मंगलबार १४ मंसिर २०७८

जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, हेटौंडा उपमहानगरपालिका-५ का वडाअध्यक्ष राजेश बानियाँले भने आफ्नो पारिश्रमिक मतदाताकै लागि खर्च गर्ने गरेका छन् । चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ३ वर्ष पुग्दा उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा खर्च गरेका छन् ।‘मासिक २८ हजार ७१० रुपैयाँ मेरो खातामा जम्मा हुन्छ, त्यो पैसा मैले सामाजिक काममै खर्च गरेको छु,’ उनले बुधबार वडा कार्यालयमा स्थानीय दुई विद्यालयलाई फागुन महिनाको पारिश्रमिक बाँड्दै भने । उनले मंगलबाट उपमहानगरले खातामा जम्मा गरिदिएको पारिश्रमिकमध्ये हेटौंडा-५ मा रहेको बालज्योती माबिलाई २० र लक्ष्मी आधारभूत विद्यालयलाई ८ हजार ६१० रुपैयाँ विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

वार्षिकरुपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपूयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माबिको ३ कोठे भवन निर्माणको लागि दिएको उनले बताए ।

विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि१५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको उनले बताए ।

बानियाँको सहयोगमा निर्माण भएको कक्षामा डान्स, म्युजिक र आर्टको कक्षा सञ्चालन हुने गरेको व्द्यिालयका प्रधानाध्यापक भरत अर्यालले बताए ।

अध्यक्ष बानियाँले स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ मार्फत सञ्चालन हुने गरी एम्बुलेन्स खरिदमा पनि सहयोग गरेका छन् ।

उनले एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको बताए । सामाजिक काममा खर्चेको रकम पारिश्रमिकबाहेर व्यक्तिगत पनि भएको उनको भनाइ छ ।

विद्यालयको शैक्षिकस्तर सुधारका लागि व्यक्तिगत तथा संस्थागतरुपमा वडाको भूमिका महत्वपूर्ण रहेको बालज्योतिका प्रधानाध्यापक अर्यालले बताए ।

सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक अवस्था सुदृढ नभएका जेहेन्दार विद्यार्थीको लागि खर्चने गरी आएको रकमले शिक्षाको विकासका लागि सहयोग पुग्ने उनले बताए ।

यस्तै विद्यार्थी संख्या कम भएको कारण मर्ज गर्नुपर्ने अवस्थामा रहेको विद्यायको विकास र त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिकस्तर सुधारमा सहयोग हुँदै आएको लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक रामहरी मैनालीले बताए ।

सरकारी मोटरसाइकल पनि लिएनन्

हेटौँडा उपमहानगरले वडाअध्यक्षका लागि मोटरसाइकल बाँडेको थियो । काममा सहजता र छिटो हुने तर्कसहित उपमहानगरले मोटरसाइकल बाँडे पनि अध्यक्ष बानियाँले लिएनन् । निर्वाचनपछि कार्यभार सम्हाल्ने क्रममा उपमहानगरले हेटौंडाका १९ वटै वडाअध्यक्षका लागि दिएको ‘बजाज डिस्कभर’ आफूले नलिएको उनले बताए । ‘जनताले निर्वाचित गराएका हुन्, मतको कदर गर्दै अघि बढेको छु,’ उनले भने ।अध्यक्ष बानियाँ हेटौंडाका व्यवसायी पनि हुन्

nepal24khabar

१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया