सोमबार ०६ बैशाख २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओली समूहसँगको वार्तामा भएका विषय बारे आफ्ना कार्यकर्तालाई जानकारी गराएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो अध्यक्ष ओली पक्षसँग वार्ता गरेपछि नयाँ बानेश्वरमा नेता नेपाल पक्षले आफ्ना समूहका कार्यकर्तासँग बैठक गरेको थियो ।

बैठकमा धुम्बाराही वार्तामा भएका कुरा बारे कार्यकर्तालाई जानकारी दिइएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल पक्ष र ओलीपक्षबीच संवाद भएको थिएन ।

तर, सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले र नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रलाई एकीकरणपूर्वको अवस्थामा पुर्‍याएपछि सोमबार पहिलो पटक ओली र नेपाल समूहका नेताबीच वार्ता भएको हो ।

वार्ता गम्भीरतापूर्वक भए पनि परिणाम भने मीठो निस्कन नसकेको नेता रघुजी पन्तले बताए । उनले वार्तामा आफूहरूका तर्फबाट राखिएको अडान र ओली पक्षबाट आएका कुरा बारे साथीलाई जानकारी गराएको बताए ।

नेता पन्तले प्रधानमन्त्रीले आह्वान गरेको चियापानमा सहभागी हुने नहुने बारे केही नबताए पनि ४ र ५ चैतको राष्ट्रियकर्ता भेला भने आयोजना हुने जानकारी दिए ।

news18nepal

६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया