शनिबार १८ मंसिर २०७८

अहिलेका उम्दा गायक प्रकाश सपुत गत महिनाभर व्यस्त रहेहनुभयो । फागुनको साङ्गीतिक यात्रालाई शनिबार अछाम महोत्सवमा समाप्त गरे । यो बीचमा उनी पोखरा, झापा, सिन्धुली, पर्वतलगायतका ठाउँ पुगे ।

शनिबार बर्दिवास महोत्सवमा प्रस्तुति दिएका गायक दुर्गेश थापाका लागि पनि फागुन महिना औसत रह्यो । पछिल्लो महिना १५ भन्दाबढी मञ्चीय कार्यक्रममा थापाले प्रस्तुति दिए । सपुत र थापाझैँ अन्य गायक÷कलाकार पनि कोरोनापूर्वको दैनिकीमा विस्तारै फर्कँदैछन् । लय समात्दैछन् ।

“खुशी लागेको छ, एक वर्षपछि फेरि दैनिकी पुरानै लयमा फर्किन थालेको आभास भएको छ”, सपुतले भने, “पहिलेझैँ व्यस्त तालिका नभए पनि फागुन लागेयता फाट्टफुट्ट हुन थालेका मेला/महोत्सवले केही राहत दिलाएको छ ।”

अपेक्षा गरेभन्दा छिट्टै आफू मञ्चमा फर्केको अनुभूति भइरहेको सपुतले सुनाए । गायन, सिर्जना र अभिनय कलामा समेत पोख्त सपुतले मञ्चीय कार्यक्रम आफ्नो पहिलो रोजाइमा पर्ने गरेको बताए ।

“मञ्चीय कार्यक्रममा प्रत्यक्षरूपमा दर्शकसँग साक्षात्कार हुन्छ, भिन्दै खाले ऊर्जा मिल्छ”, उनले भने, “अभिनयलगायत अन्य विधाका काममा लागिरहँदा पनि मेरो ध्यान बढी मञ्चीय कार्यक्रमतिर हुन्छ ।”

अहिले मेलामहोत्सवमा पुग्दा, दर्शकको सहभागिता देख्दा कोरोना अझै छ र? भन्नेजस्तो भान मिल्ने गरेको सपुतले सुनाए ।

बन्दाबन्दी र यात्रा प्रतिबन्धका कारण देशविदेशका साङ्गीतिक कार्यक्रम रद्द भएपछि कलाकार मा र मा परेका थिए । सपुत स्वयंले महिनौँसम्म घरमै थुनिएर अत्यासलाग्दा दिन बिताउनुपरेको थियो ।

“अष्ट्रेलिया, जापानलगायत छ देशमा हुने साङ्गीतिक कार्यक्रममा जान भिसासमेत निश्चित भइसकेको थियो, कोरोनाका कारण सबै कार्यक्रम रद्द भए”, सपुतले भने, “विदेशमा त अझै पनि कार्यक्रम हुन सकेका छैनन्, कतै बन्दाबन्दी छ, कलाकारका लागि प्रवेशाज्ञा पनि खुलेको छैन ।”

 

३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया