शुक्रबार ०७ माघ २०७८

काठमाडौं । नेकपा एमालेको अध्यक्षका लागि चुनाव हुने भएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर रावलले सो प्रस्ताव अस्वीकार गरेपछि चुनाव हुन लागेको हो ।

चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उनले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका हुन् ।

रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको नेकपा एमोले जनाएको छ । निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ ।

आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लगेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो ।

बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०:३० देखि १०:४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०:५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

यस्तै बिहान ११:५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२:५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए । उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए ।

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया