Wednesday, October 21

जगदम्बा स्टिलमा कार्यरत ६ भारतीय मजदुर कोरोना संक्रमितए पछि फरार

August 14, 2020 143

काठमाडौ । जगदम्बा स्टिल सिमरा, बारामा काम गर्ने ६ जना मजदुरमा कोरोना पुष्टि भएपछि फरार भएका छन् । उनीहरु भारतीय मजदुर हुन् । मंगलबार उद्योगका ११ जना मजदूरमा कोरोना पुष्टि भएको थियो । अरु नेपाली मजदुर हुन् । ६ जना भारतीय मजदुरहरु भने अहिले सम्पर्कमा छैनन् । उनीहरु कोरोना पुष्टि भएको खबर पाएसंगै फरार भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

प्रशासन कार्यालयले भारतीय नागरिकको मोबाइल नम्बरसहितको विवरण उद्योगलाई सार्वजनिक गर्न निर्देशन दिइएको छ । स्थानीय प्रशासन वा स्वास्थ्य संस्थामा सम्पर्कको व्यवस्था गर्न लगाइ आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन उद्योगलाई भनिएको छ ।

आफ्ना उद्योगमा कार्यरत मजदुर फरार हुँदा समेत जानकारी नपाएको उद्योगलाई उनीहरुको सम्पर्कमा रहेका अन्य ब्यक्तिका बारेमा पनि जानकारी दिन प्रशासनले निर्देशन दिएको छ । प्रशासन कार्यालयले उद्योगका नाममा पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।

कन्ट्रयाक्ट ट्रेसिङका अधारमा सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी पिसिआर परीक्षणको व्यवस्था मिलाउन उद्योगलाई भनिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

अन्य कामदारहरूको पिसिआर परीक्षण नहुँदासम्मको लागि उद्योगमा निषेधाज्ञा लागू गरिएको छ । उद्योगका मजदूर तथा कर्मचारीलाई भित्रै राखी निषेधाज्ञा अवधिसम्म भित्रबाहिर आवतजावत गर्न निषेध गरिएको छ ।

एउटा गेटबाट मात्र खाना र पानीको व्यवस्था भित्र रहेका मजदूर तथा कर्मचारीलाई दिने ब्यवस्था मिलाईएको छ । बिहीबार राति जगदम्बा स्टिलले ट्रकमा लुकाएर ल्याएका २५ जना मानिसबाट उद्योग चलाउन खोज्दा स्थानीयले विरोध गरेका थिए ।

ट्रकमा ल्याएका मजदूरहरूलाई प्रहरीको रोहबरमा स्थानीय होटेलमा क्वारेन्टाइनको व्यवस्था गरिएको थियो । आक्रोशित स्थानीयहरूले उद्योगमा ताल्चा लगाई साँचो जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देवी चौधरीलाई बुझाएका थिए ।

प्रतिकृया दिनुहोस्