सोमबार २७ बैशाख २०७८

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा आफै देशको नेतृत्व गर्ने शक्ति भएकाले कसैको पुच्छर नबन्ने बताएका छन्। जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जाने विषयमा दुई धार देखा परिरहेका बेला भट्टराईको यस्तो भनाई आएको हो ।

उनले ट्वीटरमा लेखेका छन् ‘जसपाबारे जान्नैपर्ने कुरा : १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यककाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो, २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन। ३. यो कसैको पुच्छर हैन, आफैं देशको नेतृत्व गर्ने शक्ति हो।’

सत्ता साझेदारीका लागी प्रमुख तीन दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ खोजिरहेको बेला भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीसंगको भेटमा जसपाका नेता महन्थ ठाकुरलाई ओलीले प्रधानमन्त्री अफर गरेको बेला भट्टराईको भनाई आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

जसपाभित्र भट्टराईसहित उपेन्द्र यादव प्रधानमन्त्री ओलीको सरकारमा जान नसकिने अडानमा छन् भने ठाकुरसहित राजेन्द्र महतो,राजकिशोर यादव,इस्तियाक राई र अनिल झालगायत नेता रेशम चौधरीको मुद्दा र मधेषका माग पुरा भए प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुपर्ने पक्षमा छन् । जसपामा भट्टराई र यादव अल्पमतमा छन् ।

plakhabar

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया