बुधबार ०८ बैशाख २०७८

संयुक्त राज्य अमेरिकामा नेपाली भाषाले पनि अध्यापन हुने विषयका रूपमा मान्यता पाएको छ । त्यहाँको वासिङटन राज्यमा नेपाली भाषालाई औपचारिक रूपमा अध्ययन अध्यापनका लागि स्वीकार गरिएको छ । यसमा मोहन गुरुङ अर्थात् मोहनवीर गुरुङको ठूलो योगदान छ । प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म नेपाली भाषाको अध्ययनलाई त्यहाँको राज्य सरकार र शैक्षिक संस्थाले अंक (क्रेडिट) दिनु नेपालीका लागि सुखद उपलब्धि पनि हो । नेपाली भाषालाई कुनै ठाउँमा तीन र प्रायः चार क्रेडिट दिइने व्यवस्था मिलाइएको छ ।

मोहन गुरुङको योगदान
संयुक्त राज्य अमेरिकामा नेपाली भाषाले पनि अध्यापन हुने विषयका रूपमा मान्यता पाएको छ । त्यहाँको वासिङटन राज्यमा नेपाली भाषालाई औपचारिक रूपमा अध्ययन अध्यापनका लागि स्वीकार गरिएको छ । यसमा मोहन गुरुङ अर्थात् मोहनवीर गुरुङको ठूलो योगदान छ ।

प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म नेपाली भाषाको अध्ययनलाई त्यहाँको राज्य सरकार र शैक्षिक संस्थाले अंक (क्रेडिट) दिनु नेपालीका लागि सुखद उपलब्धि पनि हो । नेपाली भाषालाई कुनै ठाउँमा तीन र प्रायः चार क्रेडिट दिइने व्यवस्था मिलाइएको छ । त्यसका लागि वासिङटन राज्यको एसिया प्रशान्त मामला हेर्ने आयुक्त (कमिसनर) मोहनको विशेष भूमिका रहेको छ । अमेरिकामा शैक्षिक संस्थामा अंग्रेजी विषयपछि दोस्रो भाषा पढ्ने प्रचलन हुन्छ । त्यस्तो विषय शैक्षिक संस्थाअनुसार व्यवस्था गरिएको हुन्छ । स्प्यानिश, जर्मन, फ्रेन्च, कोरियाली, हिन्दी जस्ता विश्वका विभिन्न भाषा ठाउँ र आवश्यकताअनुसार पढ्न पाउने व्यवस्था गरिएको हुन्छ ।

विक्रम संवत् २०१२ सालमा गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा उनको जन्म भएको थियो । स्याङ्जाबजारको रात्रि पाठशालाबाट पढाइ सुरु गरे । उनी सम्झन्छन्, ‘नाम रात्रि पाठशाला भए पनि हाम्रो पालामा बिहान पढाइ हुन्थ्यो ।’ उनले २०३० सालमा हाइस्कुलको पढाइ पूरा गरे । मोहनका पिताजी पनि शिक्षित हुनुहुन्थ्यो । त्यसको प्रभाव उनमा पर्‍यो ।

मोहनका पिताजी सर्वसिंह गुरुङ नाम चलेका वैद्य हुनुहुन्थ्यो । उहाँको चर्चा १०, १५ गाविसभन्दा परसम्म पनि फैलिएको थियो । स्याङ्जामात्र होइन, पर्वत जिल्लासम्म पिता सर्वसिंहको ख्याति थियो । चारपाँच दिनसम्म हिँडेर बुवालाई लिन आउने गरेको उनी स्मरण गर्छन् । वैद्य आइपुगे अब बाँचिने भयो भनेर बिरामीहरूमा उत्साहको आशा सञ्चार हुने गथ्र्यो । पितासँग भएको आयुर्वेदको त्यस्तो ज्ञान कसैले पनि नसिकेकोमा उनी पछुतो मान्छन् । यद्यपि त्यसको सामान्य ज्ञान केही हदमा उनीसँग छ ।

सानैदेखि गीत र कविता भनेपछि उनी भुतुक्कै हुन्थे । त्यसको प्रभाव अहिले पनि उनीमा भेटिन्छ । उनी भाषा र भाव दुवै भएका रचना उत्कृष्ट ठान्छन् । उनी आफ्नो मान्यता यसरी पोख्छन्, ‘समाजलाई प्रेरणा दिन सक्ने सिर्जना उत्कृष्ट रचना ठहर्छ । त्यसबाट समाजमा सकारात्मक सन्देश जानुपर्छ ।’ उनी आदिकवि भानुभक्त आचार्यको भर्जन्म घाँसतिर मन् दिई धन् केही कमायो….., भूपी शेरचनको ‘अल्झेछ क्यारे पछ्यौरी’…. र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’बाट निकै प्रभावित भएको बताउँछन् । उनी गुनगुनाउन थाले-
कुन् मन्दिरमा जान्छौ यात्री
कुन मन्दिर जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो
मोहनका कृतिहरू पत्रपत्रिका खासगरी अनलाइन पत्रिकामा अधिक प्रकाशित भएका छन् । उनी आफू कवितामै रमाउँछन् । मोहनको कविताको एउटा पंक्ति –
भाषा फरक भेषभूषा फरक
बस्तु एउटै, जलेपछि अस्तु सबै एउटै
सेतो, कालो, अग्लो, होचो, आकृति फरक
जन्मेपछि मर्नैपर्ने प्राकृतिक नियम एउटै
हाल अमेरिकाका विभिन्न संघसंस्थामार्फत नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न उनी सक्रिय छन् । समाजसेवामा पनि उनी उत्तिकै संलग्न छन् । उनको अमेरिका यात्रा रमाइलो प्रसंग छ । २०३० सालमा एसएलसी सकेपछि उनी विज्ञान विषय पढ्न अमृत साइन्स कलेजमा आईएस्सीमा भर्ना हुन्छन् । २०३३ सालमा आईएस्सी पूरा गरेपछि उनी २०३४ सालमा स्वास्थ्य सहायक पदमा वीर अस्पतालमा जागिरे जीवन सुरु गर्छन् । १३ वर्ष उनले त्यहाँ सेवा गर्छन् । २०५० सालमा उनी अमेरिकातिर लाग्छन् । अवसरको खोजीमा अमेरिका गएको उनी खुलासा गर्छन् ।

पिताजीकै पालादेखि उनलाई चिकित्सक बन्ने रहर थियो । त्यो नेपालमा पूरा नभएपछि उनी नर्सिङ पढ्न उनी अमेरिकातिर हानिए । त्यसअघि उनीसँग राष्ट्रिय खेलकुद परिषद्मा स्वास्थ्य क्षेत्र र पिसकोरमा पनि काम गरेको अनुभव थियो । त्यहाँ पुग्दा सामुदायिक कलेजको अध्ययनपछि अंग्रेजी भाषा र नर्सिङका लागि आधारभूत कोर्स पूरा गरे ।

अठार महिना लामो स्वास्थ्य सहायकको अध्ययन सकेपछि उनका लागि केही सहज जीवन सुरु भयो । अमेरिकामा काम गर्ने अनुमतिपत्र (लाइसेन्स) लिएपछि नेपालमै छोडेका परिवार र सन्तान पनि उतै लगे । उनका एक छोरा र एक छोरी छन् । आफू सामाजिक काममा लागे पनि छोराछोरी दुवैले गरेको प्रगतिमा उनी खुसी छन् । उनी भन्छन्, ‘छोरा विशाल प्रोभिडेन्स हस्पिटलमा प्रोजेक्ट म्यानेजर छन् भने छोरी पनि नर्सिङ पेसामा आबद्ध छिन् ।’ सियाटलमै रहेको फ्रेड हचिकन्स क्यान्सर रिसर्च सेन्टरमा काम गरेपछि उनी आफैंले उद्योग गर्नुपर्छ भनेर विचार बदले । २०५७ सालमा ग्याँस स्टेसन (पेट्रोल पम्प) खोले । समय आफूले सोचेजस्तो हुँदो रहेनछ, सबै बाढीले बगायो । त्यसपछि उनले रेस्टुराँ व्यापारमा हात हाले । २०६१ सालमा उनले ‘दि एभरेस्ट किचन’ सुरु गरे । त्यहाँ नेपाली र भारतीय खानाको सेवा दिन्छन्, उनी ।

व्यवसायसँगै समाजसेवामा खटिएका मोहन वासिङटन राज्यमा नेपाली भाषाले मान्यता पाएकोमा विनम्र हुँदै यसको श्रेय नेपाली भाषी र यसका शुभेच्छुक सबैलाई दिन चाहन्छन् । आफूले गरेको मेहनतले सफलता पाएकोमा खुसी त हुन्छन् नै तर यसका लागि कसैले उनको प्रशंसा गर्‍यो भने असहज महसुस गर्छन् । यो सफलतामा उनी वासिङटनका गभर्नर जे इन्सली र उडिया मूल (भारतको उडिसा राज्यका बासिन्दा) का अमेरिकी नागरिक देवदत्त दासप्रति आभार प्रकट गर्छन् । मोहनभन्दा पहिला वासिङटन राज्यका आयुक्त उनै देवदास थिए । मोहनले नेपाली समुदायमा गरेको योगदान उनले विचार गरिरहेका रहेछन् । देवदास ‘प्लानेट गुरु’ पत्रिकाका संवाददाता पनि हुन् । मोहनको अन्तर्वार्ता उक्त पत्रिकामा प्रकाशित भयो । त्यो अन्तर्वार्ताले मोहनलाई सियाटलको समाजमा चिनाउन ठूलो सहयोग गर्‍यो ।

नेपाली समुदायमा सक्रिय समाजसेवी मोहनलाई देवदासले सन् २००९ मा ‘इकोनोमिक डेभलपमेन्ट कमिटी’को सदस्य बनाए । सन् १९९६ मै मोहनले नेपाल–सियाटल सोसाइटी गठन गरे । यद्यपि औपचारिक रूपमा उनकै अध्यक्षतामा सन् १९९९ मा दर्ता भयो । सन् २०१४ मा उनी वासिङटन राज्यकै आयुक्त बन्न पुगे । त्यसको अवधि तीन वर्षको हुन्छ ।

उनी इकोनोमिक डेभलपमेन्ट सोसाइटीको सदस्य भएका बेला एउटा कार्यक्रम जाँदा वासिङटन राज्यमा एसियाली भाषाको सूचीमा नेपाली भाषा नपरेको देखेपछि उनी दुःखित हुन्छन् । त्यहाँ ‘एसियन कल्चरल एन्ड रेफरल’मा ‘वासिङटन राज्यमा ३६ वटा भाषाभाषी बस्छौं र बोल्छौं’ लेखिएको थियो । त्यहाँ नेपालसँगै श्रीलंका, बंगलादेश र म्यान्मारको नाम पनि थिएन । उनले तत्काल प्रमुख आयुक्त उनै उडियाभाषी देवसँग कुरा गर्छन् र त्यहाँ नेपाली भाषा पनि थप्न लगाउँछन् ।

त्यहाँका सिनेटरले सियाटलमा नेपाली भाषी कति छन् भनेर जिज्ञासा राख्छन् । ‘यहाँ नेपाली भाषी १० हजार बसोवास गर्छन्’, मोहन भन्छन् । भुटानी मूलका नेपाली भाषी अमेरिकी ६ हजार र नेपालका तीन हजारभन्दा बढी भएको उनी स्पष्ट पार्छन् । त्यही संख्यालाई आधार मानेर वासिङटन राज्यको संसद्मा विधेयक पेस भई बहस हुन्छ र अन्त्यमा सन् २०१५ मा पारित हुन्छ । त्यो क्षण सम्झँदै उनी पुलकित हुन्छन् । विधेयक पास हुँदा देव पनि निकै उत्साहित भएको उनी स्मरण गर्छन् । देवको सहयोग र साथ नभएको भए सायदै यो सम्भव हुने थियो । उनी कृतज्ञ बन्छन् ।

नेपाली भाषाले मान्यता त पायो । त्यसका लागि थुप्रै काम गर्न बाँकी छन् भन्ने उनलाई लाग्छ । कानुनी रूपमा मान्यता पाएर मात्रै नहुने उनको बुझाइ छ । यसका लागि नेपालीभाषी विद्यार्थीको व्यवस्थाप गर्नुपर्छ । नेपाली भाषा पनि पढ्नुपर्छ भन्ने भावना सञ्चार गराउन त्यत्तिकै आवश्यक छ । हाल सियाटलमा ४० जना विद्यार्थीले नेपाली पढ्ने गरेको उनी बताउँछन् । बिदाका बेला वार्षिक आठ हप्ता आइतबार दुई घण्टा उनीहरूलाई नेपाली पढाइन्छ । टेक्ससबाट डा. नन्दु रेग्मी र रेशम घर्ती, फ्लोरिडाबाट डा. विजय कट्टेलले यसमा निकै उत्साह देखाएको र साथ मिलेको उनी सुनाउँछन् ।

नेपाली भाषालाई यो स्तरमा पुर्‍याउनुपर्छ भन्ने प्रेरणा कहाँबाट आयो भन्ने प्रश्नको जवाफ दिँदै उनी भन्छन् – भाषा जोगायो भने आफ्नो परिचय जोगिन्छ । परिचय जोगियो भने संस्कार र संस्कृति पनि जोगिन्छ । यसै विचारले आफूलाई उत्साहित बनाएको उनी खुलासा गर्छन् । उनको विचारमा ‘भाषा भनेको बोलचालको माध्यममात्र होइन, यो त संस्कार र संस्कृतिको संवाहक पनि हो’ ।

अहिलेको घुमन्ते युगमा भाषा जोगाउन सके पहिचान जोगिने उनी स्पष्ट पार्छन् । यो अभियानलाई सफल पार्न विदेशमा रहेका नेपालीभाषी एकजुट भएर काम गर्नुपर्छ । यसका लागि संघीय सरकार, राज्य सरकारसँग मिलेर आफूले पनि केही समय दिनुपर्नेमा उनी जोड दिन्छन् । विद्यार्थीका लागि पाठ्यक्रम र पुस्तक तयार गर्नुपर्ने पनि उत्तिकै आवश्यक छ । वासिङटन राज्यको उदाहरणबाट अरू राज्यमा पनि नेपाली भाषा अध्ययन गराउने बाटो खुलेको उनी स्पष्ट पार्छन् । यो उपलब्धिलाई सफल र प्रभावकारी बनाउन नेपाली भाषी, यसका विद्वान्, भाषाविद्लगायत सबैसँग उनी आग्रह गर्छन् ।

annapurnapost

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया