ताप्लेजुङ | साउन २३, ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाई सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेरिङ्देन गाउँपालिका ५ थुकिमाका ६२ वर्षिय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाई पेम्बा शेर्पा र भतिजी पाशाङ ल्हामु शेर्पालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई प्रहरीले शुक्रवार सार्वजनिक गर्यो ।
आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या आशंकामा साउन १९ गते उनिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा आफुहरुले नै हत्या गरेको स्वीकार गरे पछि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरि ज्यान सम्बन्धि कसुर मुद्धामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
यसरी भएको थियो हत्या ।
सोधपुछका क्रममा गोठमा मृतक संग वादविवाद हुँदा पाशाङ ल्हामु शेर्पा समेतको सहयोगमा दाउराको चिरपटले टाउकोमा प्रहार गरि हत्या गरेको र अगेना माथी राखि ओछ्याउन प्रयोग हुने म्याट्रिस, राडी, ओढ्ने कम्बल साथै दाउराले समेत छोपेर आगो लगाई दिएको पक्राउ परेका भाई पेम्बाले बताएको प्रहरीले जनाएको छ ।
फुर्वा गत साउन १२ गते घरदेखि करिब ६ घण्टा पैदल दुरीमा पर्ने आफ्नै गोठमा मृत अवस्थामा फेला परेका थिए । गोठमा एक्लै बस्दै आएका फुर्वा साउन ६ गते घरमा आई ८ गते खाद्यान्न लगायतका सामान लिएर गोठ फर्किएका थिए । यस्तै साउन १२ गते थप खाद्यान्न लगायतका सामान लिएर छिमेकि सहित गोठमा पुगेकि बुहारीले मृत अवस्थामा भेटे पछि फोन मार्फत घर परिवारमा खवर भएको थियो ।
दाजुको हत्या स्वीकार गर्ने भाई र भतिजीको गोठ समेत मृतकको गोठ भन्दा १ घण्टा पैदल दुरीमा पर्ने वरपरको क्षेत्रमा रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दुई वर्ष अघि देखिनै सामान्य विषयमा उनिहरुबीच बादविवाद चल्दै आएको पाईएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
Source Radio tamor
प्रतिकृया दिनुहोस्