शुक्रबार ०८ आश्विन २०७८

राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घन्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब डेढ घन्टा बिताएर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन् ।

सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गर्दै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि बिहीबार शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेटेका हुन् ।

साँझ ७ बजेर १० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली ८ बजेर ५० मिनेटमा बाहिरिएका थिए । संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका हुन् ।

बुधबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सूर्य उदाउँदा पनि रातै हुने र अस्ताउँदा पनि रातै हुने भन्दै आफ्नो प्रधानमन्त्रीत्वकालको अन्त्य हुन लागेको संकेत गरेका थिए । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्ने भन्ने बारे छलफल भएको बुझिएको छ ।

३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया