सोमबार ०६ बैशाख २०७८

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको १३ बुँदे जवाफ पेश गरेका छन् । जवाफ मार्फत नेता नेपालले १३ बुँदे स्पष्टीकरण पेश गर्दै ओलीमाथि व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपको शिकार भएको लगायत आरोप लगाएका छन् ।

‘तपाईंले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा म लगायत केन्द्रीय कमिटीका धेरै सदस्यलाई जानकारी नगराइ आफ्ना गुटको भेला फागुन २८ गते गराई विधानका विभन्न धाराको उल्लघंन गर्दै पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो’ नेता नेपालले बिहीवार जवाफमा भनेका छन् । नेता नेपालको जवाफपछि एमालेको विवाद झनै जटिल मोडमा पुगेको छ ।

 

चैत्र ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टीहित विपरित गुटगत भेला गरेको भन्दै नेता नेपाल सहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा पार्टी महासचिव इश्वर पोखरेलले ८ गते आइतवार नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

थप समाचार
एमाले महासचिवको पत्र पाएपछि माधव नेपालले उल्टै सोधे अध्यक्ष ओलीलाई स्पष्टीकरण [पूर्णपाठ]

 

नेता नेपालले ओलीलाई नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीको अध्यक्षको रुपमा सम्वोधन गरेका छन् । चैत्र ७ गते बसेको बैठकले आगामी मंसिरमा दशौं महाधिवेशन गर्ने भन्दै नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।
नेता रावलले पनि बिहीवार नै स्पष्टीकरणको जवाफ पठाएका छन् ।

नेता नेपालको जवाफले पार्टीको बिवाद झन बल्झिएको ओलीपक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरलाई बताए । ‘यसलाई अध्यक्षमाथि लगाएको १९ बुँदे आरोपको अर्को संस्करण भन्दा पनि हुन्छ, प्रचण्डले लगाएको आरोप र माधव नेपालको जवाफमा केही भिन्नता छैन’ ओली समूहका ती केन्द्रीय सदस्यले भने ।

एमाले विवाद उत्कर्षमा पुगेको बेला शुक्रवार प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका छन् । माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।

lokantar

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया