शनिबार ०४ बैशाख २०७८

बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ मा’ओवादी वि’द्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन ।मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छ । गरिब घर परिवार पहिचान बोर्डको २०७२ सालको प्रतिबेदनले ७१.१ प्रतिशत बाजुरावासीलाई गरिबको कोटीमा राखेको छ । तीनवटै प्रतिवेदनलेे बाजुरालाई नेपालको सबभन्दा गरिब जिल्ला भनेका छन् ।

बाजुरा भित्रको स्वामिकार्तिक खापर गाउँपालिका सबभन्दा गरिब स्थानीय तह हो । गरिब घर परिवार पहिचान बोर्डको प्रतिवेदनले यो गाउँपालिकाको ७५ प्रतिशत जनसंख्यालाई गरिबिको रेखामुुनि देखाएको छ ।मुुक्तिकोट गाउँ सधैं खाद्य संकटमा छ । यही फागुनको दोस्रो साता यो सम्वाददाता मुुक्तिकोट पुग्दा यहाँका चार सय दलित परिवारमा दैनिक छाक टार्न धौ-धौ परेको देखियो । गाउँमा न कुनै रोजगारी छ न त उत्पादन ।‘यो साल भोकमरीबाट ज्यान जोगाउन बडा मुस्किल पर्ने भयो’ बलबहादुर विकले भने, ‘खडेरीले गर्दा अन्नवालीको विउ उमि्रनै सकेन, अलिअलि उर्मिएको पनि सुुकिसके ।’

उनका अनुसार, सिंगो गाउँमा कुल चारजना सरकारी जागिरे- एकजना नेपाल प्रहरीको जवान, एक जना नेपाली सेनाको जवान र दुुई जना खरदार तहको प्राविधिक कर्मचारी छन् । सानो भए पनि नियमित आयश्रोत भएका यी चार परिवारबाहेक अधिकांस मुक्तिकोटवासी भोकमरीमा रहेको बलबहादुर विक बताउँछन् ।छाक जुटाउन भारत पसेका गाउँका युवाले को’रोना कारणले काम पाउन सकेका छैनन् उनले भने, यता गाउँमा एक छाक खाएर बाँच्न परेको अवस्था छ ।

मुक्तिकोट डाँडोमा बसेको पुरानो दलित बस्ति हो । यो डाँडोमा खेतीयोग्य जमिन पनि निकै कम छ, त्यसमाथि प्रायः सालैपिच्छे खडेरी पर्न थालेको छ । खडेरी नपरे पनि गाउँको उब्जनीले एकाध महिना मात्र धान्ने औजनी बिकले बताइन् ।भारतमा कमाएर होस् कि साहुुको ऋण काढेर, खाने त चामल किनेरै हो, तर यो साल को’रोना आएर उता पनि राम्ररी काम पाएका छैनन्’, उनले भनिन्, ‘मेरै श्रीमान पनि भारतमा काम नपाएर खाली हात यताउता गरिरहनुभएको छ ।’

मुुक्तिकोटमा खाद्य संकट र कुुपोषणको अध्ययन गरेको गैर-सरकारी संस्था ‘फियान नेपाल’का कार्यकारी निर्देशक अशोक सिंह यो गाउँका ९५ प्रतिशत बासिन्दा चरम खाद्य संकट र कुुपोषणमा रहेको बताउँछन् । शरीरलाई पुग्दो खान नपाएर खासगरी गर्भवती र बालबालिका कुपोषणको च’पेटामा परेको र बाल मृ’त्युदर उच्च भएको उनले बताए । जनक र रेली विकले चार सन्तानलाई चार वर्ष कटाउन सकेनन् । अहिले काखमा रहेका पाँचौँ सन्तानलाई पनि कुुपोषणले च्यापेको छ । आमाको दूध आउँदैन, ऋनपान गरेर पाउडर दूधले बचाइरहेका दुई महिनाका विकासको अवस्था नाजुक छ ।

‘फियान नेपाल’का कार्यकारी निर्देशक सिंहका अनुसार, मुक्तिकोटमा अहिले ३० भन्दा बढी बालबालिका कुपोषण ग्रस्त छन् । गत एक वर्षमा कुुपोषण लगायत समस्याबाट ६ जना बालबालिकाको मृ’त्यु भइसकेको छ । कुपोषणबाट एक वर्षका छोरा गु’माएकी लुडि विक भन्छिन्, ‘आफैंले भात खान नपाएपछि दूध आएन, दूधै चुसाउन नपाएर बच्चा गु’माएँ । लुडिका छिमेकी बलबहादुर विक गाउँमा धेरैजसो आमा आफैं कुुपोषित रहेको बताउँछन् । कहालीलाग्दो अवस्था भए पनि सरकारले ध्यान नदिएको बताउँदै उनले भने, ‘उपचार त टाढाको कुरा, कोही कुुपोषण जाँच्न समेत आएका छैनन् ।

मुुक्तिकोटका ३२ वर्ष पुगेका अधिकांश आमाले ७ वटासम्म सन्तान जन्माएका छन् । जनसरा विक त ३२ वर्ष पुग्दा १२ पटक गर्भवती भइन् । अहिले उनका आठ छोराछोरी छन् । जन्मान्तर एकदमै कम छ । जनसराकी छिमेकी २८ वषर्ीया बिजुु विकले सात बच्चा जन्माइन् । उनले भने ६ महिना पुगेकी एक छोरी गु’माइन् । ३० वर्षीया रोशनी विकले पनि सात छोरा-छोरीमध्ये दुई महिना पुगेकी एक छोरी मात्र गु’माइन् । बिजु र रोशनी कम शो’क परेका आमामा गनिन्छन् । यो गाउँमा परिवार नियोजन सम्बन्धी जानकारी पुगेको छैन । भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मी त के, स्वास्थ्य सन्देश समेत मुक्तिकोट पुग्दैन । धेरै बच्चा पाएका महिलाहरुको स्वास्थ्य अवस्था एकदमै कमजोर छ । पाठेघर खस्ने लगायतका समस्या भए पनि उपचार पाएका छैनन् ।

मुक्तिकोट नजिकै रहेको रघुमाता माविका प्रधानाध्यापक प्रकाश बम अधिकांश विद्यार्थी कक्षा ८ मा पुग्दा नपुग्दै विवाह गरेर भारततिर लाग्ने गरेको बताउँछन् । त्यही मुक्तिकोटकी १८ वर्षीया शोभा विक भने १० कक्षासम्मै पुगिन् ।तर, योभन्दा माथि पढ्न बाहिर पठाउने पैसा हुँदैन भन्दै बुबाआमाले बिहे गरिदिनुभयो’, पाँच महिनाकी गर्भवती उनले भनिन्, ‘मेरा सबै साथीको बिहे भइसकेको छ । धेरैजसोले बच्चा पाइसके ।’गाउँका बलबहादुर विकका अनुसार, गएको एक वर्षमा ३० जोडीको वालविवाह भयो । ‘हाम्रो गाउँमा २० वर्ष पुुग्दा बिहे नगरेको मान्छे भेटिँदैन’, उनी भन्छन् ‘केटाहरु बिहे गरेर कमाउन भारत जाने ध्याउन्नमा हुन्छन् ।

news21nepal

४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया