आइतबार १२ मंसिर २०७८

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानीले काठमाडौंको काकाकुल अवस्थाको अन्त्य गरिने योजनाले अब मूर्तरुपमा लिने भएको छ । मेलम्ची खोलालाई काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा पहिचान गरेको ३२ वर्ष भइसकेको छ ।

बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले पहिचान गरेपछि मेलम्चीको पानी काठमाडौं ल्याउने योजनासहित विकास समिति गठन गरेर आयोजनाको भौतिक निर्माणको काम सुरु भएको २० वर्ष र सुरुङ बनाउन थालेको १२ वर्षपछि काठमाडौंबासीको सपना पूरा हुन लागेको हो ।

मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने तयारी स्वरुप परीक्षण गरिसकिएको छ । अब आउँदो आइतबार चैत १५ गतेबाट मेलम्चीको पानी काठमाडौंको धाराधारा वितरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

कृषि मन्त्रालयद्वारा बिहीबार ललितपुरमा आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले यही चैत १५ गते मेलम्चीको पानी काठमाडौंका धारामा वितरण गरिने जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खोलेर आउँदो आइतबार उद्घाटन गर्ने जानकारी दिएका प्रधानमन्त्री ओलीले भने, ‘काठमाडौंमा मेलम्चीको पानी धारामा छोड्दैछौँ । अस्ति सुन्दरीजल खसाल्यौैँ । वाग्मती सफा ग¥यौँ ।’

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेका छन् । आत्मनिर्भरको घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो ।’

स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने जानकारी दिएका उनले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको बताए ।

news18nepal

 

२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया