Monday, November 30

मलामी खोज्दै, प्रहरी दाहसंस्कार गरेपछि कोरोना संक्रमण पुष्टि

August 10, 2020 75

ध नुषामा आइतवार मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकाका ती व्यक्ति बिरामी भएपछि उपचारका लागि जनकपुर ल्याउने क्रममा साउन २५ गते बाटोमै मृत्यु भएको थियो ।

मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले पुष्टि गरे । ‘मृत्युपछि स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको छ,’ सीडीओ भट्टराईले भने, ‘मृतकको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम समेत शुरू गरिएको छ ।’

मृतकको स्वाब दिएपछि आफन्त र गाउँलेले दाहसंस्कार गरेका थिए । ‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा प्रहरीले मलामीको खोजी गरिरहेको छ । मृतकको सम्पर्कमा आएका व्यक्तिको समेत छिट्टै स्वाब संकलन गरेर परीक्षण गरिने उनले बताए ।

मृतक जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा सुरक्षा गार्डमा कार्यरत थिए । मृतकका छोराले बताए अनुसार ५ दिनअघि उनी बिदामा गाउँको घर ललिया आएका थिए । ‘झाडापखाला लागेको थियो । श्वास फेर्न समस्या भए पछि मोटरसाइकलमा राखेर उपचारका लागि जनकपुर आउने क्रममा रेल्वे स्टेसन नजिक पुग्दा नै मृत्यु भयो,’ उनले भने, ‘मृत्यु भए पनि बुवाले काम गर्ने अस्पताल लगेका थियौं । त्यहाँका चिकित्सकले ब्लड प्रेसर नाप्दा बाटोमा नै मृत्यु भइसकेको पुष्टि गरेका थिए ।’

मृत्युपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकले स्वाब संकलन गरेर दाहसंस्कारका लागि घर पठाएका थिए । ‘भोलि रिजल्ट आउँछ, अब तपाईं आफ्नो बुवाको दाहसंस्कार गर्न सक्नुहुन्छ भनेर प्राविधिकले भन्नुभयो,’ मृतकका छोराले भने, ‘त्यसपछि हिजो आइतवार नै जनकपुरको स्वर्गद्वारीमा लगेर दाहसंस्कार गरेका थियौं ।’

दाहसंस्कार गर्न ८ जना मात्रै गएका भए पनि शवलाई छुनेदेखि अन्य काम भने ३ जनाले मात्र गरेको र बाँकी टाढा नै रहेका उनले बताए । ‘दाहसंस्कारपछि हामी आफ्नो घर परिवारका सबै सदस्यहरू आफ्नो घरमा छुट्टै क्वारेन्टीनमा बसेका छौं,’ उनले भने, ‘जतिसक्दो हामीहरूको पनि स्वाब परीक्षण गराइयोस् ।’ मृतकमा पहिलेदेखि कुनै पनि स्वास्थ्य समस्या नभएको उनले बताए ।

Source lokantar.com

प्रतिकृया दिनुहोस्