शुक्रबार ०७ माघ २०७८

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) को केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सारिने भएको छ । २०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङल्यामु स्मृति प्रतिष्ठानमा केन्द्रीय कार्यालय रहेको एमाले मुख्यालय अब थापाथली हाइटस्थित उमंगमार्गमा सर्न लागेको हो । कार्यालय सर्नेबारे बुधबार सम्झौता गर्ने तयारी गरिएको छ ।

दोस्रो चरणको चक्रपथ विस्तारको कारणले धुम्बाराहीमा आउन जान असहज हुने भएकाले थापाथलीमा पार्टीको केन्द्रीय कार्यालय सार्न लागिएको हो । पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरिरहेका छन् ।

२०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो ।गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकले आगामी वैशाख ९ गते पुरानो कार्यालय भवन रहेको बल्खुमै नयाँ भवन शिलान्यास गर्ने निर्णय गरेको छ । भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको थियो । विसं २०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्बराहीमा सारिएको थियो । एमालेका कार्यालय सचिव ईश्वरी रिजालले पार्टीको आवश्यकताअनुसार भवन अत्याधुनिक बनाइने बताए ।

पुराना कार्यालयका करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । उनका अनुसार शिलान्यासको तयारी जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । नयाँ कार्यालय भवनको भित्र गेटमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो समेत राखि सकिएको छ ।

swadeshnepal

६०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया