Wednesday, October 21

नेपाल कम्युनिस्ट पार्टीभित्र एकता महाधिवेशनको बहस प्रारम्भ

July 22, 2020 143

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र एकता महाधिवेशनको बहस प्रारम्भ भएको छ। नेकपाका कार्यकारी अध्यक्ष र सचिवालयका सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि त्यसलाई पन्छाउन महाधिवेशनको प्रस्ताव आएपछि बहस सुरु भएको हो।

शनिबार बसेको सचिवालय बैठकमा नेतृत्व परिवर्तन गर्ने भए चाँडै महाधिवेशन गरौं, मंसिरमै महाधिवेशन गरेर पार्टीको नेतृत्व टुंग्याऔं भन्ने अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका थिए। सो प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले समेत समर्थन गरेका छन्।

आइतबार दाहालनिवास खुमलटारमा भेला भएका वरिष्ठ नेता माधवकुमार नेपालले मंसिरमा महाधिवेशन सम्भव नभए पनि प्रस्ताव आएपछि विचार, नीति र कार्यनीतिको बहस गर्नुपर्ने बताएका थिए। उनले महाधिवेशन गर्ने हो भने जनताको बहुदलीय जनवादको औचित्य समाप्त नभएको र अबका दिनमा झन् उपयोगी भएकाले त्यसबारे पनि बहस खुला गरौं भन्ने प्रस्ताव गरेका थिए। त्यसपछि झस्केका दाहालले सोमबार आफूनिकट नेताहरूलाई निवासमा बोलाएर वैचारिक रूपमा पूर्वएमालेहरू एकैठाउँ उभिन सक्ने भएकाले आफूहरू पनि वैचारिक रूपमा एकैठाउँ उभिनुपर्ने भन्दै स्थायी कमिटीका सदस्यसँग सुझाव मागेका थिए।

वरिष्ठ नेता नेपालले सचिवालय बैठकमै मंसिरमा एकता महधिवेशन गर्न नसकिने जिकिर गरेका थिए। उनले कोरोना संक्रमण कायमै रहेको, चाडपर्व नजिकिएको तथा जिल्ला अधिवेशन सम्पन्न नभएका कारण यथास्थितिमा महाधिवेशन गर्न नसकिने बताएका थिए। पार्टीको संरचनामा सदस्यता विवरण अहिलेसम्म तयार नभएकाले महाधिवेशन गर्न सम्भव नभएको तर्क अघि सारेका नेपाललाई झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठले साथ दिएका थिए। तर सचिवालयका अन्य सदस्यले भने ओलीकै प्रस्तावको समर्थन गरेका थिए।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिरमै एकता महाधिवेशन हुनेबारेमा आशंका व्यक्त गरेका छन्। मंगलबार स्थायी कमिटीको बैठकअघि सामाजिक सञ्जालमार्फत श्रेष्ठले महाधिवेशन प्राविधिक र नेतृत्व हस्तान्तरणको मात्र विषय नभएको बताएका छन्। ‘हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा सुरु भएको छ। यो राम्रो र खुसीको कुरा हो,’ उनले भनेका छन्, ‘किनकी पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पूरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नैपर्छ। तर महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउनु हुँदैन।’

उनले वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठानिक कार्यभारसमेत पूरा गर्नेगरी महाधिवेशनको तयारी गर्नुपर्ने बताएका छन्। यसो गर्दा आगामी मंसिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव नभएको पनि प्रवक्ता श्रेष्ठले बताए। महाधिवेशनको सन्दर्भमा हतपत र ढिलाई दुवै गलत हुने बताउँदै श्रेष्ठले भने, ‘यससम्बन्धी गत केन्द्रीय कमिटीको निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढांै।’

त्यसैगरी, स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेश गर्छौं भन्ने नेताहरू ३ वर्षभित्र महाधिवेशन गरांै भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु उचित हो र भन्दै प्रश्न गरेका छन्। उनी ओली समूहका वैचारिक नेताका रूपमा चिनिएका पोखरेल पनि महाधिवेशन मंसिरमा गर्नुपर्ने र पार्टीभित्र देखिएको विवाद समाधान गर्ने एक मात्र उपाय यही भएको बताउँदै आएका छन्।

विदेश विभागका उपप्रमुख विष्णु रिजालले भने मंसिरमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका छन्। ‘दुई वर्षसम्म केन्द्रीय आयोग र विभागलाई पूर्णता दिन नसक्ने, पार्टी सदस्यताको एकीकृत अभिलेखसम्म बनाउन नसक्ने र आफ्नो आलोचना हुन्छ भनेपछि बैठकै नबोलाउने नेतृत्वले चार महिनामा महाधिवेशन हुन्छ भन्दा अरुले पत्याइदिनुपर्ने ?,’ नेपालनिकट उनले प्रश्न गरेका छन्, ‘अहिले उत्पन्न समस्यालाई हल गरेर केन्द्रीय कमिटीले तोकेकै २०७७ चैत २५–३० को मितिमा महाधिवेशन गर्न कसले रोकेको छ र ?,’

गत माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटीको दोस्रो बैठकले एकता महाधिवेशनको तिथि तय गरेको थियो। केन्द्रीय कमिटी बैठकले चैतको २५ गतेदेखि ३० गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो।

बैठक एक हप्ता स्थगित
गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक मंगलबार थोरै समय बसेर एक हप्ताका लागि स्थगित भएको छ। १८ असारदेखि लगातार स्थगित भएको बैठक बाढी पहिरोको कारण देखाएर असार १३ गते सम्मका लागि स्थगित भएको हो।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली भने उपस्थित नभएपछि कार्यकारी अध्यक्ष दाहालले बाढीपहिरोमा परेका आमनागरिकलाई राहत उद्दार तथा सबै सरकारी संयन्त्र परिचालन गर्न सरकारलाई निर्दैशन दिने प्रस्ताव राखेपछि सोही प्रस्ताव पास गरेर बैठक स्थगित भएको थियो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बाढीपहिरोका कारण आजको बैठक स्थगित भएको बताएका थिए। ‘बाढीपहिरोको राहत तथा उद्धारमा पार्टीका नेता तथा कार्यकर्ता सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने।

बैठकबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठकले देशको आवश्यकताअनुसारको निकास दिने बताए। उनले पार्टीको एकता र देशलाई निकास दिन बैठक सफल हुने बताए। बैठकमा केशव बडाल र पम्फा भुषालले थोरै समय बोलेका थिए। बडालले चितवनको चेपाङ बस्ती भत्काएको र भुषालले खोकनाको फाष्ट ट्र्याकबारे बोलेका थिए। बैठकमा प्रधानमन्त्री ओली थकित मुद्रा रहेको र उहाँलाई आरामको आवश्यकता रहेका कारण दाहालले जानकारी गराएका थिए।

Source Nagariknews

प्रतिकृया दिनुहोस्