Sunday, October 25

अहिलेसम्म सबभन्दा बढी कोभिड–१९ को सङ्क्रमण आज फेला, सातको मृत्यु

August 18, 2020 130

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबभन्दा बढी आज फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो ।

विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा सङ्क्रमण भएको पाइएको हो । यसअघि एकै दिन ७४१ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल २८ हजार २५७ जनामा सङ्क्रमित रहेका छन् ।

नेपालमा पहिलो पटक गत माघ ९ गते चीनको वुहान शहरबाट आएका विद्यार्थीमा सङ«क्रमण देखिएको थियो । उहाँका अनुसार सक्रिय सङ्क्रमित १० हजार ५६३ जना रहेका छन् । यसैगरी आज ८५ जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भई घर फर्किसकेको उहाँले बताउनुभयो ।

अहिलेसम्म ६२.२ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९३६ जना रहेका छन् ।

सात जनाको मृत्यु

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले सङ्क्रमणको कारणले सात जनाको निधन भएको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक/एक जना पुरुष तथा तनहँुका एक जना महिलाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११४ जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।

gorkha awaj

प्रतिकृया दिनुहोस्