सोमबार ०६ बैशाख २०७८

काठमाडाैं । ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बिहीबार बिहान १० बजे नेकपा एमाले खनाल-नेपाल पक्षका सांसदहरू बैठक बसे । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाेलाएकाे संसदीय दलकाे बैठकमा जाने कि नजाने भन्नेबारे छलफल भएकाे थियाे ।

अध्यक्ष ओलीले बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक राखेका थिए । छलफलपछि खनाल-नेपाल पक्षका स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा सहभागी हुने निर्णय भयाे । तर बालुवाटार जान लागेका सांसदहरु पुन: बाटाेबाट फर्किए ।

बैठकमा भाग लिन गइरहेका सांसद किन फिर्ता भए ?

झलनाथ–माधव पक्षका सांसद ओलीले बाेलाएकाे बैठकमा जाने समाचार सञ्चारमाध्यममा आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाललाई फाेन गरी जान राेकेकाे उच्च स्राेतले बताएकाे छ ।

होटल हेरिटेज गार्डेनमा भएकाे छलफलपछि माधव नेपाललाई प्रचण्डकाे फाेन आएकाे र उनले जान लागेका सांसदहरुलाई राेकेकाे स्राेतकाे दाबी छ ।

शीर्ष नेताहरुले बैठकमा जान राेकेपछि सांसदहरु अलमलमा परेका थिए । बैठकमा भाग लिन जान लागेका सांसद पुन: फर्केर खनाल-नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भए ।

प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको पर्सिपल्ट बबरमहलमा बसेको तत्कालीन नेकपा प्रचण्ड–नेपाल समूहको बैठकले ओलीलाई हटाएर नेपाललाई पार्टी अध्यक्ष चयन गरेकाे थियाे । त्यहीँबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालकाे आत्मीयता सुरु भएकाे थियाे ।

तर सर्वोच्च अदालतको २३ फागुनको फैसलाले उनीहरू पूर्ववत् पार्टीहरूमा फर्किनुपर्‍याे । पेरिसडाँडामा बिदाइ बैठक गरेर फर्कँदा नेपाल– दाहाल दुवैले छिट्टै मिलन हुने आशा राखेका थिए । दाहालले त्यसपछि पनि विभिन्न ठाउँमा भाषण गर्ने क्रममा नेपाल पक्षले नेकपा एमाले ‘क्याप्चर’ गर्ने र आफूहरुसँग सहकार्य गर्न आउने बताइरहेका छन् ।

sunaulonepal

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया