आइतबार ३१ आश्विन २०७८

काठमाडौँ – तपाईँले हिम्मत नहार्नेले संसार जित्छन् भन्ने त सुन्नुभएकै होला । एउटा व्यक्ति सफल हुनका लागि उसको हिम्मत र आत्मविश्वासको जति भूमिका सायदै अरू केहीको होला। मानिसले जीवनमा आउने जस्तोसुकै दुःखलाई पनि दरिलो आत्मविश्वास र हिम्मतले पार लगाउन सक्छ। तर त्यही अवस्थामा यी गुणहरूको कमी भयो भने हामी झन् कमजोर बन्न पुग्छौँ । आजको यो उत्प्रेरणात्मक कथा ती सबै आफूलाई दुखी ठान्ने पाठकहरूका लागि समर्पित प्रेरणादायी कथा हो।

आजभन्दा करिब १९ वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका सोलुखुम्बुका बिरमान राईले गएको ५ वर्षपछि एउटा नराम्रो दुर्घटना भोग्नु पर्‍यो। प्लास्टिकका सामान बनाउने मेसिनमा भुल बस हात परेपछि उनले एउटा हात गुमाए। त्यसपछि पनि देश फर्किन पैसा नहुँदा त्यही एउटा हातले उनले अर्को ५ वर्ष मलेसियामा बिताए।

१० बर्से मलेसिया बसाई सकेर नेपाल फर्किएका उनलाई फेरि यहाँ केही काम गर्नु थियो। बजारको सहजताका कारण उनले काठमाडौँमै काम गर्ने निर्णय गर्दै ६० वटा बङुर ल्याइ पालन सुरु गरे

बढ्दो सहरीकरण र बस्तीका कारण उनले त्यो कामलाई निरन्तरता दिन सकेनन् । त्यहाँका स्थानीयले फोहोर र दुर्गन्ध बढेको भन्दै त्यो काम नगर्न भनेपछि उनले बङुर पालन बन्द गर्नुपर्ने भयो।

त्यो काम बन्द भएपछि उनले लोकल कुखुरा र टर्की पालन सुरु गरे। यी प्रजातिहरू बेच्दै गर्दा ग्राहकहरूको माग पूरा गर्नका लागि बट्टाई, कडकनाथ, हाँस आदि पनि पाल्न थाले।

हाल व्यवस्थित संरचना सहितको उनको फार्ममा विभिन्न थरिका कुखुराका प्रजाति र टर्की गरेर २२०० वटा जति पंक्षिपालन भइरहेको छ।

पंक्षिपालनका अलावा उनले करिब ७ रोपनी क्षेत्रफलमा तरकारी खेती पनि गरेका छन् । उनकोमा अनेक थरिका तरकारीका प्रजातिहरू पाइन्छन्।

विदेशमा काम गर्दाको उनको अनुभव साह्रै कारुणिक छ। कम तलबको समस्याको साथै, विदेशी मजदुरलाई गरिने घृणा देखि अमानवीय व्यवहारको समेत सिकार उनी भएका छन् ।

त्यो विदेशको दुःख सम्झिदा आजपनी उनको जिउ सिरिङ्ग हुन्छ । विदेशको काम र आफ्नो देशमा आफैले गर्ने काममा आकाश पातालको फरक रहेको बताउँछन् ।

 

अन्य थुप्रै विकल्प हुँदाहुँदै पनि कृषि नै किन रोज्नुभयो भन्ने हाम्रो प्रश्नमा उनको जवाफ मर्मस्पर्शी छ। हात गुमाएर आइसकेपछि मागेर खानुपर्छ भन्ने सम्मका सुझाव उनले पाए। तर दृढ इच्छाशक्ति भएका राईलाई व्यवसायी बन्नबाट यस्ता नकारात्मक कुराहरूले रोक्न सकेनन् ।

शारीरिक अशक्तता भएका धेरैका लागि उनी प्रेरणाको स्रोत हुन् । त्यस्तै यी अपाङ्ग हुन् , यिनले केही गर्न सक्दैनन् भन्ने सोच राख्नेहरूका लागि पनि उनले एउटा गतिलो झापड दिएका छन् ।

उनले सिजनमा नभ्याउँदा कहिलेकाहीँ दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई काममा लगाउँछन् भने अरू समयमा उनकै परिवारले यो पेसा धानिरहेको छ। आफ्नो परिवारको साथकै कारण आज आफू सफल भएको उनको भनाइ छ।

आज मासिक न्यूनतम करिब ७० हजार रुपैयाँ आम्दानी उनले सजिलै गर्छन्। यति आम्दानी उनको विदेशी भूमिमा पसिना बगाउँदा कहिल्यै हुँदैनथ्यो।

तरकारी लगाएको ठाउँमा उनले भुइँसाग लगाएका छन् । फुड प्रोडक्सनको सिद्धान्तलाई कपि गर्दै उनले यो उपाय निकालेका हुन् । त्यसो गर्दा बाहिरी झार नआउनुको साथै आम्दानी समेत बढी हुने गरेको छ।

राइको फार्ममा उत्पादित सामानहरू बजार पुर्‍याउन उनलाई कुनै समस्या छैन। सुरुवाती दिनमा बिचौलियाले खाइदिने गरेको भए पनि हाल भने सङ्कलक र उपभोक्ता आफैँ आएर लग्ने गरेको हुँदा बजारको समस्या छैन।

अर्ग्यानिक उत्पादनमा केन्द्रित उनलाई सुरुवातमा युट्युब र काम गरिरहेका अरू किसानले काम सिकाइदिएका हुन् । उनले जैविक नियन्त्रणका लागि बिषादिको प्रयोग नगरी छुट्टै विधि अपनाएर काम गर्ने गरेका छन् ।

काठमाडौँको बजारलाई बुझ्दै जाँदा उनले सिस्नो समेत खेती गर्नुपरेको बताउँछन् । माग बढेपछि काम नलाग्ने, डाँडा पाखामा त्यसै खेर जाने सिस्नोले समेत उनलाई अर्थोपार्जनमा सहयोग गरिरहेको छ।

कृषि क्षेत्रमा लाग्नेहरूलाई अहिले चुनौती भन्दा बढी अवसर रहेको उनको भनाइ छ। विदेश गएकाहरूले पनि त्यहाँको दुःख देखिसकेकाले यतै कृषिमा काम गरेर रमाउन उनी आग्रह गर्छन् ।

नेपाल सरकारले प्रदान गर्दै आएको विभिन्न अनुदान मध्य उनी पनि यो वर्षको अनुदान कार्यक्रममा छनोट भएका छन् । त्यस्तै नगरपालिकाले पनि उनलाई टनेलको प्लास्टिक दिएको छ। उनी सरकारले झोलामा फार्म बोकेर कागज मिलाउनेलाई कारबाही गर्दै वास्तविक किसानलाई सहुलियत दिनुपर्ने धारणा राख्छन् ।

जन्मिँदै व्यक्तिले केही काम जानेको नहुने भन्दै उनी अवसर नदेखेका आम नेपाली युवाहरूलाई सीप सिक्दै, दृढ इच्छाशक्ति लिएर देशमै काम गरौँ भन्ने सन्देश दिन चाहन्छन् ।

कठिन स्थितिलाई पार गर्दै शारीरिक समस्याको समेत प्रवाह नगरी काम गर्दै यति ठुलो सफलता हात पारेका बिरमान राईलाई मात्र एजुकेसनको सलाम।

३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया