शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं – नेकपा विभाजन भएको दुई महिनाभित्रै प्रधानमन्त्री केपी ओलीले अर्को संकटको सामना गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।प्रचण्ड र माधवकुमार नेपाललगायतलाई पार्टीमा बस्नै नसक्ने अवस्था बनाइदिएका ओलीले गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्टलगायतका नेता पनि गुमाउने प्रबल सम्भावना देखिएको छ ।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी लडाकु र पूर्वमाओवादीका नेताहरुलाई आफ्नो समूहमा स्पेस दिने तयारी गरिरहेका थिए । तर, उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलगायतका कारण बादल नेतृत्वमा रहेको पूर्वमाओवादी खेमा चिढिएको छ ।स्रोतका अनुसार यदि बादललाई ओलीपछिको वरीयतामा नराखे जुनसुकै बेला विद्रोह हुने सम्भावना रहेको छ । ओलीको कार्यशैलीबाट आजित भए पनि बादल बाहिर केही बोल्ने अवस्थामा छैनन् ।

ओलीले आफूलाई दिएका बचन कुनै पनि पूरा नगरेको बादलको भनाइ छ । ओलीले वामदेव गौतमलाई बोलाएर आफूतिर खुल्न आह्वान गरेपछि बादल तनावमा परेका छन् । तैपनि ओलीविरुद्ध विद्रोह गर्ने हैसियत र ल्याकत भने उनको छैन ।‘ओलीजीले मलाई धेरै कुरामा फसाएका छन्, अब त म न घरको न घाटको हुने अवस्था आयो’ बादलले आफू निकटहरुसँग भन्न थालेका छन् । आफूनिकट सबै केन्द्रीय नेताहरुलाई छाडेर ओली गुटमा समाहित भएका बादल विस्तारै गल्न थालेका छन् ।

खासगरी पार्टी भित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा बादलले ओलीसँग असन्तुष्टि जनाएका छन् । बागमती प्रदेशको पुनर्गठन तथा युवा संघमा देखिएको ओली पक्षको एकलौटीका कारण बादलले अब धेरै समय सहयोग गर्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए ।बादललाई सुरुमा ओलीले आफूपछिको वरियतामा राख्ने वचन दिएका थिए । तर उक्त वचन अहिलेसम्म पूरा भएको छैन । बरु पोखरेलको कार्यकर्ताका रुपमा व्यवहार गर्न थालिएको गुनासो उनको छ ।

त्यसैले पूर्वमाओवादी पक्षका मन्त्रीहरुसँग सामूहिक रुपमै छलफल गरी अगाडि बढ्ने योजनामा बादल रहेको निकट स्रोतको भनाइ छ । ओलीले पार्टी विभाजनपछि पूर्व माओवादी पक्षका बादल, रायमाझी, थापाका साथै, प्रभु साह,लेखराज भट्ट, दावा तामाङ र गौरीशंकर चौधरी रहेका छन् ।

पार्टी विभाजनसँगै ओलीले मौजुदा केन्द्रीय कमिटी विस्तार गरी झण्डै १५ सय पुर्याए । त्यसमा बादलको भागमा केवल २२ जना मात्र परेका छन् । राजनीतिक नियुक्तिका सन्दर्भमा पनि ओलीले बादल पक्षलाई समेट्ने वचन दिएका थिए ।सोही अनुरुप ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरियो । आयोगको अध्यक्ष वा विज्ञ सदस्यहरुमा भागबण्डा मिलाउने वचन ओलीले दिएका थिए । तर गठन गर्दा बादल पक्षका एक दुईजनावाहेक कोही परेका छैनन् ।

यसले पनि बादललाई चिन्ता थपेको छ । व्यक्तिगत रुपमा ओलीसँग बार्गेनिङ गर्दा कमजोर बन्ने देखिएकाले सामूहिक रुपमै जाने मनस्थितिमा रहेका छन् । यस प्रयोजनका लागि उनले मन्त्रीहरु रायमाझी र थापासँग अनौपचारिक छलफल गरेको बुझिएको छ ।

 

१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया