी र संसदीय दलका बैठक बहिष्कार गरिरहने अवस्थाको सिर्जना भएका कारण सो समूहका वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि पार्टीहित विरुद्धको गतिविधि सञ्चालन गरेको भन्दै अलग–अलग रूपमा स्पष्टीकरण सोध्ने निर्णयसमेत गरियो ।

 

समाचार श्रोतको भनाइमा अध्यक्ष ओलीले अबको एमालेमा गुटबन्दी र समूहबद्धताका नाममा कुनै ‘डिल’ नहुने स्पष्ट पार्दै पार्टीमा अनुशासन उल्लंघन गर्ने, अराजकता सिर्जना गर्ने र गल्ती–कमीकमजोरी गर्नेहरूमाथि कडा नीति अख्तियार गर्नेसमेत स्पष्ट पारेका थिए । साथै व्यक्तिगत तहमा उत्पन्न समस्याका विषयमा भने आफू संवाद गर्न तयार रहेको बताएका थिए । केन्द्रीय कमिटीको बैठक यही निर्णय अनुसार नै पार्टीमा समानान्तर अभ्यास गर्ने नेताहरूलाई स्पष्टीकरण सोधिएको थियो ।

तर यसबिच पुनःस्थापित एमालेलाई एकताबद्ध र सग्लो राख्नुपर्छ भन्ने मत बलियो हुँदै गएको र दुवै पक्षका दोश्रो तहका युवा नेताहरूको निरन्तरको संवाद र छलफलबाट अब स्थितिले नयाँ मोड लिन सक्ने अवस्थाको सिर्जना भएको छ । माधव नेपाल समूहका एक जना युवा नेता योगेश भट्टराईले त माधव नेपाललाई अबको राजनीतिक निकासबारे तीनवटा विकल्पहरू प्रस्तुत गर्दै एमाले विभाजनमा आफूहरूको साथ–सहयोग नरहने, पार्टी अन्य सदस्यहरूको जिम्मा पनि नलिन र आफूले चाहेको बाटोमा लाग्न सुझाएका छन् । एमालेका सचिव योगेशले तीन विकल्प अघि सारेपछि एमाले पंक्तिमा हलचल मच्चिएको छ ।

परिणामस्वरूप २०७७ चैत १३ मा माधव–झलनाथ समूहले आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक आयोजना गरेर एमालेमै रहेर संघर्ष गर्ने निर्णय गर्दै पार्टी र संसदीय दलका बैठकहरूमा सहभागिता जनाउने निर्णय लिएबाटै यो पक्ष थप कमजोर हुने अवस्थाको सिर्जना भएको छ । फलस्वरूप २०७७ चैत १३ गतेको बालुवाटारमा आयोजना गरिएको संसदीय दलको बैठकमा सो समूहका सांसदहरूले आफ्नो भनाइसहित सहभागिता जनाएका थिए ।

केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलद्वारा सोधिएको स्पष्टीकरणको उत्तर संयम र शालीनतापूर्वक दिनुको साटो पार्टी अध्यक्ष ओलीलाई उल्टै प्रतिप्रश्न गरेर प्रतिस्पष्टीकरणको शैलीमा माधव नेपाल र भीम रावलले प्रत्युत्तर दिएपछि पार्टी अध्यक्ष ओली गम्भीर भएर दुवैलाई पार्टीबाट ६ महिना निलम्बन गरेका छन् । स्पष्टीकरण सोधिएका अन्य दुई नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको स्पष्टीकरण प्राप्त नभएको तर त्यो पार्टी एकतालाई बल पुग्ने गरी सकारात्मक रूपमा आउने अध्यक्ष ओलीको अपेक्षा रहेको छ ।

यता प्रचण्डको योजनाअनुरूप पुनःस्थापित एमालेमा सके स्थापित हुने नभए विद्रोह गर्ने रणनीतिका साथ फर्केको यो समूह अब राजनीतिक रूपमा निकै जटिल मोडमा उभिएको छ । एमालेमै रहेर विधिपूर्वक अन्तरसंघर्ष गर्ने निर्णयपछि एमाले विभाजित गरेर प्रचण्डको पार्टीसँग एकता गर्ने माधवहरूको सपनासमेत तुहिएको छ । उनीलगायत भीम रावल आफ्नो राजनीतिकयात्राको दौरानमा सबैभन्दा जटिल र द्विविधाग्रस्त बाटोमा रहेको स्रोतको दाबी छ । तर पनि नेपाल र रावल आत्मालोचनासहित कमीकमजोरी स्वीकारेर एमालेमा क्रियाशील हुने भए पनि उनीहरूको भूमिका र स्थान खुम्चिने निश्चितजस्तै रहेको बताइन्छ ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा एमालेलाई मुलुकको प्रतिस्पर्धी, सक्षम र व्यवस्थित पार्टीका रूपमा विकसित गर्नुपर्ने साझा मान्यतामा रहेका युवा नेताहरूको पहलकदमीले पछिल्ला दिनमा एकताबद्ध एमालेका लागि आशाको सञ्चार गराएको समाचार स्रोतको भनाइ छ । अन्यथा एकताबद्ध र संगठित एमालेको अभावमा २०७४ को संघीय र प्रदेश सभाको निर्वाचनमार्फत प्राप्त उपलब्धिहरू गुम्न सक्ने अवस्स्था थियो ।

यस्तो टुटफुट र विभाजनका कारण राष्ट्रपति, वामपन्थी समर्थित बहुमतको सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारलगायतका अहिले प्राप्त उपलब्धिहरू गुम्ने खतरालाई दृष्टिगत गरी यी उपलब्धिहरू जोगाउन एकताबद्ध र अविभाज्य एमालेको पक्षमा युवा नेताहरूबाट थालिएको अभियान र पहलकदमीले निर्णायक आकार ग्रहण गर्ने समाचार स्रोतको भनाइ छ ।

 

२०४६ सालको परिवर्तनपश्चात् ३ तीन दशकको मिहिनेत र प्रयासमा उपलब्ध यी उपलब्धिलाई संस्थागत र टिकाउ बनाउनका लागि पनि एकताबद्ध एमालेको अपरिहार्यता रहेको निष्कर्षका साथ युवा नेताहरूको हस्तक्षेपकारी सक्रियताले सार्थकता पाउने विश्वास बढेको बताइन्छ । अन्यथा यी उपलब्धिहरू सुरक्षित गर्न नसकिएको अवस्थामा इतिहासमा कहिल्यै नआउने समेत निश्चित जस्तै छ ।

यसको कारणका रूपमा दुवै पक्षका नेताहरूले एकताबद्ध र बलियो एमालेका लागि खेलेको अग्रणी भूमिकाले नयाँ परिस्थितिको सिर्जना हुन लागेको बताइएको छ । एमालेका युवा नेता उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, नेपाल समूहकाउपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य योगेश भट्टराई, गोकर्ण विष्ट बिच एमालेलाई एकताबद्ध र संगठित शक्तिका साथ राष्ट्रिय राजनीतिकको केन्द्रभागमा उभ्याउने गरी अघि बढ्नका लागि भएका यसबिचका वार्ता, संवाद, छलफल र भेटघाटले अविश्वास र दूरी घट्दै गएको समाचार श्रोतको दावी छ ।

 

परिणामस्वरूप एमाले विभाजन गर्ने दाउ असफल हुने र विभाजनकारी तत्व परास्त हुने स्थिति निर्माण हुँदै गएपछि एमाले पंक्तिमा एकताको दियो बल्यो भन्दै हर्षको सञ्चार भएको बताइन्छ । यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजनासहित निरन्तर छलफलमा रहेका माधव नेपाल–भीम रावलहरू नयाँ पार्टी गठन गरेर जाने कि माओवादी केन्द्रमा समाहित हुने भन्ने प्रश्न पनि टड्कारो रूपमा उठेको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगको प्रतिस्पर्धा, इगो र व्यक्तित्व टकरावका कारण माधव नेपालहरूले कतै पृथक् बाटो अँगाले पनि त्यसमा एमालेका १० प्रतिशत कार्यकर्ताहरूले पनि साथ नदिने सो समूह परित्याग गरी संस्थापनतिर लागेका सांसद कृष्णभक्त पोखरेलको दाबी छ । माधव नेपालका गतिविधिले ओली दिनप्रतिदिन शक्तिशाली हुँदै जाने र माधव नेपाल खुम्चिने अवस्था आउन आकलनले सार्थक रूप लिँदैछ ।

साँघु साप्ताहिक

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया