Tuesday, November 24

 १७२ दिनपछि श्रावण २१ गते बुधबारदेखि वक्री हुँदै शनि पुनः धनुराशिमा प्रवेश ५ राशिलाई दोहोरियो शनिको साढेसाती र अढैया दशा

August 13, 2020 47

काठमाडौं ।  १७२ दिनपछि श्रावण २१ गते बुधबारदेखि वक्री हुँदै शनि पुनः धनुराशिमा प्रवेश गरेका छन् । यसअघि २०७६ साल फागुन ४ गतेदेखि धनुराशिलाई छोडेर आफ्नै घर मकरमा गोचर गरिरहेका शनिग्रह धनुराशिमा आउनुलाई महत्त्वका साथ हेरिरहेको छ ।

कार्तिक ३० गतेसम्म शनि देवगुरु बृहस्पतिको राशि धनुमा गोचर गर्नेछन्  । यो समयमा शनिको सम्बन्ध देवगुरु बृहस्पति र केतुसँग पनि हुने हुँदा यसलाई विशेष रुपमा हेरिएको छ ।

२०७६ साल फागुन ४ देखि समाप्त भइसकेका वृष, कन्या र वृश्चिक राशिहुनेहरुका लागि पुनः अढैया र साढेसातिको दशा कार्तिक ३० गतेसम्म चल्ने छ । यो अवधिभर यी राशिहुनेहरुले विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ ।

श्रावण २१ पछि मिथुन, तुला तथा कुम्भ राशिहरुको अढैया र साढेसातिको दशा कार्तिक ३० सम्मका लागि समाप्ति हुँदैछ । बाँकी धनु र मकर राशिहरुका लागि भने साढेसाति यथावत् रहनेछ ।

वृष, कन्या राशिका मानिसहरुका लागि शनिको अढैया दशा सुरु हुने छ भने वृश्चिक, धनु र मकर राशिहुनेहरुका लागि साढे सातिको दशा रहिरहने छ । यो कार्तिक ३० सम्म शनि धनुराशिमा हुँदासम्म रहिरहने छ र शनिको राशि परिवर्तन हुँदा राशिहरुमा हुने दशाहरु पनि परिवर्तन हुँदै जानेछ ।

हामी मानिस दुईवटा ठूला शक्तिकोबीचमा छौं । पहिला ब्रह्माण्डीय शक्ति जसमा ग्रह राशि तथा नक्षत्रहरुको प्रभाव नित्यरुपमा परिरहेको हुन्छ, अर्को जमिनबाट आउने भूचुम्बकीय तरङ्ग । यी दुईवटा शक्तिकोबीचमा रहेर हामीले दैनिक संङ्घर्स गरिरहेका हुन्छौं ।

कसैलाई थोरै मेहनत गरे पनि राम्रो परिणाम प्राप्त भइरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा खेरिपनि सोचेअनुसार भइरहेको हुँदैन । यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबै जना सुखी तथा आनन्द तरिकाले जीवन बिताउनु पर्थो।

मानिस सुखी या दुःखित यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ । आफूले कस्तो कर्म गरिएको छ त्यसको फल समयअनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनि शास्त्रमा शनिका बारेमा लेखिएका थुप्रै ग्रन्थहरु छन् जसमा शनिलाई न्याधीशका रुपमा व्याख्या गरिएको छ ।

शनिको रुप कालो छ, न्यायाधीशको उपाधिका कारणले कहिले पनि शनिले मानिसलाई धोका दिँदैन त्यहि भएर पनि हरेक न्यायालयमा कालो कोट र तराजु राखिएको हो, न्यायको लागि । शनिले राम्रो तथा नराम्रो कामको परिणम तुरुन्तै दिने हुनाले मानिसले शनिको बारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुःख कष्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ ।

नवग्रहमध्ये सबैभन्दा ढिला हिँड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ । त्यही भएर शनि ग्रहको दशा लामो समयसम्म चलिरहन्छ ।  यदि अढैया तथा साढेसाति शनिको दशा चलेका राशिहरुमा पनि शनिग्रह जन्मलग्न कुण्डलीमा स्नगृही, मित्रगृहि, उच्च राशि र ३,६,११ स्थानमा शनि भएकाहरुलाई भने शनिले राम्रो फल दिने छ । यस्ता व्यक्तिहरुका लागि शनिदेबले शुभ प्रधान गर्ने छन् ।

शनि खराब अवस्थामा रहेका हरुलाई शनिको दशामा झुट्टा आरोप लाग्ने आलस्य तथा मानसिक चिन्ता बढ्ने, काममा ढिलासुस्ती, चोटपटकको योग, सन्तिच धनको नाश गराउने जस्ता नकरात्मक फल साढेसाती तथा अढैया दशा भएको बेला प्रभाव पर्ने छ ।

अनिष्ट फलबाट बच्नका लागि देवीको पूजा स्त्रीहरुको सम्मान शनिको दान पिपलमा जल चढाउने शनिस्तोस्त्रको पाठगराउने  या गर्ने जस्ता उपाए अपनाएमा केहि अशुभ फल कम हुने ज्यातिषीहरुले जानकारी गराएका छन् ।

(लेखक सुरेश चन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् । उनलाई ९८५१०६११२४ मा सम्पर्क गर्न सकिन्छ ।)

प्रतिकृया दिनुहोस्