बिहिबार २३ आषाढ २०७९

अछाम । भारतमा फैलिरहेको कोरोना सङ्क्रमण अछाम भित्रिनेहरूमा आउन सक्ने भन्दै अनिश्चितकालीन आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय अछामले बुधबार रातिबाट लागू हुने गरी होरी (होली), मेला, पर्व, बैठक, भेला, जुलुसमा प्रतिबन्ध लगाएको छ ।

भारतबाट घर फर्किने समय भएकोले कोरोना फैलन नदिनका लागि अत्यावश्यक व्यवसाय, कलकारखाना र छोटो दूरीका सवारी साधन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालनमा ल्याउन कार्यालयले समय निर्धारण गरेको छ ।

ज्वरो आएका यात्रुका मलेरिया, आरडीटी वा कोभिड-१९ को एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । बैठक, गोष्ठी वा सेमिनार गर्नु परेमा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्ने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । मास्क, सेनिटाइजर र भौतिक दूरी कडाइका साथ पालना गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

आदेशको अवज्ञा भए सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।

news18nepal

 

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया