बिहिबार १६ मंसिर २०७८

काठमाडौँ- काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा सोमबार भएको हत्यापछि आरोपितले मृतकसँग भएको पैसा र सुनका गहना लिएर लिएर भाग्न खोजेको दाबी प्रहरीले गरेको छ।

प्रहरीका अनुसार सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्यापछि उनको साथमा रहेको सुन र पैसा आफूले लिएर बोरामा र शव राखेर व्यवस्थापन गर्न खोजेका थिए। तर, सन्तोषले गाडी व्यवस्थापन गर्ने प्रयास गरिरहेका बेला घर आइपुगेका उनका भाई तेजले बोराभित्र शव देखेपछि सोमबार साँझ प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे जानकारी दिँदै काठमाडौँ प्रहरी प्रमुख अशोक सिंह।
प्रहरीले सन्तोषलाई मंगलबार साँझ पक्राउ गरेको थियो। उनको साथबाट श्रीमतीले लगाएका सुन र ११ हजार रुपैयाँ नगद बरामद भएको छ। प्रहरीका अनुसार जोरपाटीस्थित माइतीमा बस्दै आएकी सन्तोषी सोमबार बिहान सहकारीको किस्ता तिर्न २३ हजार रुपैयाँ लिएर गएकी थिइन्।

प्रहरीले त्यस दिन बिहान ८ बजे सन्तोषीको हत्या गरेको तर शव व्यवस्थापन गर्न गाडी खोज्दा साँझसम्म भएको प्रारम्भिक बयान सन्तोषले दिएको जनाएको छ। प्रहरीका अनुसार उनले ट्याक्सी चालकहरुलाई कीर्तिपुरमा सामान पुर्‍याउनु छ भन्दै सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सन्तोषीको टाउकोमा हम्मरले हानेको र लुलो भएकाले घाँटी पनि भाँचिएको हुन सक्ने प्रहरीको भनाइ छ। शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ।

लकडाउन सुरु भएयता सन्तोषी १० वर्षीय छोरासहित माइतीमै बस्दै आएकी थिइन्।

उनले श्रीमानसँग पटकपटक डिभोर्स मागेपनि सन्तोषले अस्वीकार गर्दै आएका थिए। लकडाउन सुरु भएपछि केही समय सन्तोष पनि आफ्नो घरमा बसेको मृतक सन्तोषीका माइती पक्षले बताएका छन्। केही साताअघि बौद्ध प्रहरी वृत्तमा यी दुईबीचको विवादबारे छलफल पनि भएको थियो।

हेटौँडा स्थायी घर भएका सन्तोष र रामेछाप स्थायी घर भएकी सन्तोषीबीच ११ वर्षअघि प्रेम विवाह भएको थियो। त्यतिबेला सन्तोष जोरपाटी बस्थे भने नजिकै सन्तोषी परिवारसहित आफ्नै घरमा बस्दै आएकी थिइन्। सन्तोषी परिवारका दुई सन्तान(छोरी)मध्ये जेठी हुन्। सन्तोष पछि लागु औषधका दुर्व्यसनी भएका थिए।

लागु औषधसहित समातिएपछि उनी एक वर्ष जेलसमेत बसेका थिए। पछिल्लो समय उनले मादक पदार्थ र लागु औषध दुवै सेवन गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया