आइतबार ०५ बैशाख २०७८

काठमाडौं । नेपालको राजनीतिमा विदेशी हस्तक्षेप रहेको भन्ने विषयलाई स्वयं नेताहरुले अस्वीकार गर्न सक्दैनन् । नेपालको अस्थिर राजनीतिमा आफ्नो फाइदा देख्ने मुलुकहरु क्रियाशील रहेको र नेताहरुलाई प्रयोग गर्ने गरेको भन्ने खबर जनताले सुन्दै आएका हुन् ।

तर, यसलाई रोक्न भन्दा पनि नेताहरु विदेशी शक्तिलाई आफ्नो घर घरमा बोलाएर आफ्ना स्वार्थसिद्ध गराउन सहयोगको अपेक्षा गर्छन् । पछिल्लो वर्ष चीन पनि नेपालको राजनीतिमा खुलेरै चासो राख्दै नेताहरुको घर घरमा पुग्ने गरेको दृश्य बाक्लै देखिन थालेको छ ।

मुलुकको राजनीतिक सकसपूर्ण भएका बेला शक्ति राष्ट्रका राजदूतहरु नेताहरुको घरघरमा पुगेर चासो र सुझाव दिँदै आएका छन् । अहिले सत्तारुढ नेकपा आन्तरिक विवादमा फसेको छ । एमालेको असन्तुष्ट पक्षलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ र सहयोग रहेको स्पष्ट देखिन्छ ।

एक सार्वजनिक कार्यक्रममा प्रचण्डले माधवकुमार नेपाल एमालेभित्र विद्रोह गरेर आफूहरुसँग पार्टी एकता गर्न आउने अभिव्यक्ति दिए । यस अभिव्यक्तिले एमालेको विवाद भूसको आगोझैँ सल्कँदै गएको छ । प्रचण्ड आफ्नो पार्टीको नाम परिवर्तन गर्न चाहेका छन् । प्रचण्ड र डा. बाबुराम भट्टराईबीच बाक्लो भेटघाट पनि भइरहेको छ । प्रचण्डले ओली नेतृत्व सरकारको विकल्प खोजिरहेका छन् ।

ओली सरकारको विकल्प खोजिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक शक्तिसँगै बाह्य शक्तिको सहयोगको लागि पहल गरेका खुलेको छ । करिब दुई हप्ता अघि भारतीय संस्थापन पक्ष भारतीय जनता पार्टीका वरिष्ठ नेता राम माधवलाई फोन गरेर प्रचण्डले आफूहरुलाई सहयोग गर्न आग्रह गरेका स्रोतले जानकारी दिएको छ ।

ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउन सहयोगको अपेक्षा गरेका प्रचण्डलाई भाजपा नेता माधवले सहयोग गर्न नसक्ने बताए । यसपछि सहयोग नगर्ने हो भने चीनको सहयोग लिन आफूहरु बाध्य हुने प्रचण्डले जवाफ दिएपछि भाजपा नेता माधवले आक्रोशित हुँदै प्रचण्डलाई आफूखुसी गर्न भनेको स्रोतको दाबी छ । प्रचण्डको जवाफ सुनेपछि नेता माधवले आफूहरुलाई धम्क्याउन खोजेको भन्दै प्रचण्डसँग आक्रोशित भएका थिए ।

ओलीको विकल्पमा भारतीय संस्थापन पक्षको असहयोग देखिएपछि प्रचण्डले चीनसँग सहयोग प्राप्तिका लागि पहल गरेको बताइएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।

सोमबार प्रचण्ड निवास खुमलटार पुगेर राजदूत यान्छीले प्रचण्डलाई भेटेकी थिइन् । नेपालमा चर्किएको पछिल्लो राजनीति अवस्थापछि राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् । यान्छी र प्रचण्डबीच नेपालको पछिल्लो राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो ।

स्रोतकाअनुसार ओली सरकारको विकल्पबारे पनि कुराकानी भएको थियो । राजदूत यान्छी बाहिरिएपछि प्रचण्डले एमालेको असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता माधवकुमार नेपाललाई खुमलटार बोलाएर छलफल गरे । प्रचण्ड र नेता नेपाल ओली सरकारको विकल्पमा लागेका छन् । यसमा चीनको सहयोग देखिन थालेको छ ।

साविक नेकपाको एकता रक्षार्थ नेताहरुको घरदैलो धाएकी राजदूत यान्छी एमालेभित्रको विवाद चर्केेका बेला ओली सरकारको विकल्प खोजेका प्रचण्डलाई भेट्न पुगेकी हुन् । यान्छी सँगको भेटपछि प्रचण्डले एमाले नेता नेपाललाई बोलाएर भेटवार्ता गर्नुले चीनको सहयोग उनीहरुमाथि रहने देखिएको छ । भारतको असहयोगपछि प्रचण्ड–नेपालले चीनको साथ र सहयोग पाउने देखिएको हो । क्यानाडानेपालबाट

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया