शनिबार १६ साउन २०७८

बुधबार हात्तीसारबाट हुइँकिएर कमलपोखरीस्थित कृष्ण पाउरोटी अगाडि एउटा ट्याक्सी रोकियो। नम्बर प्लेटमा लेखिएको थियो- बा१ज ८३८९। चालकको सिटबाट एक जना ‘ज्यानदार’ वृद्धले ढोका उघारे।

कमिज सरवाल, इस्टकोट शिरमा ढाकाटोपी। त्यसमाथि ट्याक्सी चालक लेखिएको ज्याकेट र छालाको जुत्ता लगाएका उनी ट्याक्सीमा अडेस लागेर चुरोट सल्काउन थाले। उमेरदार युवाजस्ता जोशिला देखिने ती चालक ६४ वर्षीय शंखरप्रसाद चौलागाईं थिए। उनी काँडाघारीमा बस्छन्। काभ्रे कात्तिके-देउराली गाउँपालिका-३ का चौलागाईं एकल पुरुष हुन्।

उनले काठमाडौंको सडकमा ट्याक्सी चलाएको १३ वर्ष पुगिसकेको छ। उमेर छिप्पिएपछि नै उनले ड्राइभिङ सिके। रोगले खासै छोएको छैन। कहिलेकाहीँ हात दुख्छ। सिभिल अस्पताल पुग्छन्, डाक्टरले उनलाई नि:शुल्क उपचार गरिदिन्छन् सिभिल अस्पतालका डाक्टरसँग उनको चिनजान भएको यही ट्याक्सी चलाउन थालेपछि रहेछ।

‘कहिलेकाहीँ हातखुट्टा दुख्यो, ज्वरोखोकी चलेर सञ्चो भएन भने जान्छु, उपचार गरिदिनुहुन्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ त्यहाँका डाक्टरलाई यताउता जानुपरे लगिदिन्छु, उहाँहरूले पनि पैसा माग्नुभएको छैन।’ अन्य कुनै रोगले च्याप्न नसकेकै कारण शंखर अनवरत् ट्याक्सी हुँइक्याइरहेका छन्। शारीरिक तन्दुरुस्तीले पनि होला उनमा सकुञ्जेल ट्याक्सी चलाउने आत्मविश्वास छ। भन्छन्, ‘आँखा देखुञ्जेल ट्याक्सी चलाउँछु।’

ट्याक्सी चलाउनुअघि उनी भारी बोक्थे। यो पेशामा हाम्फाल्नुको पछाडि उनकी श्रीमती गायत्रीको हात छ। तर, दु:खद् अहिले गायत्री उनको साथमा छैनन्। २०७२ सालमा बाथरूम छिरेकी गायत्री त्यहीँ ढलिन्, उठिनन् श्रीमतीले डोर्‍याएको पेशालाई निरन्तरता दिनुको कारणबारे उनी भन्छन्, ‘उसले आँट दिएर लागेको पेशा, ऊ मरेर गए पनि मलाई छोड्न मन लागेन।’

२०१४ सालमा जन्मेका उनी २० वर्षको उमेरमै भारत डिम्बापुर पुगेका थिए। त्यहाँ पुग्नुमा पनि उनले रमाइलो संयोग रैछ। ‘पञ्चायतकालमा म छुच्चो थिएँ, चित्त नबुझेको कुरामा झगडा गर्ने, मानिस गोद्ने गर्थें,’ उनले सुनाए, ‘झगडालु छ भनेर बुवा-आमाले उता पठाउनुभयो।’ भारतमा उनका ठूलोबुवा रोजगारी गर्थे। त्यहाँ गएर दुई वर्ष बसेपछि शंखर नेपाल फर्के। २२ वर्षको उमेरमा गायत्रीसँग बिहे गरे।

बिहे भएपछि के गर्ने रोजगारी भनेर उनी केही समय गाउँमै भौंतारिए। तर, केही पनि नपाएपछि डिम्बापुर नै फर्किने निधोमा पुगे। बनेपामा पुगेपछि गाउँकै एकजना चिनेका व्यक्तिसँग भेट भयो। बनेपामा उनी धान र तेलको मिल चलाउँथे। ‘कहाँ हिँडेको?,’ उनले सोधे। ‘भारत जानुपरो भनी हिँडेको,’ शंखरले जवाफ फर्काए। ‘हत्तेरी, भारत नजा, मेरो मिलमा काम गर,’ उनले भने शंखर मिलमा काम गर्न थाले। त्यहाँ उनले पाँच वर्ष काम गरे, महिनाको ५० रुपैयाँमा।

त्यसपछि तिनै मिलवाला नेवारले पाटनमा पनि मेरो मिल छ भन्दै काठमाडौं जान भने। शंखर छोराछोरी र श्रीमती लिएर काठमाडौं आए। काठमाडौं सहर दु:ख-सुख, हाँसो-आशुको ‘महासागर’ हो। कामको खोजी, सीप र पसिनाको चौतर्फी साक्षात्कार यहाँ हुन्छ। शंखरले पनि राजधानी छिरेपछि कष्टको पसिनासँग ‘साक्षात्कार’ गरिरहेका छन्, यो बुढ्यौलीमा पनि।

२०४२/४३ सालतिरको कुरा हो। उनका बुढाबुढी तीन छोराछोरीसँग बानेश्वरमा बस्थे। शंखर पाटनको मिलमा काम गर्थे। पाटनमा रातभरि मिलमा काम गर्दा ५० रुपैयाँ आउँथ्यो। त्यसले शंखरको परिवारिक जिम्मेवारीको भार उठाउँदैनथ्यो। घरको गर्जो टार्न उनी दिउँसो त्यही मिलमा चामल कुटाउन ल्याइएका बोरा, तेल ओसार्न भारी बोक्ने काम गर्थे। दिनभर भारी बोक्दा थाकेर घर पुग्थे।

एकदिन उनी लखरतान भएर डेरामा पुगेका थिए। त्यसबेला उनको मुखबाट आवाज निस्कियो- बुढी, म त भारी बोक्दाबोक्दै मर्छु होला। बुढाबुढी धेरैबेर पिरोलिए। गायत्रीले त्यसदिन शंखरलाई ढाडस दिइन्- हरेस नखानू। अरू के काम गर्ने त? भन्ने विषयमा लामो छलफल चल्यो।श्रीमतीले भनिन्- टेम्पो सिक्नू।

काठमाडौंमा टेम्पो त्यतिबेला चल्तीको सवारीसाधन थियो।भारी बोक्ने कामलाई छोडेर शंखरले टेम्पो सिक्न थाले। टेम्पो सिके पनि चलाउन भने पाएनन्। ‘न आफ्नो टेम्पो थियो, न भाडामा पाएँ,’ शंखर भन्छन्, ‘त्यसपछि फेरि भारी बोक्न थाल्नुपर्‍यो।’ सिकेर पनि टेम्पो चलाउन नपाएपछि शंखर उदास अनुहार बनाएर डेरा आउने-काममा फर्किने गर्थे। एकदिन बानेश्वर चोक पुगेका थिए। एउटा ट्याक्सी रोकिएको ठाउँमा उभिएर धुरुधुरु रून थाले।

‘ए दाजु किन रुनुभएको?’ भन्दै ट्याक्सीका चालकले सोधे। शंखरले आफ्नो दु:ख ती ट्याक्सी चालकसँग साटे। त्यसपछि ती चालकले ट्याक्सी सिकाइदिने आश्वासन दिए। ट्याक्सी सिक्ने कुरा बोकेर उनी डेरा पुगे। श्रीमतीलाई सुनाए। शंखरले पेट्रोल हाल्ने सर्तमा ती ट्याक्सी चालकले उनलाई सिकाइदिने बताएका थिए।

ट्याक्सी सिक्नका लागि चाहिने पैसा जुटाउने जिम्मा गायत्रीले लिइन्। शंखरले त्यो सर्तमा सिधै ट्याक्सीको स्टेरिङ समाते। उतापट्टीको सिटमा बसेर चालकले शंखरलाई सिकाउन थाले भक्तपुरको एउटा चौरमा। दिनभरि चौरमा ट्याक्सी सिकेर चालकलाई तेल हालिदिन्थे। १५ दिनमा त उनी पोख्त भइहाले जसले ट्याक्सी सिकाए, उनैले लाइसेन्स बनाउने उपाय पनि निकालिदिए।

यो २०५८ सालको कुरा थियो। लाइसेन्स हात लाग्यो। तर, उनले पहिले टेम्पो सिकेर नपाएजस्तो परिस्थिति दोहोरियो। ट्याक्सी भेटेनन्। ‘पाँच वर्ष लाइसेन्स हातमा लिएर मिलमा काम गर्दै बसिरहें,’ उनले भने। २०६३ सालको कुरा हो। ट्याक्सी नपाएर हैरान भएका शंखरलाई सिकाउने व्यक्तिले नै ट्याक्सी खोज्न तदारूकता देखाए।

बानेश्वरकी शोभा कोइरालासँग सम्पर्क गराइदिए। यसपछि शंखरले बल्ल स्थायी रूपमा ट्याक्सीको स्टेरिङ समात्न पाए। करिब तीन साल कोइरालाको ट्याक्सी चलाएपछि शंखरले बानेश्वरकै वासुदेव पन्तको ट्याक्सी चलाउन थालेको आज १० वर्ष पुगेको छ। सर्त छ- दिनभरि ट्याक्सी चलाउने, दिनको एक हजार रुपैयाँ बुझाउने र तेल हाल्ने।

यसबाट बाँकी रहे शंखरको खल्तीमा, नरहे सुख्खा।‘कहिले बच्छ पनि, कहिले बच्दैन पनि,’ शंखर भन्छन्।उनी बिहान ७ बजे काँडाघारी डेराबाट निस्किन्छन्। बेलुका साढे ७ बजे डेरा पुग्छन्। उनका तीन छोराछोरी छन्। जेठा बौद्धमा श्रीमतीसाथ बस्छन्। कान्छा छोरासाथ उनीसँगै काँडाघारी बस्छन्। छोरीको बिहे भइसकेको छ।

कान्छो छोरा घर बनाउने डकर्मी काम गर्छन्। ‘ज्वाइँ त्यही काम गर्नुहुन्छ, छोरो पनि उहाँसँगै काम गर्छ,’ शंखरले भने।शंखरले ट्याक्सी चलाएरै जेठो छोरालाई विदेश पठाए। घरजग्गा पनि जोडिसकेका छन्।कान्छो छोरालाई २०७२ सालमा मलेसिया पठाए, बुहारीलाई साइप्रस।

त्यसका लागि उनले गाउँमा अंशमा रहेको खेत पनि बेचे तीन लाख रुपैयाँमा। तीन हलको मेलो लाग्ने खेतबारी थियो, अरूलाई कमाइ गरेर खान दिएको थिएँ, त्यसमध्ये खेत बेचें,’ उनले भने, ‘छोरा-बुहारीले कमाउलान् भन्ने लागेर अंशमा पाएको खेत बेचेको थिएँ।’

छोरो गएको दुई महिनामै आमा बितिन्। उनी फर्किएर आए। बुहारी दुई वर्ष साइप्रस बसेर आइन्। बुहारीले साइप्रस बसेर कमाएको पैसाले उनीहरूले काँडाघारीमै तीन आना जग्गा जोडेका छन्, घर भने बनाउन सकेका छैनन्।

‘हेरौं, अब घर बनाउन सकिएला नसकिएला,’ उनले भने।शंखरको उमेर यसरी काम गरेर बस्ने छैन। तर, उनलाई घर बस्न मन लाग्दैन रहेछ। बाहिर निस्केपछि बिहानभरमै उनी ७-८ चिया र त्यति नै खिल्ली चुरोट सल्काउँछन्।

‘एकल पुरुष घरमा बसेर त्यत्रो चिया खान त कसरी मिल्छ?,’ उनी भन्छन्, ‘डाक्टरले चुरोट नखानु भनेका थिए, के गर्नु तलतल लागिहाल्छ। उनलाई व्यक्तिगत खर्च चाहिन्छ, त्यो पैसा छोराबुहारीलाई माग्न मन नलागेर पनि ट्याक्सी चलाइरहेको बताउँछन्।

उनी बिहानको खाना बाहिरै खान्छन्। ‘एक दुई चोक्टा भए पनि मलाई खानामा मासु चाहिन्छ,’ उनी भन्छन्। दिउँसोको खाजा पनि खान परो। बचेको पैसा घर खर्चका लागि पनि छुट्याउँछन्। ‘लकडाउनयता चाहिँ मैले घरमा पैसा दिएको छैन,’ उनले भने, ‘त्यसभन्दा अगाडिचाहिँ घरमा दिइरहेको थिएँ।’

बुढेसकालमा ट्याक्सी चलाउनुका केही बाध्यता पनि उनले सुनाए। पहिलो, उनी हट्टाकट्टा छन्, घरमा बसेर खान मन लाग्दैन रे दोस्रो, उनलाई चिया-चुरोट खाने पैसा चाहिन्छ, त्यो घरमा बसेर जुट्दैन। ‘हातमा सीप छ, चिया-चुरोट खान पनि के छोराबुहारीको मुख ताक्नु?,’ जोशिएरै भन्छन्।

तेस्रो, घरमा समस्या पर्दा सघाउनु पर्ने जिम्मेवारी आफूकहाँ पनि उतिकै छ भन्ने दायित्व उनी देख्छन्। अर्को, नातिनातिना, बहिनी, आफन्त आउँदा खल्तीबाट यसो निकालेर दुई चार पैसा खर्च दिनका लागि पनि काम गर्न जरुरी देख्छन्। ‘नातिनातिनालाई खर्च दिने बेलामा खै पैसा भन्दै छोरा-बुहारीलाई भन्ने आँट नै आउँदैन,’ शंखर भन्छन्।

ट्याक्सी चलाउँदाको कमाइ सबै छोराबुहारीलाई बुझाउँदा श्रीमती सम्झाउँथिन्-पैसा जोरजतन गरेर राख्नू, सबै नदिनू, पछि दु:ख पाइएला नि! शंखर श्रीमतीको कुरा मान्दैनथे। ‘श्रीमती बितेपछि त कसका लागि पैसा जम्मा गर्नु भन्ने लाग्यो,’ शंखर भन्छन्, ‘अहिलेचाहिँ जम्मा गर्न थालेको छु।’

लकडाउनयता आफूले कमाएको पैसा जोगाएर ३१ हजार रुपैयाँ फाइनान्समा राखेको उनले सुनाए। ‘यो बीचमा पाँच-सात हजार रुपैयाँ छोराबुहारीलाई दिएँ, ग्यासका तीन वटा सिलिन्डर किनेँ,’ उनले भने, ‘बाँकी रहेको पैसा जोगाएर राख्न थालेको छु।’ यो पैसा जम्मा गर्नुको उद्देश्य भोलि छोरोले घर बनायो भने सहयोग गर्न सकूँ भन्ने शंखरलाई लागेको छ।

‘मेरो जिन्दगी यसरी नै बितिरहेको छ,’ शंखरले भने, ‘मैले जोहो गरेको पैसाले भोलि थोरै भए पनि साह्रोगाह्रो टर्ला कि।’ उनी लुगाकपडा किन्न घरमा पैसा माग्दैनन्, सबै आफैं व्यवस्थापन गर्छन्। यतिका समय ट्याक्सी चलाउँदा उनले काठमाडौंका सडकमा जति दु:ख पाए, वृद्ध चालक भएका कारण धेरैले सहानुभूति पनि देखाएको उनी सुनाउँछन्।

‘ट्याक्सीमा मिटर छ, यात्रुलाई म यति दिनू उति दिनू भन्दिनँ, मिटर खोल्नू भने भने खोल्छु, नभए मिलाएर दिनू भन्छु,’ उनी भन्छन्, ‘म बूढोले ट्याक्सी चलाएको देखेर होला, धेरैजसोले केही पनि भन्दैनन्, म यतिउति भनेर माग्दिनँ पनि।’ सडक हो, कहिले कहाँ कहिले कहाँ पार्किङमा समस्या आइपर्छ। कहिले ट्राफिक प्रहरी आएर जरिवाना काट्न खोज्छन्।

‘तपाईं यति बूढो मान्छे के जरिवाना काट्नु, जानुस् भनेर ट्राफिक प्रहरीका भाइहरूले सहानुभूति देखाउँछन्, खुसी लाग्छ,’ शंखरले भने। ट्याक्सी चालकको पीडा पनि उनले सुनाए। ‘पहिला-पहिला त गुरुजी यता आउनु भन्थे, अहिले ओ ट्याक्सी यता आइज भन्छन्,’ उनले सुनाए, ‘मापसे गरेका व्यक्तिले त जथाभावी बोल्छन्, चुपचाप सहन्छु।’

उनले आफूजस्तै तीन-चार जना वृद्ध ट्याक्सी चालक देखेको बताए। ‘तर, यो काठमाडौंमा चिनजान परिचय बन्न सकेन,’ उनले भने। उनी सभाजुलुश हुने थाहा पाएपछि ट्याक्सी चलाउँदैनन्, किनकि उनले धेरैपटक ट्याक्सी जलाएको सुनेका-देखेका छन्।

‘एक त त्यस्तो बेलामा साहुले ट्याक्सी नलानू भन्छन्, फेरि यो लफडामा जाँदा केही भइहाले अर्को ट्याक्सी खोज्न कहाँ जाने?,’ उनी भन्छन्, ‘भरसक म सभा-जुलुश हुने बेला सडकमा आउँदिनँ।’ setopati

 

२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया