शुक्रबार ०७ माघ २०७८

काठमाडौं । एमालेका महासचिव ईश्‍वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरता पुर्वक लिएको बताएका छन् । बुधबारबाट राजधानीमा सुरु वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला बारे प्रतिक्रिया दिंदै पोखरेलले यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन निर्देशन दिएका थिए । त्यो निर्देशन विपरीत वरिष्ठ नेताद्वय नेपाल र खनाल समूहले आयोजना गरेको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिव पोखरेलले त्यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको बताए । उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने पनि बताए । पार्टी अध्यक्ष ओलीले धुमबाराहीमा नेताहरूलाई बोलाएर सोमबार भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्‍न अनुरोध गरेका थिए ।

ओलीले त्यो वार्तामा चियापानमा सहभागी हुन गरेको आग्रह गरेका थिए । त्यो आग्रह पनि नमानेर नेताहरूले राम्रो नगरेको पोखरेलको भनाइ छ । उनले भने, “अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुत पनि भेला भएको छ । आज र भोली आयोजना भएको यो कार्यक्रम बारे गम्भीरताका साथमा नोट गरिन्छ ।”

news18nepal

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया