बिहिबार १६ मंसिर २०७८

गमता विकको आँखामा अहिले त्राश पटक्कै छैन । त्राश त त्यतिबेलै हराउन थालेको हो, जतिबेला महिनावारी हुँदा पहिलोपटक उनले अदुवा, पिँडालु र खुर्सानीको बोट छोइन् ।

यसरी छुँदा घरका गाईभैंसी ढलेनन्, देउता रिसाएनन् । सन्तानहरू बिमार परेनन् । अदुवा, पिँडालु र खुर्सानी कुहिएनन् ।

त्यतिमै उनको कदम रोकिएन । दोस्रो मासको महिनावारीमा घरको दैलोनिर आइन् । छाउगोठ वा मकैघारीमा सुत्न छाडेर ढोकाबाहिर ओछ्यान लगाइन् । आफूले ओढिरहेको सिरक अचानक तलतिर तानियो । मनभरि हुरी चल्यो, ‘देउता रिसाउँछ भन्थे । साँच्चै रिसाएकी क्या हो !’

होइन, बाहिरको हुरीले पल्टाएको रै‘छ ।

त्यो महिनाभर उनी डराइन् । तर अरूले भनेजस्तो न उनी बौलाउनु पर्‍यो, न त देउता नै रिसाए । बरु बल्न थाल्यो उनीभित्र चेतनाको झिल्को ।

अर्को मासको महिनावारीमा घरैभित्र पसिन् । त्यसपछि उनी बस्ने छाउघरको ढोका सदाका लागि बन्द भयो ।

०००

२५ वर्षअघिको कथा गमता विक आज निर्धक्क सुनाइरहेकी छन् । अछामे लबज मिसिएका उनका आवाज उत्साहले भरिएका छन् । दैलेखको सात्तलामा विद्रोह र संघर्षले भरिएका कथा गमता सुनाउँदै जान्छिन् ।

उनी बुझ्ने हुँदा छोरीहरु मिल्काइन्थे महिनैपिच्छे गोठहरूमा । आमाहरु दास बराबर थिए । आफ्नै आँखाले देखेकी थिइन् छाउगोठमा आमाहरूले ज्यान गुमाएको, बच्चाहरू नजन्मिँदै मर्नुपरेको ।

‘महिनावारी भएको बेला भारी ठूला-ठूला बोक्दाहम्, धेरै काम गर्दाहम्, छाउगोठमा थला पर्दाहम्,’ गमता ती अत्याशलाग्दा समयतर्फ फर्कन्छिन् ।

१८ वर्षको हुँदा गमता एकदिन खुब डराइन् । सालको बुटा काट्न जाँदा पहिलोपटक महिनावारी भएको थाहा भयो उनलाई ।

‘ला म त छुइ भएछु,’ रुन्चे अनुहार लगाएर उनी टोलाउन थालिन् । घरमा जाऊँ धुरी हेर्नुहुन्नथ्यो । न घामले देख्ने ठाउँमै उभिनुहुन्थ्यो । घर नजिक मकैबारी थियो । उनी त्यतै गइन् लुक्न ।

घरमा गमता ‘छुइ’ भएको थाहा भयो । घरभन्दा एक किलोमिटर पर गाईगोरु बाँध्ने ठाउँ थियो । उनलाई त्यहीँ पठाइयो । ‘९ दिनसम्म कसैको मुख हेर्न पाउन्थेन । समस्या कसलाई भन्ने थाहै नही,’ गमता सुनाउँछिन् ।

त्यो अवधिभर उनले भान्छाको खाना खान पाइनन् । बासी रोटी, कि त ढिके नुन र हरियो खुर्सानी पिसेर सातुसँग खानुपर्ने बाध्यता थियो । दोस्रोपटक महिनावारी हुँदा उनले ७ दिन गोठमा बिताइन् । महिनावारीको बेला यो परम्परा अनिवार्य थियो ।

उनको विहे माइती गाउँनजिकै भयो । विहे पछिको महिनावारी त झन् कस्टकर ।

‘घर साँघुरो । छाउपडीका लागि ठाउँ नही । बर्खा होस् वा जाडो, प्लास्टिक ओडेर मकै बारीमा दिन कटाउनुपर्थ्यो,’ उनी सुनाउँछिन् ।

एक रात अहिले पनि उनको आँखामा नाचिरहन्छ । गमता मकैबारीमा सुतिरहेकी थिइन् । मध्यरातमा अचानक नजिकैबाट डरलाग्दो आवाज आयो । उनको निधार पसिनाले चिट्चिट् भयो ।

‘मैले त्यो बेला एउटा बदमासी गरें । घरको दलानमा गएर सुटुक्क बसें । घरका मान्छेले देख्ने हो कि भन्ने डर थियो । रातभर निद्रा परेन । बिहानै उठेर मकैघारी पुगें,’ उनी सम्झिन्छिन् ।

०५३ मा उनको पहिलो छोरा जन्मियो । छोरा जन्मेपछि उनी सासु ससुराबाट छुट्टिएर बसिन् । गमतालाई के थाहा ? सुत्केरी हुँदा आराम चाहिन्छ भनेर ।

‘बच्चा जन्मेको तीन दिनमा डोको समाएर बारीमा घाँस काट्न लाइगयाँ । ढिकी कुट्न लाइगयाँ, जाँतो पिस्न लाइगयाँ,’ उनी सुनाउँछिन् ।

२०५५ मा छोरी जन्मेको साल उनी नराम्ररी बिरामी परिन् ।

‘फागुनमा छोरी जन्मिइन् । चैतमा मलको ठूलो भारी बोकें । मल बोकेकै कारण बर्खाभरि ६ महिनासम्म बिरामी परेँ । धन्नैले मरिनँ,’ गमता सम्झिन्छिन् ।

०००

०५६ सालताका । भारतबाट जागिर गरेर आएका श्रीमान्‌ले घरमा पहिलोपटक रेडियो ल्याए । रेडियो पाएर गमता मख्ख परिन् । रेडियोमा सचेतनामूलक कार्यक्रम बज्थे । त्यहीँबाट पहिलो पटक परिवार नियोजनबारे गमताले थाहा पाइन् । त्यसपछि श्रीमान्‌सँग यसबारे कुरा गरिन् ।

‘धेरै बच्चा जन्माएर के गर्ने । बच्चाहरू नांगै हुन्छन् । धेरै जन्माएर स्याहार गर्न सकिन्न । परिवार नियोजन गरौं,’ श्रीमान्‌लाई भनिन् । श्रीमान् बुझ्झकी थिए । गमताको कुरा सजिलै माने । र श्रीमानले परिवार नियोजन गरे ।

रेडियो सुन्दै जाँदा महिनावारी बार्ने र छाउ अन्धविश्वास हुन् कि भन्ने भान पर्दै गयो गमतामा । एकदिन घाँस काट्दै गर्दा सोचिन्, ‘कुनै विरुवाको फूल नफूली फल लाग्दैन । महिलाको रजश्वला नभए त सृष्टि चल्दै चल्दैन ।’

‘तर देवी–देवता पो रिसाउने हुन् कि ?’ उनमा त्यसको डर थियो । त्यहीबेला छिमेकी जिल्ला अछाममा छाउगोठमै बसेकी एक जना साथीको सर्पले टोकेर मृत्यु भएपछि उनी पीडाले भरिइन् । त्यसपछि डर भत्काउन आफैंबाट अभ्यास सुरु गरिन् ।

‘फलानीको त महिनावारी रोकिएछ,’ दुई-चार महिना बितेपछि गाउँभरि कानेखुसी हुन थाल्यो, ‘फलानी छाउ बार्दिनँ । त्यसलाई देउता चढ्यो ।’

एकदिन एकजना साथीले शंका गरिन्, ‘तिमीलाई कि देउता लाग्यो ? नत्र तिम्रो उमेर त भएको छैन रोकिने । कि औषधि खान्छौं ?’

गमताले मुख खोलिन्, ‘म औषधि खान्नँ । मलाई देवीदेवता पनि केही लागेको छैन । तर, म अब छाउ बार्दिनँ ।’

साथी नमज्जाले तर्सिन् । उनको निम्ति यो सोच्नसम्म पनि नसकिने कुरा थियो । तर, रोकिइनन् गमता । बुझाउनतर्फ लागिन् ।

‘म यतिको समयदेखि बसेको छु । पहिला त आफैं डराउँथे- गाई भैंसी ब्याउन्न, ढल्छन् कि भनेर । बच्चाबच्चीको राम्रो हुन्न कि भनेर । तर नराम्रो हुन्न रै‘छ केही । यसले त हामीलाई कमजोर बनाउँछ । दुःख दिन्छ ।’

अब त के चाहियो ?

बुद्धिजीवि भनिनेहरूको नजरमा- गमता बौलाइन्, सकिइन् । घृणाको पात्र बनिन् । समाजबाट बहिष्किृत भइन् ।

‘५ वर्षसम्म सासु-ससुराले मेरोे घरको भैंसीको दुध खाएनन् । आफ्नो घरको मोही पनि दिएनन्,’ उनी सम्झिन्छिन् ।

तर डराइनन् उनी । बरु डटिरहिन् । समाजको कुरीति भत्काउनु थियो । अन्धविश्वासको जग उखेल्नु थियो । छाउगोठ भत्काउनु थियो । आफैंलाई कन्भिन्स गरिन्, ‘अब मैले नै छाउपडीविरुद्ध लाग्नुपर्छ । महिलाहरूलाई एक बनाउनुपर्छ ।’

०००

हरेक दिन महिला साथी भेट्नु, उनीहरूलाई छाउपडीविरुद्ध कन्भिन्स गराउनु उनको दिनचर्या बनेको थियो । विस्तारै यो काम सहज बन्दै गयो ।

उनले २० जना महिलालाई बुझ्ने बनाइन् । र आमा समूह खोलिन् । जिल्ला सदरमुकाममा आफ्ना पाइलाहरू बढाइन् । समूह दर्ता गरिन् । त्यसपछि त उनी एक थिइनन्, एकको ठाउँमा २० थिए ।

‘यसलाई नबौल्याइ भएन । नत्र महिलाहरू सतर्क आउँदैन । महिलाहरू बिगाडीहाली,’ उनलाई गालीगलौज आए ।

यसैबीच, एउटा गैरसरकारी संस्था छिर्यो गाउँमा, जसले छुवाछुत र महिनावारीविरुद्ध काम गरिरहेको थियो । संस्थाले गमतासँग सहकार्य गर्‍यो । यही बीचमा गमताले अक्षर छिचोल्न पनि सिकिन् । छोराछोरी सुताएर साँझ दियालो बालेर उनी अक्षर खुट्याउँथिन् । पछि प्रौढ शिक्षाले उनलाई थप सहयोग गर्‍यो ।

‘अहिले म चिठ्ठी पढ्न सक्छु, फर्काउन सक्ने भएको छु,’ उनी भन्छिन् ।

यही क्रममा उनी धेरै कार्यक्रमहरूमा हिँड्न थालिन् । त्यसले उनीभित्रको चेतनामा निखार ल्याउँदै गयो । आफूले सिकेको कुरा गाउँका दिदी बहिनीलाई सिकाउँदै लगिन् ।

थोरै पैसा भइहाल्यो भने पनि जनचेतानमूलक कार्यक्रम गरिहाल्थिन् । कार्यक्रम गर्दाको एउटा घटना उनी सधैं सम्झिरहन्छिन् ।

‘नारी दिवस मनाउँदा दुई–चार जना पुरुष कार्यक्रमस्थलमा आएर हप्कीदप्की गर्न थाले । सहन नसकेपछि हामीले ती पुरुषहरूलाई बाँधिदियौं । राजनीतिक दलका मान्छे बोलायौं । महिलाहरू जुत्ताका माला बनाउन तयार भए । उनीहरूलाई दिएको सजायले गाउँका अरु पुरुष पनि तर्सन पुगे,’ उनी सुनाउँछिन् ।

०६० सालतिर गाउँमा बाटो खन्ने परियोजना आएको थियो । उनी ६० जना महिलालाई लिएर बाटो खन्ने काममा गइन् । त्यसले महिलाहरूको आत्मनिर्भर झनै बढायो ।

विस्तारै गाउँका महिलाहरू आत्मविश्वासी र निर्भर हुन थाले । ‘अहिले धेरै महिलाहरू सक्षम हुनुहुन्छ । यसमा म धेरै खुसी छु,’ उनी खुसीभावमा भन्छिन् ।

०००

उनले एकदिन निर्णय गरिन्- परम्पराविरुद्धको कठोर निर्णय । छाउगोठ भत्काएर चर्पी बनाउने । उनी बस्ने ठाउँ साविकको वडा नम्बर ५ थियो । त्यहाँ छाउगोठ भत्काउनु सजिलो थिएन ।

तर, गमताले कानुन बुझिसकेकी थिइन् । ‘कानुनले साथ दिने भएपछि हामी भत्काउन तम्सियौं,’ उनी सुनाउँछिन् ।

त्यसपछि प्रहरी प्रशासनको साथ लिएर उनले छाउगोठ भत्काउने अभियान चलाइन् । त्यो भत्काउनु एउटा गोठ मात्र भत्काउनु थिएन, सिंगो अन्धविश्वासको जग उखेल्नु थियो ।

०६२/०६३ मा गमता एउटा भ्रमणमा गइन् । भ्रमणबाट आउने क्रममा उनले सिकेकी थिइन्– बाटा सफा गर्ने र ट्वाइलेट बनाउने काम । आएलगत्तै गमताले गाउँका दिदीबहिनी भेला पारिन् । सरसफाइ र चर्पी अभियानको योजना अघि सारिन् ।

‘त्यतिबेला मलाई ट्वाइलेट सफा गर्नेको अध्यक्ष भनेर गाउँमा गिज्याए,’ उनी सम्झिन्छिन् ।

भन्नेहरू भनिरहन्थे । उनी कामले देखाइरहन्थिन् ।

ट्वाइलेट बनाउन महिला सशक्तीकरण मञ्चले सिड दियो । उनले अब आफ्नो वडालाई दिसामुक्त घोषणा गर्ने नयाँ पहल सुरु गरिन् । राजनीतिक दलको बैठक बस्यो । उनीहरूले अनुगमन गर्न खोजे । उनको कामले त गाउँमा उथलपुथल नै भएको थियो । जबकि राजनीतिक दलका मान्छेले ती काम गर्न सकेका थिएनन् ।

गाउँमा सुत्केरी गराउँदा अस्पताल जानुपर्छ भन्ने थाहा थिएन । उनले ०६४ सालमा सुरुवातमा ३/४ जना गर्भवती महिलालाई अस्पताल लगेर सुत्केरी गराइन् । अस्पताल लगेर सुत्केरी गराउँदा पैसा पाइन्छ भन्ने कुरा पनि बुझाइन् । ‘त्यसबेला स्ट्रचेर थिएन । हिँडेर जाने आउने गर्नुपर्दथ्यो । त्यसमा पनि हैरानी खेप्नुपर्‍यो मैले कतिलाई तानेरै पनि लग्नुपर्ने थियो,’ उनी सम्झन्छिन् ।

०००

गमता २०७४ सालको चुनावमा आठविस नगरपालिकाको उपमेरको उमेदवार थिइन् । राजनीतिक रुपमा नेकपा एमाले पार्टीमा आवद्ध थिइन् उनी ।

गाउँ र वडा हुँदै जिल्लासम्म प्रभाव छाडेकी गमताले उम्मेदवारको टिकट पाउनु नौलो थिएन । तर, खर्च गर्ने ल्याकत कहाँ हुनु उनीसँग ! ‘चुनाव लड्न त पैसा चाहिने रहेछ । मैले खर्च गर्न सकिनँ । ५२ भोटले हारें,’ उनको अनुहार मलिन हुन्छ । कार्यक्रमका लागि बाख्रा बेचेर बजार जानुपर्ने स्थितिमा चुनावमा कहाँबाट ल्याउँथिन् र पैसा ?

आफूले चुनाव हारे पनि उनी दुःखी छैनन् ।

‘मेरा साथमा सयौं दिदीबहिनीहरू छन् अहिले । उनीहरूले मलाई साथ दिएका छन् । उनीहरूको निम्ति काम गर्‍या छु,’ उनी गर्विलो सुनिन्छिन् ।

चुनाव हार्नुको अर्को कारण थियो- विभेद । विभेदै विभेदको साङ्लोले बेरिएको समाजमा उनले भोग्नुपर्ने अर्को विभेद थियो- जात । यही जातका कारण चुनावमा आफूले हार्नु परेको उनको बुझाइ छ ।

अभियानकै क्रममा पनि उनले कयौंपटक यस्ता विभेद भोगेकी छन् । एकपल्ट त जातकै कारण वास पाइनन् उनले ।

‘२०५९ सालको कुरा हो, त्यतिबेला सडक बनेको थिएन । रावकोट भन्ने गाउँमाँ भारी जंगल छ । कार्यक्रम सकेर घर जाँदै थिएँ । जंगल काट्नुअघि रात परिहाल्यो । वास पाउँछु कि भन्ने कत्ति आश थियो । धेरैलाई गुहारें, तर बाहुन जातिको गाउँमा दलित भएकै कारण मैले बास पाइनँ,’ उनले सुनाइन् ।

त्यतिबेला जंगलै जंगल कुदेर एउटा वृद्धवृद्धाको  छाप्रोमा उनले रात कटाउनुपरेको थियो ।

यस्ता कयौं विभेद उनी अहिले पनि सम्झिन्छिन् । त्यसैले आफ्नो लडाइ महिलासँगै दलित विभेदविरुद्धको पनि ठान्छिन् गमता । बजेट छुट्याउने बेलामा पनि यो कुरामा उनको बढी चासो हुन्छ ।

‘मेरो पहलमा दलित भवन बनाउन लगाएँ, महिला भवन बनाउन लगाएँ, मिल बनाउन लगाएँ,’ उनी सुनाउँछिन् ।

०००

गमता अझै महिलाहरूको पक्षमा लडिरहेकी छन्, हिँडिरहेकी छन्, बोलिरहेकी छन् । हिँड्ने क्रममा यो पटक उनी सुर्खेतको विरेन्द्रनगर पुगेकी थिइन् । वीरेन्द्रनगरको बुलबुले ताल आसपास गमता आफ्नो कथा भनिरहेकी थिइन् ।

तर, उनको कथा अझै सकिएको छैन । र संघर्ष पनि ।

‘अझै धेरै ठाउँमा छाउपडी छ । त्यसलाई दिदीबहिनीले भत्काउनुपर्छ । सर्पले टोकेर अझै आमाहरू मरिरहेका छन् । त्यसैले म ढुक्क भ‘की छैन,’ हावामा छरिएका उनका शब्दले केहीबेर सन्नाटा छाउँछ ।

र सन्नाटा चिर्दै गमता पुनः भन्छिन्- अब त्यो दिन ल्याउनुपर्छ, दलितहरू मान्छेको हैसियतमा बाँच्न सक्ने गरी । छोरीहरू मान्छेको हैसियतमा बाँच्न सक्ने गरी । नत्र हाम्रो हिँडाइ व्यर्थ हुनेछ ।’

१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया