Friday, October 23

नक्कली सुनको झोला फालेर फरार भएका अन्सारी पक्राउ

August 13, 2020 129

काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनको झोला फालेर भागेका भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । साउन १३ गते स्कोर्पियो गाडीबाट सुन र पेस्तोल भएको झोला छाडेर अन्सारी फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साले बाराको निजगढबाट पक्राउ गरेको हो । उक्त झोलाबाट प्रहरीले साढे १४ किलो नक्कली सुन, आधा किलो सक्कली सुन र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी समेत उनैको हो । उनी जाली नोटको कारोबारी समेत रहेको प्रहरीले जनाएको छ । बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी २०६८ असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए । घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ । युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए ।

प्रतिकृया दिनुहोस्