आइतबार ०५ बैशाख २०७८

काठमाडौं  – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले नेकपा एमालेको साधारण सदस्यता त्यागेका छन् । वैदेशिक रोजगार क्षेत्रमा पार्टीको बफादार र सधैं नीति, पद्धति र अनुशासनको घेरामा बस्दै आएका उनी नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग व्यवसायी महासंघका सचिवको जिम्मेवारीमा रहेका थिए ।

तामाङ एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको पूर्व अध्यक्ष समेत हुन् । व्यवसायी तामाङले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित संगठित सदस्यतासमेत त्यागेको घोषणा गरेका हुन् ।

उनले शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेखेर पार्टी नेतृत्वमाथि नीति सिद्धान्त बिर्सेको लगायतका दर्जनौं असन्तुष्टि राख्दै सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यतासमेत त्यागेको घोषणा गरेका हुन् ।

राजनीति भनेको समाज परिवर्तनको अस्त्र सम्झेर २०४३ बाट कम्युनिष्ट पार्टीमा लागेको र पार्टीको चुनाव चिन्ह ‘सुर्य’मा भोट हाल्न आमा, बुबा लगायत छिमेकीलाई अनुरोध गर्नेदेखि विद्यालयस्तरमा जनसांस्कृतिक कार्यक्रम तथा सबै बिद्यार्थीलाई अनेरास्ववियुको झण्डामा गोलबन्द हुन अह्वान गरेको विगत स्मरण गर्दै तामाङले नेकपा एमालेको सरकारले घोषणापत्र बमोजिम काम गर्नेछ, सडक, रेलमार्ग, विमानस्थल, विद्युत, स्वास्थ्यमा आमूल परिवर्तन गर्नेछ, रोजगारको पूरा ग्यारेन्टी गर्ने र त्यसले नेपाली सुखी हुने आशा राखेको भएपनि पार्टीको सरकारले त्यसतर्फ काम नगरेको बताएका छन् ।

परिवर्तनको लागि स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको सबै पालिका, काठमाडौंको निर्वाचन क्षेत्र नं ५ र नेकपा एमालेलाई तराईमा निर्वाचन प्रचारप्रसारमा अवरोध गरिएको बेला तराईको सर्लाही, सप्तरी, सिराहा, धनुषाको गाउँ गाउँमा भोट माग्दै एमालेको उम्मेदवारलाई जिताउन इमानदारीपूर्वक भूमिका खेलिएको स्मरण समेत तामाङले सदस्यता त्यागपत्रमा गरेका छन् ।

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएको घोषणा पछि नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उद्योग व्यवसायी महासंघको सचिवबाट घटुवा भई नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको प्रदेश १ को अध्यक्ष बनाइएको भएपनि २०७५ साल जेठ ३ गतेदेखि उद्योग तथा व्यवसायीको जिल्ला कमिटी, प्रदेश कमिटी विभाग गठनको काम ३ वर्षसम्म पूरा नभई एकीकरण भत्किएको टिप्पणी गर्दै तामाङले नेकपा एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको निर्णयको कारण छुट्टिएर २०७५ जेठ २ को अवस्थामा पुग्दा पार्टीको उद्योग तथा वाणिज्य विभागको सदस्य र नेपाल उद्योग तथा वाणिज्य महासंघको सचिवको जिम्मेवारीमा रहेर काम गर्ने सोचेको भएपनि नेकपा एमालेको बैठकले नेताहरुको मनमुटाव सिद्धान्तमा नभई जनताको बहुदलीय जनवादको सिद्धान्त विपरीत व्यक्तिगत रिस सांध्ने साधन बनाएको पाइएको उल्लेख गरेका छन् ।

आफुले करिब ३४ वर्षअघि २०४३ सालमा पाएको प्रशिक्षण अहिले आएर गलत सावित भएको भन्दै तामाङले अबको जीवनको अमूल्य समय गलत बाटोमा लाग्नु भन्दा नेपाल कम्युनिष्ट पार्टी एमालेको उद्योग तथा वाणिज्य विभागको सदस्य, नेकपा एमालेको जन वर्गीय संगठन नेपाल उद्योग व्यवसायी महासंघको सचिवबाट राजिनामा दिनु उचित ठानी नेकपा एमालेको पार्टी सदस्यता त्यागेको बताएका छन् । यसअघि व्यवसायीभित्र कट्टर एमालेको छवि बनाएका संघका पूर्व सदस्य म्याग्दीका प्रभावशाली जिल्लास्तरीय नेता बलभद्र ढकालले पनि पार्टीले कम्युनिष्टको सिद्धान्त त्यागेको भन्दै नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

pathivarapost

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया