शुक्रबार १० बैशाख २०७८

दोहा, कतार : कतारमा वृद्धि भएको कामदारको नयाँ तलब कार्यान्वयनमा आएको छ । कतारको प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयले २० मार्च अर्थात् शनिबारदेखि वृद्धि भएको नयाँ तलब लागू भएको जनाएको छ ।

कतारले आफ्नो मुलुकको सन् २०२० को कानून २० लागू भएको भन्दै बढेको तलब उद्योग, निर्माण र सेवा क्षेत्रमा कार्यरतसहित घरेलु कामदारका हकमा पनि लागू भएको जनाएको छ । बढेको तलब हाल कतारमा कार्यरत र भविश्यमा जाने सबै प्रकारका कामदारका हकमा समानरुपमा लागू हुने जनाइएको छ ।

मन्त्रालयले कतारका सबै कम्पनीले कामदारको करार अनुसार न्यूनतम तलब एक हजार रियाल, खानाका लागि ३ सय र आवासका लागि ५ सयसहित मासिक १८ सय रियाल दिनुपर्ने बताएको छ । खाना र आवासको सुविधा कम्पनीले दिए एक हजार रियालमात्र तलब दिनुपर्ने छ । कतारले गत असोजमा ६ महिनाको परीक्षण अवधि राखी नयाँ तलब र सुविधा घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो) सँगको सहकार्यमा श्रमिकको तलब वृद्धिको निर्णय कार्यान्वयन गरिएको भन्दै यसले कतारको समृद्धिका लागि अगाडि बढाइएको कतार भिजन २०३० को लक्ष्यलाई सम्बोधन गर्ने कतारले बताएको छ । नेपालले ९ वर्ष अघि सन् २०१३ देखि नै अदक्ष कामदारका लागि न्यूनतम तलब ९ सय र खानाका लागि ३ सय रियाल गरी न्यूनतम १२ सय रियाल हुनुपर्ने निर्णय गरेको थियो ।

कतारले ५ वर्ष अगाडिदेखि नै श्रमिकलाई प्रत्येक महिनाको पहिलो साताभित्र बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणाली व्यवस्था गरेको थियो । कतारले यस पटक पनि वृद्धि भएको तलबको कार्यान्वयन गर्न बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणालीलाई थप प्रभावकारी बनाएको बताएको छ ।

प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयले तलब र सुविधा सम्बन्धी निर्णय कडाईका साथ पालना गर्ने भन्दै नयाँ निर्णय कार्यान्वयन नभए टेलिफोनमार्फत उजुरी दर्ता गर्न सूचीत गर्दै १६००८ नम्बरको हटलाईन सार्वजनिक गरेको छ । यस बाहेक मोबाइलमा अमेर्नी नामक एप्स डाउनलोड गरेर आफेनो देशको भाषमा उजुरी गर्नपनि सकिने मन्त्रालयले जनाएकोे छ । उक्त एप्समा नेपालीसहित ३३ भाषामा उजुरी दिन मिल्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

pathivaranews

९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया