शुक्रबार ०७ माघ २०७८

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सिन्धुली पुगेर भन्नुभयो, ‘केपी ओलीलाई १९ पेजको दस्ताबेजको बम हानेपछि लडाईँ सुरु भयो, अहिले महामारी चलिरहेको छ ।’

तत्कालीन नेकपाको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओली विरुद्ध १९ पेज लामो अभियोगपत्र पेश गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुग्यो र पार्टी विभाजनमा पुग्यो ।

नेकपा विभाजनको लागि पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्रका माधव नेपाल लगायतको सहारा लिनुभयो । प्रचण्डको जालमा परेर माधव नेपाल लगायतका नेता केपी शर्मा ओली विरुद्ध लाग्नुभयो ।

उहाँहरुको षडयन्त्र बुझेर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिदिनुभयो । त्यसपछि उहाँको विरुद्ध सडक आन्दोलनसम्म भयोे । अन्ततः अदालतले संसद् पुर्नस्थापित गरिदियो । यसले प्रचण्ड र माधव नेपालको लगनगाँठो अझ कसियो ।

एमाले फुटाऊ र राजगरको नीति लिनुभएका प्रचण्डको एमाले फुटाउने षडयन्त्र अन्ततः सफल भयो । माधव नेपाल, झलनाथ खनाल लगायतका नेता प्रचण्डको पछि लाग्नु भयो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टी बनाएर नेकपा विघटन गरिदिएपछि प्राविधिक रुपमा माधव नेपालहरु माओवादी केन्द्रमा बस्ने अवस्था रहेन । सो पार्टीमा बस्दा उहाँहरुको सांसद् पद जाने भयो । अहिले उहाँहरु आफ्नो सांसद् पद जोगाउनको लागि एमालेको झण्डा बोकेर सडकमा निस्किनु भएको छ ।

पार्टीमा फर्किएको बताउने माधव नेपालहरु पुष्पकमल दाहालको प्रत्यक्ष निर्देशनमा एमालेभित्र वितण्डा मच्चाउँदै हुनुहुन्छ । उहाँहरु नेता, नेतृत्व र पार्टीको निर्णयलाई नमान्ने ठाडो चुनौती दिँदै हुनुहुन्छ । माधव गुट एमालेको झण्डा मुनि बसेर एमाले फुटाउन लागेको छ भने प्रचण्ड झण्डा बाहिर बसेर एमाले फुटाउन लाग्नुभएको छ ।

माधव गुट अहिले पार्टी भित्र खुल्ला रुपमा गुट चलाएर हिँडेको छ । पार्टी निर्देशन विपरित सो गुटले आफ्नो गुटको दुई दिने राष्ट्रिय भेला सकेको छ । त्यस्तै शुक्रबार महिलाको गुट भेला गरेको छ भने एमालेका अन्य जनवर्गीय संगठनको समेत गुट भेला गर्दै छ ।

नेपाल गुट गुटको भेला गर्दै पार्टी विगार्दै छ, एमालेका कार्यकर्ता भड्काउँदै छ । जसको निर्देशक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बन्नुभएको छ । एमाले भित्र रडाको मच्चाएर अहिले प्रचण्ड द्वन्द्व निर्देशक बनेर रमिता हरिरहनुभएको छ । उहाँको निर्देशनमा माधव नेपाल र उहाँको गुट एमालेमा द्वन्द्व मच्चाउँदै छ ।

प्रचण्डकै शब्दमा उहाँहरु नेकपा एमाले भित्र विद्रोह गर्दै हुनुहुन्छ । प्रचण्डकै भनाइमा उहाँहरु सकेसम्म एमाले पार्टी कब्जा गरेर माओवादीलाई बुझाउने योजनामा हुनुहुन्छ । त्यो नसके अन्ततः विद्रोह गरेर उहाँहरु माओवादी केन्द्रमा समाहित हुन जाँदै हुनुहुन्छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिमा गुट, फुट र विभाजनको माहिर नेता हो । उहाँको राजनीति इतिहास नै त्यसैगरी विकास भएको छ । गुट फुट र विभाजनबाट अरुलाई समाप्त गरी आफू नेता बन्ने उहाँको चरित्र छ ।

माओवादी द्वन्द्वको क्रममा विपन्न नेपाली नागरिकको रगतको होली खेलेर प्रचण्ड नेता बन्नुभयो । गरिब नेपालीका छोराछोरीलाई बुर्जुवा शिक्षा पढ्नु पर्दैन भन्दै किताब च्यात्न लगाएर लडाकु बनाउँदै प्रचण्ड सुप्रिम कमाण्डर बन्नुभयो ।

भूमिगत आन्दोलनकै बेला फरक मत राखेको कारण आफ्नै सहकर्मी नेता बाबुराम भट्टराईलाई हिरासत र माओवादीको जेलमा राख्नु भयो । झण्डै ज्यान लिनु भएन ।

शान्ति प्रक्रियामा आए पछि आफ्नै गुरु मोहन वैद्यलाई पार्टी छाड्न वाध्य पार्नुभयो । त्यति मात्र होइन आन्दोलनका कमाण्डर रामबहादुर थापालाई पार्टीबाट निकाल्नुभयो । नेत्रविक्रम चन्दलाई त फेरि भूमिगत हुन वाध्य बनाउनुभयो ।

प्रचण्डको नजरमा अब सिध्याउने पालो केपी शर्मा ओली र एमालेको आएको छ । प्रचण्डले आफूलाई सत्ता र शक्तिमा पुग्नको लागि केपी र एमालेलाई बाधक देख्नुभएको छ । त्यसैले एमाले र केपी ओलीलाई सिध्याउने खेल प्रचण्ड खेल्न लाग्नु भएको छ । जसको विरुद्ध केपी शर्मा ओली दृढ भएर उभिनुभएको छ ।

एमाले भित्र प्रचण्डले मच्चाएको रडाकोको गोटी माधव नेपाल, झलनाथ खनाल र उहाँको गुट बनेको छ । प्रचण्डको ‘प्रयोग गर र छाड’ नीतिको सिकार अहिले माधव नेपाल र उहाँको गुटका एमाले नेता बनेका छन् ।

उहाँले प्रयोग गरुञ्जेल उहाँहरुलाई पार्टी भित्र रडाको मच्चाउँदा रमाइलै हुन्छ, जब प्रचण्डले छाड्नु हुन्छ, उहाँहरु घरको न घाटको हुनुहुन्छ । त्यतिबेला उहाँहरु आफू त सिद्धिनु हुन्छ नै धेरै एमालेका नेता कार्यकर्ताको राजनीतिक भविष्य पनि सिध्याइदिनु हुन्छ ।

अनि पुष्पकलम दाहाल जो आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्दै हुनुहुन्छ उहाँको घर पनि बलियो छैन । उहाँलाई छाडेर धेरै नेताहरु अन्यत्र बसाईँ सरिसक्नु भएको छ । उहाँको सिसाको घरमा पनि कसले कतिबेला ढुंगा हान्छ र भत्किन्छ ठेगान छैन । त्यसैले एमाले भित्रको विवादमा देखिएको उहाँको हाँसो कुनै पनि बेला रोदनमा परिणत हुने निश्चित छ । सनराइज खबरबाट साभार

१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया