बिहिबार १६ मंसिर २०७८

गोकुल बाँस्कोटा पूर्वसञ्चारमन्त्री हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन्। केपी ओलीलाई कर्णप्रिय नलाग्ने कुरा पनि भन्नसक्ने थोरै नेतामध्येमा पर्छन्। उनी अहिले ‘माधव नेपाल पक्ष’का नेताहरुसँग पनि निरन्तर संवादमा छन्।

काभ्रे जिल्लाको देउपुरका स्थायी बासिन्दा उनी सो जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्। बेग्लै शैलीमा बिम्ब प्रयोग गरी अत्यन्त सीधा बोल्नु उनको विशेषता हो।

माधव नेपाल पक्षले बेग्लै भेला गरेर समानान्तर गतिविधि अघि बढाएको छ। यसलाई उनी प्रचण्डको डिजाइनमा भएको गतिविधि मान्छन्। अन्तर्वार्ताका क्रममा उनले भने, ‘माधव कमरेडको ‘अल्टिमेटली’ डेस्टिनेसन प्रचण्डको कित्तामा लगेर पार्टी मिसाउने छ, उहाँले पार्टी चलाउन सक्नुहुन्न अब।’

एमालेको जारी विवाद र यसको निकासबारे लामो कुराकानीमा उनले विवाद मिल्न गाह्रो नरहेको पनि बताए। प्रस्तुत छ– प्रधानमन्त्री ओलीनिकट मानिने एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटासँग माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले केन्द्रीय कमिटीको बैठकले द्वन्द्वकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रयोग गरेजस्तै ‘प्राधिकार’ दिएको छ। सामूहिक नेतृत्वको अभ्यास गर्दै आएको एमाले अध्यक्षलाई अहिले ‘प्राधिकार’ किन आवश्यक पर्‍यो ?

सामूहिकता अहिले पनि समाप्त भएको छैन। सामूहिकताको केन्द्रीकृत रुप जहिले पनि मूल नेतृत्वमा हुन्छ। दस्तगत कसको चल्ने, तुरुन्त निर्णय लिनुपर्‍यो भने कसले लिने ? अध्यक्षले लिएका निर्णयमा पनि अनुमोदन गराउनुपर्ने प्रबन्ध छ। त्यसो हुनाले कुनै ‘प्राधिकार’ को कुरा गरेको होइन।
के कुरो साँचो हो भने समय र नयाँ खालको राजनीतिक ‘सिनारियो’ (परिदृष्य) जुन देखापर्‍यो, त्यसलाई सम्बोधन गर्ने हिसाबले त्यो जरुरत पर्‍यो। त्यसको निम्ति माधव कमरेडहरुलाई धन्यवाद दिनुपर्छ।

हामी २६४ जना (केन्द्रीय सदस्य) छौँ। त्यसको बैठक तत्काल त हुँदैन। संसद्मा कुनै सीट खाली होला, तुरुन्त निर्णय गर्नुपर्‍यो। छिटो निर्णय गर्न, त्यसलाई कार्यान्वयनमा लैजान हो। त्यसलाई पुनः अनुमोदन गराउने कुरा त छँदैछ। त्यसैले यो कुनै प्राधिकारको कुरा होइन।

पार्टीभित्रको विरोधी खेमालाई तह लगाउन विशेषतः समानुपातिक सांसद्हरुलाई तत्काल हटाउनसक्ने व्यवस्थाका लागि यस्तो गरिएको हो ?

त्यस्तो होइन। हिजो हामीले सामूहिकतामा चल्दाचल्दै पनि महासचिवीय प्रणाली छँदा सम्पूर्ण अधिकार महासचिवले उपयोग गरेको हो। केन्द्रीय कमिटीमा छलफल हुन्छ, एजेण्डा प्रस्तुत हुन्छ। निचोड जब निस्कन्छ, त्यसको कार्यान्वयन गर्ने निकाय फेरि पनि पदाधिकारीहरु हो।

केन्द्रीय सचिवालय, केन्द्रीय कार्यालय र केन्द्रीय पदाधिकारीहरु हुन्। ‘कोर’ नेतृत्वको पनि मुख्य नेता भनेको त अध्यक्ष नै हो। समयका हिसाबले गरेका हौँ। जनताको घरदैलो विश्वविद्यालय हो भन्ने बुझेको पार्टीले त्यति अधिकार केन्द्रिकृत गरिदिएर कसैलाई पार्टी फुटाउनै छ नफुटाउने गरी रोकिने त होइन।

नेतृत्वलाई अलमलमा चाहिँ राखिराख्ने वा अल्झाउने कुरा हामीले फुकाइदिएको हो। अधिकार प्रत्यायोजित गरेको हो। प्रत्यायोजित अधिकारको व्यवस्था के हो भने चित्त बुझेन भने खोस्न पनि सक्छ।

एमालेको नवौँ महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित पदाधिकारीहरुलाई यत्तिकै हटाउने काम भयो नि, मिल्छ ?

हामीले महाधिवेशन आयोजक समिति बनाउने निर्णय गर्‍यौँ। अब पदाधिकारी चाहिन्छ वा चाहिँदैन ? प्यानलगत चुनाव गर्नुपर्छ वा पर्दैन भन्ने कुरा महाधिवेशनमा बहस हुन्छ, त्यसले विचार, संगठन, प्रणाली र नेतृत्वको टुंगो लगाउँछ। अब पदावधि त सकिइसकेको हो।

त्यसो भए अध्यक्ष र महासचिवबाहेक अब सबै केन्द्रीय सदस्य समान भएका हुन् ?

पार्टीको सङ्गठित सदस्य पनि समान हो। पदीय हिसाबले अध्यक्ष र महासचिव भन्ने हो। पार्टी सदस्यका रुपमा त सबै समान हो नि ! सबैको अधिकार उही हो। सबैको कर्तव्य उही हो।

अध्यक्ष ओलीले आफू पक्षधरलाई मात्रै खबर गरी छापामार शैलीमा बैठक राख्नुभो र पदाधिकारी हटाउनेसम्मको निर्णय गरियो भन्ने झलनाथ खनाल, माधव नेपाल पक्षको आरोप छ नि !

खबर त किन नहुनु ? त्यसलाई उहाँहरुले ग्रहण गर्नु भएन। खबरका रुपमा स्वीकार गर्नु भएन। भएको त्यत्ति हो।

अनि खबर हुँदा पनि त जानु भएन नि त ? पछिल्लो (चैत ७) मा त खबर थियो, किन जानुभएन त ? संसदीय दलको बैठकमा किन जानु भएन ? पार्टी केन्द्रीय कमिटीमा पनि चैत ७ गते किन जानुभएन ? वामदेव त जानुभो।

वामदेवलाई खबर हुने, माधव कमरेडलाई नहुने भन्ने त हुँदैन। त्यो उहाँहरुले एउटा ‘पोजिसन’ बनाउनुभो। त्यसले गर्दा उहाँहरुलाई अप्ठेरो पर्‍यो।
कुरा नमिलेपछि एउटा–एउटा फण्डा झिक्नुपर्छ। त्यो झिक्नुभएको हो। जुन दिन मिल्छ, यी सबै नाटक थिए भनिहाल्नुहुन्छ नि !

०५४ साल फागुनमा एमालेले सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली, राधाकृष्ण मैनालीसहित १० जनालाई पार्टीबाट निस्कासन गर्ने निर्णयपछि राधाकृष्णले भन्नुहुन्थ्यो– ‘म मालेको संस्थापक। माधव नेपालले मलाई पार्टीको साधारण सदस्यबाट पनि हटाए।’ अहिले त झन् पार्टीका पूर्वप्रमुखलाई नै हटाउने प्रक्रिया सुरु गरिएको छ। यसो गर्न मिल्छ त ?

त्यसलाई उल्टाएर मैले प्रश्न सोधौँ न मैले। अनि पार्टीको बहालवाला अध्यक्ष (केपी ओली) लाई, सरकारको नेतृत्व गरिरहेको दलको नेतालाई चाहिँ के–के भनेर हटाउनु चाहिँ जायज हुन्थ्यो ?

त्यसैको बदला लिन कारवाही थालिएको हो ?

त्यति साह्रो अलि होइन। त्यति साँघुरो घेरामा त नबुझौँ तर ‘एक्सन’को ‘रियाक्सन’ जस्तो त देखियो– समय सन्दर्भमा। मुख्य कुरा उहाँहरुले चालेको कदम गैरकानूनी, गैरराजनीतिक र मूलभूत रुपमा अराजकतावादलाई प्रश्रय गर्ने खालको थियो।

एकातिर विधि, पद्धति, प्रक्रिया र सामूहिकताको माग गर्ने। अर्कोतिर विधि, प्रक्रिया, सामूहिकता सबैलाई उल्ट्याएर बहुमतको मात्रै, त्यो पनि नक्कली बहुमत ! एमालेको बहुमत होइन, नेकपाको बहुमत ! त्यो पनि खण्डित भएको थिएन, केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको थिएन– न अध्यक्षलाई न दलको नेतालाइ ! त्यो ठाउँबाट हठात उहाँहरुले सपनामा देख्नुभो। बिहान उठ्नुभो। चुट्की बजाइदिनुभो। सङ्कट त त्यहाँबाट निम्तियो।

यो सङ्कट निम्तिनुमा थोरबहुत् दुवै पक्षका केही कमी–कमजोरी होलान् तर गल्तीको सुरुवात त उहाँहरुले गर्नुभो– अलग भेला, अलग बैठक, अलग निर्णय अलग दबाब। अनेकौँ काम गर्नुभो। त्यति मात्र गर्नु भएन, प्रधानमन्त्रीलाई दलको नेताबाट पनि हटाइदिएको छ, पार्टी अध्यक्षबाट पनि हटाइदिएको छ। प्रधानमन्त्रीबाट पनि राजिनामा दे भन्या छ। यो कुन चाहिँ विधि, विधान, प्रक्रिया, पद्धतिभित्रको विषय पर्‍यो त ? यो पनि त प्रतिशोध र पूर्वाग्रहको चरम नमूना होइन र ? गुटबन्दीको चरम नमूना होइन र ?

अब प्रधानमन्त्रीले दिन खोजेको सन्देश चाहिँ के, त्यसैको बदला ?

अब दिन खोजेको सन्देश चाहिँ के हो भने एकतापछि मोर्चा जस्तो बन्यो– नेकपा। अदालती फैसलाले त्यसलाई टुङ्ग्याइदियो।

नेकपाको नाम मिल्दैन भनेर ऋषि कट्टेलले तीन वर्षअगाडि मुद्दा दर्ता गरेको कुरा त सबैलाई थाहा थियो। मुद्दा परेको विषय केपी ओलीलाई मात्र थाहा भएको विषय होइन। अनि यस्तो पनि होला भन्ने नसोची भटाभट उहाँहरुले नचाहिएको काम गरेपछि सिर्जना त भयो– सङ्कट।

अलिकति बदला भन्नुस्। अलिकति सचेत गराएको भन्नुस्। अलिकति खास ठोस कुरा चाहिँ मोर्चा होइन, पार्टी हो, अब पार्टी जसरी चल्छ यो।

चारतिर फर्केर कुन दिशा समात्ने ? दुइटा गोरु नारेको छ, एउटा गोरु एकातिर, अर्को गोरु अर्कातिर हिँड्यो भने खेतबारी कति जोतिन्छ ? त्यस कुरालाई स्पष्ट सन्देश दिएको हो कि अब पार्टी त्यसरी चल्दैन।

२४ घण्टा गुटबन्दी ! रातदिन गुटबन्दी ! बाह्रै महिना बाह्रै काल गुटबन्दी ! यो चाहिँ नगरौँ भन्ने सन्देश दिनलाई यति काम भएका हुन्।

नेकपाभित्र विवाद थियो, जसले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो। त्यसैको एउटा समूहले एमालेमा विवाद गरिरहेको छ। नेकपाकै विवादको निरन्तरता हो त ?

त्यो त ‘ओपन सेक्रेट’ छ नि ! किनभने, पुष्पकमल दाहालले सिन्धुली गएर (हरिबोल) गजुरेलको आँगनमा बसेर के भनेको ? बटौली पुगेर के भनेको ? पुष्पकमलले त खुल्ला ‘एक्सपोज’ गर्दिनुभो नि– ‘मैले पठाएको हो। उनीहरु त्यहाँ जान्छन्, क्याप्चर गर्छन्। क्याप्चर गर्न पठाएको छु। क्याप्चर गरेर आउँछन् नभए पनि लिएर आउँछन्। जे गरेर भए पनि एमाले ‘सेबोटेज’ गरेर सिध्याएर आउँछन्। अर्थात्, मैले केही बाँदर खेताला तयार गरेको छु कि त्यो एमालेको सग्लो मन्दिर एक घण्टामा एक दिन वा एक महिनामा ध्वस्त बनाइदिन्छन्। त्यसो गर्न मैले खटाएँ।’

यता माधव कमरेडहरु एमाले हो, म प्रश्न गर्न सक्दिनँ। उहाँले चाहिँ भटाभट ब्यानरको दुरुपयोग गरेर राष्ट्रिय कार्यकर्ता भेला गर्न त अध्यक्ष, महासचिवसहित बसेको पार्टी बैठकको निर्णय चाहिन्छ होला नि त !

त्यो नगरी मनखुशी गरिदिने हो भने त म पनि गरिदिन्छु नि त ! राष्ट्रिय युवा भेला, विद्यार्थी भेला, महिला भेला गरिदिन्छु, राष्ट्रिय पत्रकार भेला गरिदिन्छु। त्यहाँ एउटा नाम घोषणा गरिदिन्छु– यही हो मेरो भनेर, हुन्छ र ?

त्यसैले यो मोर्चा होइन। यो मोर्चा होइन, पार्टी हो भन्ने सन्देश दिन गरिएको हो। अर्काले पठाएर गएको भन्ने मिल्न गयो। संयोगले मिल्यो वा योजनाले ?त्यो चाहिँ अब माधव कमरेडहरुले चाल्ने कदममा भर पर्छ।

झलनाथ खनाल, माधव नेपालले नेतृत्व गरेको एमालेको समूह प्रचण्डको योजनाअनुसार अघि बढिरहेको छ भन्ने लाग्छ, तपाईंलाई ?

त्यो त पार्टी अध्यक्षले बोलाएको बैठकमा नगएर पेरिशडाँडा गएर भीम रावलजी निर्देशन बोकेर आउने कुराले नै देखायो। त्यसमा सधैँ शंका गरेर हिँड्न सकिन्न। शंकाको सुविधा अहिले पनि माधव कमरेडको पक्षमा रहेका साथीहरुलाई दिन सकिन्छ। यदि प्रचण्डले गरेको कामना व्यवहारमा परिणत नहोस्।
माधव नेपाल त्यो माओवादी नाम बोकेर जानुहुन्छ भन्ने मलाई रत्तिभर विश्वास छैन। उहाँ जानसक्ने आधारै छैन। माओवादी पार्टी होइन, त्यो त प्रचण्डको लहडबाजी हो। माओवादीको नाममा त माधव नेपाल जानै सक्नुहुन्न।

माधव नेपालले स्वयम् सार्वजनिक रुपमा भन्नुभएको छ– प्रचण्डसँगको ४० वर्षदेखिको विश्वासको सम्बन्ध छ बरु केपी ओली चाहिँ धोकेवाज हो भनेर। तपाईं कसरी त्यसो भन्नुहुन्छ ?

४० वर्षदेखि सम्बन्ध थियो भने उहाँले नै एकता गरेको भए हुन्थ्यो नि त ! लडाइँमा पनि माधव कमरेडको साथ थियो त ? वार्ता गर्नुभयो होला। त्यो शान्तिप्रक्रियाको लागि गर्नुभो कि प्रचण्डले जे गर्‍या छ ठीक त भनेर स्यावासी दिन गर्नु भो ? त्यसो भए त अर्को गम्भीर प्रश्न उठ्यो नि !

के माओवादीले चलाएको कथित ‘जनयुद्ध’ मा माधव नेपालको साथ थियो ? चार सय त एमाले कार्यकर्ता नै मारिए, त्यसमा साथ थियो ? धेरै निःहत्था मान्छे मारिए। के त्यसमा साथ थियो ? त्यसो हो भने त झन् गम्भीर कुरा भयो नि त ? यो त झन् उहाँलाई थप ‘ड्यामेज’ गर्ने कुरा भयो।

प्रचण्डको कामना पूरा गराउन माधव कमरेड लाग्नु हुन्छ वा लाग्नु हुन्न ? त्यो चाहिँ निकट भविष्यमा देखिने कुरा हो।

के झलनाथ–माधव एमाले फुटाएर प्रचण्डसँग जोड्नका लागि नै लाग्नुभएको जस्तो लाग्छ तपाईंलाई ?

पहिला त लाग्नुभएको हो। अब चाहिँ सक्नुहुन्न। बेग्लै जगमा बनेको छ क्या एमाले भन्ने पार्टी। त्यो एउटा संस्कृति हो, इतिहास हो। त्यो एउटा वर्तमान र भविष्यको दिशा निर्देश गर्ने तागत हो।

व्यक्तिहरु आउने–जाने कुरा हुन्छ तर यो एउटा ‘लिबरल’ (उदार) वामपन्थी कम्युनिष्ट पार्टी हो, जसले लोकतन्त्रलाई स्वीकार गर्छ। यो रङ्गिन छ तर आफ्नो उद्देश्यमा दृढ छ। समाजवाद स्थापनामा दृढ छ तर यो ‘कलरफुल’ छ।

उहाँहरुको आरोप छ– पार्टी हामीले फुटाउन लागेको होइन, केपी ओलीले फुटाउँदै हुनुहुन्छ ?

भीर–भीर कुद्नुहुन्छ उहाँहरु। नलड भनेर सचेत गराउनुहुन्छ केपी ओली। तँलाई नि तानेर यही भीरबाट खसाल्छु भनेर उहाँहरु लाग्नुहुन्छ– माओवादीले भिराइदिएको थोत्रो डोको बोकेर। त्यसपछि पार्टी कसले फुटाउन लाग्यो भनेर यस्तो कुरा गर्न हुन्न क्या !

फुटाउन लाग्नु भएको होइन रे’छ भने त सजिलो छ अहिले। एक लाइनमा कुरा सिद्धिन्छ त। स्पष्टीकरण सोधेको छ– ‘ठीक छ कमरेड, हिजो अलि–अलि गल्ती भइहाल्यो। नेकपा हुँदा जानेर नजानेर झोक चलेर अलि–अलि देखाइदिऊँ भनेर। आखिर पार्टी त हामीले साथसाथै नै बनाएको हो। एउटै विधि, प्रक्रिया र एउटै समयमा हुर्केका बढेका एकअर्कालाई हातेमालो गरेका, कहिलेकाहीँ यसो आँखा तरातर पनि गरेका हामी नै हो। त्यसैले हामी मिल्यौँ, कुरो सकियो’ भनिदिए त सिद्धिगो त !

के त्यो पोजिसन बनाएर ‘त्यो मिटिङमा म जान्न, त्यो भए जान्छु भनेर १२ वर्षको बच्चाले फलानो नै रंगको डटपेन नकिन्दिए स्कुलै जान्न भनेर झोला फालेजस्तो गर्न मिल्छ त माधव नेपालले ?

तर, १० वर्ष वा १५ वर्ष पार्टी प्रमुख र प्रधानमन्त्री पनि भइसकेका ‘सिनियर नेता’ लाई इज्जत गरिएन भन्ने गुनासो त अध्यक्षले सम्बोधन गर्नुपर्ने होइन र ?

अस्ति धुम्बाराहीमा बसेको बैठकमा त कुर्सी, टेबल उस्तै देखेको थिएँ। सीट व्यवस्थापन एकै ठाउँमा गरेको थियो। त्यहाँ कुनै अगाडि र पछाडि गरेको पनि थिएन– पार्टी नेताका रुपमा। हामी गए तलै कुर्सीमा बस्ने हो, उहाँहरु माख्लै लहरमा बस्ने हो। मानसम्मान भनेको त्यही हो नि त !

माधव कमरेड अहिले अध्यक्ष त होइन ! त्यसैले उहाँले अध्यक्षता नै मैले गर्न पाउनुपर्छ, ‘रुलिङ’ नै मैले गर्छु भन्ने कुरा चाहिँ उहाँको रुञ्चे माग भयो। त्यो चाहिँ कुण्ठाग्रस्त भयो। ऊ बेलामा मैले घिउ खाएको थिएँ, मेरो हात सुँघ भनेजस्तो भयो। त्यस्तो कुरा गर्नु भएन।

माधव कमरेडले नसकेर केपी ओलीसँग हारेको हो नि त ! यो त मान्नुपर्‍यो, होइन ? भोटिङबाटै भएको हो। कार्यकर्ताले उहाँलाई पत्याएनन्। त्यो महाधिवेशनमा पो पत्याएनन्, अर्को महाधिवेशनसम्म कुर्ने धैर्य उहाँमा किन भएन ? अर्को महाधिवेशनले उहाँलाई बनाउँछ कि !

जुन थालमा खायो, त्यही थालमा फोहोर गर्दै हिँड्ने तहको व्यवहार किन गरेको उहाँले ? त्यो नगरे त सिद्धिइ गो नि कुरा !

माधव कमरेडले पनि त्यो सधैँको कित्ताबन्दी र कार्यकर्तालाई पिँजडीकरण नगर्दा भो नि त !

माधव नेपालजीको गुनासो सम्बोधन गर्नुपर्दैन ?

अनि केपी ओली चाहिँ कहाँ हुनुहुन्थ्यो, यो आन्दोलनभित्र हुनुुहुन्थेन ? जो अहिलेको एमालेको मूल जग छ– झापा विद्रोह हो नि ! त्यसमा अरु विभिन्न समूह मिसिएको हो। चाहे मदन भण्डारीले नेतृत्व गरेको मुक्तिमोर्चाको कुरा गर्नुस्, चाहे दङ्गाली सन्देशको कुरा गर्नुस्। चाहे मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादीको कुरा गर्नुस्, चाहे मानन्धर समूहसित रहेका साथीहरुको कुरा गर्नुस्। व्यक्ति र विभिन्न साना समूहहरुलाई आकर्षण पैदा गर्नु त्यति बेलाको बाध्यता थियो।

झापा विद्रोहको आकर्षणभित्र ‘कोअर्डिनेश केन्द्र’ (कोके) बन्यो। कोके बन्दा केपी ओलीले कहाँबाट बनाउनु त ! जो जेलबाहिर थिए, उनले बताए। जेलबाहिर माधव नेपालहरु हुनुहुन्थ्यो अनि केपी ओलीले यो भन्ने त– मैले १५ वर्ष जेल बसेँ, तिमीले के गरी पार्टी बनायौ ? यो भनेर सोधेर मिल्छ त ?
बाहिर बस्नेले संगठन गरे। भित्र बस्नेले आस्थाका बन्दीका रुपमा सन्देश दिइरहे। नेलशन मण्डेला २७ वर्ष जेल बसे, केही पनि गरेनन् त दक्षिण अफ्रिकाको स्वतन्त्रता आन्दोलनमा को हो नेता !

आन्दोलनबाट आएका नेतालाई बाहिर पार्न खोजेको भन्ने आवाज सुन्नुभएको छैन ?

को चाहिँ क्यारेमबोर्ड खेलेर मात्र आइराखेको छ त ? ब्याडमिण्टन खेलेर मात्र को नेता भयो त ? आफ्नो परिभाषित काम पनि गरेर आयो नि !
आन्दोलनमा एक्लो जशको कुरा नगरौँ के ! नेतृत्वको कुरा गरौँ। नेतृत्व गर्ने क्रममा कहिले को थियो, कहिले को थियो। सीपी मैनाली पनि त हुनुहुन्थ्यो नि, माधव नेपाल मात्रै हो त ! थिएनन् सीपी चाहिँ ? अहिले पनि यहीँ हुनुहुन्छ त सीपी। सीपी होला नि त पहिला, होइन ? त्यसो भए माधव नेपालले किन किच्किच गरिराखेको त ?सीपीलाई मानेर हिँड्नुपर्‍यो नि !

समय क्रममा बदलिँदै जान्छ–नेतृत्व। नेतृत्व हस्तान्तरण हुँदै जान्छ।

झलनाथ खनाल, माधव नेपाल मुख्य नेता हुँदा एमाले बलियो पार्टी भएको त हो नि, हैन ? त्यो कालखण्डको समीक्षा कसरी गर्नुहुन्छ ?

मैले त धेरै ठाउँमा भनेको छु। त्यतिखेर तीन जना मान्छे कुनै पसलमा चिया खान बसे भनेदेखि भने ‘कुन चिया खाने’ भनेर साहूजीले सोध्दा एक जनाले भन्यो रे, ‘म कालोबाहेक खान्न। अर्कोले भन्यो रे– म सेतोबाहेक खान्न। अर्कोलाई सोध्यो– तपाईंलाई चाहिँ कुन चिया दिऊँ ? मलाई जुन भए पनि हुन्छ। जसले जुन भए नि हुन्छ भन्छ, त्यो एमाले हो भनेर भन्थे। कुनै पहिचान थिएन।

आ–आफ्नो समयमा उहाँहरुले पार्टीलाई सक्दो बलियो बनाउन कोशिश गर्नुभयो। म त्यसलाई सम्मान गर्छु। एमालेको विचार अनुसारको पार्टी र अडान चाहिँ केपी ओली आएपछि भयो।

म चार–पाँच वटा दृष्टान्त दिन्छु। माधव कमरेडले १५ वर्ष चलाउनुभो। सफल नेतृत्व हो भने उहाँकै पालामा वामदेव गौतमहरुले किन पार्टी फुटाएर गए ? फूटको इतिहास उहाँले व्यहोर्नुभएन ?

१० जनालाई कारवाही गर्नुभो। पार्टी फुट्यो। किन उहाँले ‘यी पनि मेरा समकालीन हुन्, गल्ती गरिहाले भैगो, कारवाही चाहिँ नगरौँ’ भनेर किन चूप लागेर बस्न सक्नुभएन ? उहाँले त्यतिबेला व्यक्तिगत रुपमा कारवाही गरेको हो कि पार्टीको विधि, विधान, प्रक्रिया, पद्धति, घोषित नीति, उद्देश्य, निर्देशन नटेरेर चुनौती पेश गरेपछि पार्टीको विधान लागू भएको ? विधान एक्टिभेट भएको हो।

माधव कमरेडलाई मन लाग्यो, वामदेवलाई उपमहासचिव बनाउनुभो। पछि के झोक चल्यो, सरकारबाट फर्केपछि हटाइदिनुभो। ‘इगो’ को सुरुवात त त्यहाँबाट भयो। महाकाली सन्धि किन कसरी आयो, त्यो उहाँले जान्नुहोस्।

केपी ओलीले हिजोदेखि आजसम्म जहाँको त्यहीँ हो। महाकाली नदीको शीरबिन्दु चाहिँ लिम्पियाधुरा हो, कालीनदी हो भनेर लेखेकै हो। पशुपति समशेरलाई बुझाएकै त्यही हो। अडानमा केपी ओली कहाँ चुकेको छ ? बरु मूल नेतृत्व चाहिँ लक्पकाएको छ।

त्यति बलियो पार्टी थियो। पार्टी सखाप चाहिँ कुन बेला भो, थाहा छ ? माओवादीले गणतन्त्र लिएर आएको होइन, माग मात्र गरेको हो। गणतन्त्र त कांग्रेस र एमाले त्यो बिन्दुमा उभिएको दिनमा मात्र आयो। हिंसाले गणतन्त्र ल्याउन सक्दैनथ्यो– नेपालमा। जनआन्दोलन त्यसमा उभिएपछि आयो। हिंसाले मात्र हुन्थ्यो भने जनगणतन्त्र हुन्थ्यो होला।

तर, शान्तिप्रक्रियामा आएको लाभ चाहिँ माओवादीलाई माधव कमरेड नै (२८) नेता हुँदा दिइयो।

चुनाव जितेर ८३ सीट भएको पार्टी एमाले चाहिँ ८३ नै सीटमा सीमित, चुनावै नलडी कुम हल्लाएको भरमा चाहिँ पुष्पकमलको पार्टीलाई ८४ सीट दिँदा माधव नेपालको सफल नेतृत्व कहाँ गएको थियो ? माओवादीबाट ‘डोमिनेट’ एमाले भएको त्यहीबेला हो।

त्यसको परिणाम ०६४ को निर्वाचनमा देखियो। त्यो हुनै नहुने गैरसंवैधानिक त छँदै थियो, राजनीतिक अभ्यासमा पनि शक्तिको नजरअन्दाज गरेर वास्तविक शक्तिलाई कृत्रिम शक्तिद्वारा अपदस्थ गराउने काममा किन ‘साक्षी किनाराका फड्के सदर’ गरेर ल्याप्चे ठोकेको ? म यो मान्दिनँ भनेर गिरिजा बाबुलाई किन भन्न नसकेको ? त्यो माधव कमरेडले गरेको कमजोरी हो नि !

त्यसैले अहिले यहाँ एउटा–एउटा शल्यक्रिया गरेर नहिँडौँ। हामी पार्टी मिलोस् भन्ने चाहन्छौँ।

केपी शर्मा ओली चाहिँ के कुरामा अरु नेताभन्दा फरक ? सुरुदेखि नै माओवादीको कटु आलोचक हुनुहुन्थ्यो ?

असहमतिलाई मुखर गर्ने काम केपी ओलीले गरेको हो– माओवादी हिंसाको विरुद्धमा। केपी ओलीले तीन–चार वटा काम चाहिँ अलि फरक गर्नुभो। एउटा, राजनीतिक पार्टीहरुको उत्पादन संघर्ष र उत्पादन सम्बन्धलाई चुनौती दिएर जातीय आधारमा राज्यको पुनर्संरचना गर्ने माओवादीको जुन माग थियो, त्यसलाई केपी ओलीले धुलिसाफ गरिदिएको हो। यदि त्यो नगरिदिएको भए नेपाल सग्लो चाहिँ रहँदैनथ्यो किनभने मूल पार्टीहरु समाप्त हुन्थे। विचार र दृष्टिकोणले काम गर्दैनथ्यो। उत्पादन संघर्षले काम गर्दैनथ्यो। यो कविला युगजस्तोमा बदलिन्थ्यो। नेपाल राज्य होइन, गणराज्यहरुमा बदलिन्थ्यो। त्यो केपी ओलीले ध्वस्त बनाइदिए।

दोस्रो, सीके राउतको अभियान पनि पृथकतावाद थियो। संविधान जारी भएपछि जीवित रहेको पृथकतावाद थियो। त्यसमा चाहिँ राजनीतिक जीत निकालेको हो, कुनै बन्दूक पड्काएको होइन।

अहिले विप्लवसित पनि। मान्छे त १६ जना मारिए। बम पड्काएपछि त सरकार चूप लागेर बस्ने कुरा थिएन। मेरै घरमा समेत बम हाने तर विप्लव आउँदा सबभन्दा खुशी मै छु किनभने समाजले शान्ति पायो नि !

हिंसा चाहिँ हुँदैन, अरु गर न के–के गर्छौ ? सक्छौ भने जनअनुमोदन गरेर जनवादी गणतन्त्र नै घोषणा गर न, मानिहालिन्छ नि ! हिंसाले होइन। त्यो कुरा केपी ओलीले स्थापित गराए।

अर्को, राष्ट्रवादी अडानको कुरा गर्नुहुन्छ भने केपी ओली झुकेको त कहीँ पाउनु भएन नि ! अहिले केही काम नपाएर गोयल (भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल) ले भेट्यो भन्छन्। चम्बलको डाँकाले भेटे नि भेटोस् न, परिणाम के आउनुपर्‍यो भने स्वाभिमान झुक्नुभएन। यो एउटा स्वतन्त्र देश, यसको स्वतन्त्र निर्णय गर्ने क्षमता छ। यही होइन कुरा ? त्यस्ता कुरामा केपी ओली परिचयका साथ जानुभो। राष्ट्रिय एकीकरणको नयाँ मोडेल स्थापित गर्नुभो। मूलभूत रुपमा पहिला हामी नेपाली हौँ, त्यसपछि अरु के–के हौँ, हौँ।

प्रधानमन्त्री ओली अहिलेको सात प्रदेश खारेज गरेर संघीयताबाट पछि हट्न चाहनुहुन्छ ?

केपी ओलीले भनेको मलाई अहिले पनि याद छ– पुलिसले अब मन्त्री र सांसद्हरुलाई सलाम गरेर नसक्ने भो, ट्राफिकको कामै त्यही हुने भो भनेका हुन्। ‘आठ सयवटा राज्य’ प्रस्तावित गरिएका थिए। आठ सय मुख्यमन्त्री, चार–पाँच हजार माननीय, अहिले त वडा सरकार पनि भइसक्यो नि त ! यी जम्मै हुँदा के हुन्थ्यो ? नेपालको वित्तीय क्षमताले पनि यो ‘सरभाइव’ हुँदैनथ्यो।

हामी मान्छौँ– हाम्रा चारवटा सभ्यता छन्– कोशी, वागमती, गण्डक र कर्णाली सभ्यता। नदीमा आधारित सभ्यता हुन्। बनाउनु नै थियो भने यो चारवटा बनाए हुन्थ्यो। मजुर नाचेकोदेखि डाँफे नाचेकोसम्म हेर्ने एउटा चिज त बन्थ्यो। प्राकृतिक विविधता र जैविक विविधताको दृष्टिले पनि हुन्थ्यो। अन्तर्घुलनका हिसाबले पनि हुन्थ्यो। श्रोतसाधनको परिचालन र पहिचानका हिसाबले हुन्थ्यो।

अब अहिले त प्रदेश २ का साथीहरु भन्छन्, ‘जनकपुरको भेटीले प्रदेश कहाँ चल्छ ?’ उहाँहरुलाई सुनकोशी–मरिन डाइभर्सनको सिँचाई चाहिन्थ्यो त किन ‘एक मधेश एक प्रदेश’ भनेको ? ‘एक मधेश एक प्रदेश’ पनि केपी ओलीले ध्वस्त बनाएको हो। त्यसैले केपी ओलीको व्यक्तित्व कुनै ‘एजेण्डा’ बिहीन, संघर्षबिहीन, आन्दोलनबिहीन, ‘भिजन’ बिहीन, ‘मिशन’बिहीन होइन।

जहाँसम्म संघीयता छ, आई त हाल्यो। मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म यसको घोर विरोधी हुँ, नेपालमा यो चाहिँदैन। अहिलेसम्म दुईटा प्रदेशको नाम के हो, राजधानी कहाँ हो– थाहा छैन। यो असफल भइसकेन ? त्यसमा कसैले प्रश्न उठाउँदैन।

प्रदेश चाहिँदैन, संघीय सरकार र स्थानीय सरकार मात्र भए पुग्छ भन्ने हो ?

म ढुक्कले भन्छु। नक्कली प्वाँख हालेर मयुर नाँच देखाइरहनु जरुरी छैन। हाम्रो वित्तीय अवस्थाले थेगेन। बुझाइले पनि थेगेन। यो आवश्यक पनि भएन। मैले प्रदेशहरुलाई नेपालको ‘डेभलप्मेन्ट एजेन्सी’ को रुपमा बुझेको हो। त्यो पुलको रुपमा र ‘क्याटलग’ को रुपमा हुनुपथ्र्यो। पुलको रुपमा मात्र भयो के !

कोही गएर त्यसबाट गयो र क्रस गर्‍यो भने त्यसले काम गराउँछ। होइन भने त्यसले कुनै ‘क्याटलग’ को काम त गर्दैन– ‘डेभलप्मेण्ट एजेन्सी’ को रुपमा पनि।

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको देशलाई लोकतन्त्रको सिद्धान्तअनुसार हेर्दा पनि ‘हिन्दू राष्ट्र’ बनाउनुपर्छ भन्ने हो, धर्मनिरपेक्षता हटाएर ?

यो बडा जटिल छ। तपाईंले भनेको कुरा साँचो हो।

हिजो कानून थिएन। धर्म नै कानून थियो। हिन्दू धर्मले दलित मान्दैन। बेदले दलित भन्छ र ? संविधानको कानून, कानूनको नियम, नियमको पनि विनियम, विनियमको तजविजी अधिकारमा जाँदै गर्दा यस्तो भयो होला। पूर्वीय दर्शनको मूल हाँगो हिन्दू धर्म–संस्कृति पनि हो। बौद्ध धर्म पनि हाम्रो अर्को ठूलो कुरा हो। १ प्रतिशतभन्दा बढी जनसंख्या भएका हाम्रा १० वटा धार्मिक सम्प्रदाय छन्। ०६८ सालको जनगणनाअनुसार, ८० प्रतिशतभन्दा बढी हिन्दू छन्। झण्डै १० प्रतिशत बौद्ध धर्मावलम्बी छन्। मुस्लिम ३–४ प्रतिशत छन्। जैन कति छन्, क्रिश्चियन भर्खर–भर्खर आयातित नै हो।

मलाई पनि अचम्म लाग्छ– अमेरिकी राष्ट्रपति वाइडेनले देब्रे हातले बाइबल छोएर दाहिने हात ठड्याएर सपथ खान्छन्। त्यहाँ धर्म निरपेक्षता पनि चाहिएन, सापेक्षता पनि चाहिएन। डेमोक्रेसी पनि त्यहाँ कहिल्यै केही नहुने ! अमेरिकी मान, सान सौगात पनि कहीँ तलमाथि भएको देखिँदैन।

त्यहाँ केही पनि हुँदैन, यहाँ चाहिँ त्यही संसारको ठूलो मुद्दा हुन्छ। स्वीकार्नु यो पर्‍यो कि धर्म राज्यको हुँदैन, व्यक्तिको हुन्छ। जबर्जस्ती धर्म परिवर्तन गर्न पनि मिल्दैन, यो कानूनमा छ। तर, यहाँ किन धर्म परिवर्तन हुन्छ– एउटा त्यही धर्म–संस्कृतिभित्र रहेको विभेद, हिन्दू धर्मका पक्षधरहरुले त्यो सच्याउनुपर्छ। यो बलियो छ– चाहियो भनेर बाबाजीहरुले जुुलुश निकालेर मात्र हुँदैन। त्यहाँ भएका बेथिति पनि त हटाइदिनुपर्‍यो नि ! अनि त्यो आफैँ बलियो हुँदै जान्छ।

दोस्रो, यसका असल पक्षहरु के–के हुन् ? ती कुराहरु प्रशारित हुनुपर्‍यो। धर्म भनेको मानवता त हो नि ! त्यसो भएको हुनाले लेख्दा ‘हिन्दू धर्मको बाहुल्य रहेको बौद्ध धर्म लगायत विभिन्न धर्मावलम्बीहरुको धर्म निरपेक्ष राज्य’ भन्दा भइगयो नि !

बाहुनले जनै लगाउन, टुप्पी पाल्न छाडिहाले।

एमालेभित्रै अब केपी ओली समूह र माधव नेपालबीच सहमति हुने संभावना कत्तिको छ त ?

यसको विकल्प चाहिँ देख्दिनँ म। सहमति माधव कमरेडले भनेजस्तै विधिभित्रै खोजौँ। सहमति एकताको उद्देश्यभित्रै खोजौँ। त्यो पनि फुटाउन चाहनु हुन्न भने।

ठोकेरै म भन्दिन्छु– ‘इगो’ ले पार्टी विभाजन त हुनसक्छ तर माधव नेपालले पार्टी फुटाउनुभो भने टिकाउनु चाहिँ हुन्न। किनभने, त्यसले बोक्ने मुद्दा के ? त्यसले बोक्ने विरासत के ? त्यसले ‘फ्लोर’ गर्ने नयाँ एजेण्डा के ? केपी ओलीको विरोध मात्र हो भने त्यो थाङ्ने कुरा हो। छुट्टै मिशन र भिजनको कुरा हो भने एमाले नै छँदैछ। एमाले एउटा ब्राण्ड हो– समाजको राजनीतिको। एमाले त्यत्तिकै एमाले भएको होइन।

माधव नेपालजीले नेतृत्व गरेको समूहले मागेजस्तो एमालेको पुनर्गठन गरेर जान केपी शर्मा ओली तयार हुनुहोला ?

पुनर्गठन उहाँहरुले गरिसक्नुभएको हो– माओवादीसित लागेर। नेकपालाई तहसनहस उहाँहरुले बनाएको हो। केपी ओलीले त ल्याएर जोडिदिएको हो। भालुको कन्पटजस्तै हो त्यो माओवादी। त्यो जान्दा जान्दै पनि वामपन्थी जनमत १० तिर नबाँडियोस् भनेर जोड्ने काम गरेको हो।

विभाजनको चाहिँ गन्तव्य कहाँ त ? म तपाईंलाई दोहोर्‍याएर भन्छु– माधव नेपालले पार्टी फुटाउनुको अर्थ उहाँले स्वतन्त्र हैसियतमा नेकपा (एमाले) त गठन गर्न सक्नुहुन्न। अर्को एमाले त हुनेवाला छैन। भनेपछि हुनेवाला के छ त ? सुनपसलको छेउमा अर्को एउटा शटर झिक्नेवाला मात्र हो।

उहाँ माओवादीमा जाने कि नजाने ? प्रश्न त्यो आउँछ। अब माधव कमरेड झोकले माओवादीमा जानुभयो भने एमालेलाई झन् हाइसञ्चो हुन्छ। त्यो एकैचोटी सकियो– माधव कमरेडको अहिलेसम्मको व्यक्तिगत प्रतिष्ठा, इज्जत, योगदान, नेतृत्व, भूमिका– राम्रो भए नि, नराम्रो भए नि ! सबै त नराम्रो भएन नि ! राम्रो पनि भयो।

१५ वर्ष माधव नेपालले नेतृत्व गर्दा हामीले पनि महासचिव माधव नेपाल नै भनेका थियौँ होला। हामीले ल्याएका कार्यकर्तालाई उहाँले नै टीका पनि लगाइदिनुभएको थियो होला। रिबन पनि काट्नुभो, सलाई पनि कोर्नुभो। थपडी बजाउने हामी नै हौँ। जिन्दावाद, मूर्दावाद भन्ने हामी नै हौँ। भनेपछि माधव नेपाल जानुहुन्छ त माओवादीमा ?

उहाँसँग बँचेखुचेका व्यक्तिहरुको समूह प्रचण्डलाई लगेर बुझाउनुभन्दा आफैँले बनाएको दाबी गरिरहेको घरमा ‘यो फ्ल्याट मेरो’ भनेर पाखुरा सुर्किने हक एमालेमै हुन्छ। माओवादीमा त मलाई छिँडी दिन्छौ कि पिँढी दिन्छौ भनेर ‘आँगनीमा देऊ न मलाई बास’ भने गीत गाउँदै जानुपर्छ त माधव नेपाल ? उहाँले सोच्नुपर्‍यो नि ! हाम्रो त सद्भाव छ, उहाँ जान सक्नुहुन्न। कोही कार्यकर्ता जाँदैन।

फागुन २८ को निर्णयबाट प्रधानमन्त्री पछि हट्न सक्नुहुन्छ त ?

त्यो ‘ब्याक’ हुँदैन, बरु सहमतिको विधि अर्कै हुन्छ। के हुन्छ भने– ‘हिजो यस्तै भयो साथीभाइ हो, अब मिलौँ। गरियो– आत्म आलोचना। जानेर नजानेर गरियो, झोकले रिस पोख्न गरियो। मूलतः रिस पोख्न गरियो। झोक चलेको थियो, वेद पढिएन। सकियो, यसलाई के पालेर बस्नुहुन्छ त ! तपाईं नै हो क्यारे अध्यक्ष÷प्रधानमन्त्री ! पार्टीमा सँगै काम गरेको हो’ भनेर हात तेस्र्याएर फराकिलो पारेर आउनुभयो भने कुरै सकियो।

शर्तमाथि शर्त थोपर्दै जाने र समानान्तरमाथि समानान्तर थप्दै जाने भनेको आफू पनि सकिने, अर्कोलाई पनि अलिकति क्षति गर्ने हो। धेरै क्षति हुन्न है ! मैले दम्भ गरेको होइन, धेरै क्षति हुन्न, अलिकति क्षति हुन्छ। त्यो क्षतिको जगभित्र उहाँले पाउने खरानी मात्र हो, महल पाउनुहुन्न। यहीँ बस्दा चाहिँ कतै यसो दूलोसुलो परेको थियो भने मर्मत गर्ने कुरा हो। सँगै मिलेर गरे भइगो।

पुस ५ गतेपछि बनाएका कमिटीहरु भङ्ग गरेर ०७५ जेठ २ मा फर्कन अध्यक्ष ओली तयार हुनुहुन्छ ?

भङ्ग भइसकेको जस्तै भो नि ! १५०१ जनाको केन्द्रीय कमिटी घोषणा गरेको थियो, अहिले त २६४ जनाको आयोजक कमिटी मात्र बनाएको छ। तलको अधिवेशन गरिदिने नि, कुरो सकिइगो नि ! जे भयो भयो। निहुँ खोजेर गएको अरु हो। निहुँ आफू खोज्ने, अर्कासँग न्याय माग्न मिल्दैन के ? तीन महिना कुर्ने, अनि फेरि विश्वासको मत जित्ने, आउने ! तीन–चार महिनामा सबै जिल्ला अधिवेशन गरिदिने !

नेकपा हुँदा के–के भो के–के, धेरैको म्याद सिद्धिएको छ। खुरुक्क अधिवेशन गर्‍यो, पार्टी सदस्य त तिनै हुन्। खाली एउटा कुरा गर्नुपर्छ– प्यानलगत उम्मेदवारी गरिने छैन भनेर ल्याप्चे ठोक्नुपर्‍यो।

सँगै हिँड्दा लात्ती लाग्छ। त्यसलाई इगो बनाएर जाने कुरा प्रधानमन्त्रीका तर्फबाट हुँदैन तर निश्चित मूल्य–मान्यता, पद्धति, प्रक्रिया माधव कमरेडले नै भने बमोजिम त नेतृत्व स्वीकारेर त जानुपर्‍यो नि ! केपी ओली अध्यक्ष हो। केपी ओली चाहिँ मान्दिनँ भनेर त कसरी मिल्छ। अब फेरि चुनाव लडेर माधव कमरेडलाई जिताइदिए भने पनि म केपी ओली नै हो मेरो अध्यक्ष भनौँला त ?

त्यसैले मिल्छ। माधव कमरेडको ‘अल्टिमेटली’ डेस्टिनेसन प्रचण्डको कित्तामा लगेर पार्टी मिसाउने छ। उहाँले पार्टी चलाउन सक्नुहुन्न अब। त्यो कुरा कार्यकर्ताले बुझेका छन् र कोही पनि जाँदैनन्।

कार्यकर्ताले एउटा मात्र कुराको एस्योरेन्स खोजेका छन्– यो बीचमा गरेका गड्बडीको सजाय दिएर फेरि केपी ओलीले भित्तामा पुर्‍याइदिने हो कि भन्ने। त्यति पूर्वाग्रही राजनीति गर्न चाहिँ केपी ओलीले मिल्दैन। गर्दा पनि गर्नुहुन्न। त्यसो भएपछि मिलिहाल्यो नि कुरा !

न त माधव नेपाललाई नै चारपाटा मुढेर चार भञ्ज्याङ कटाउने भन्ने राणा शासनको जस्तो कुरा हुन्छ।माधव कमरेडले बेला–बेलामा गर्नुहुन्थ्यो शक्तिमा हुँदा। बेला–बेलामा चार भञ्ज्याङको अभ्यास गर्नुहुन्थ्यो फाट्टफुट्ट। उहाँ आफैँ चाहिँ त्यत्ति सहने मान्छे होइन नि ! तर पनि उहाँलाई हामीले पचाइसक्यौँ– आदरणीय नेतै हो, कुरै सिद्धियो। त्यसो हुनाले यो मिल्छ।

breaknlinks

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया