शुक्रबार १० बैशाख २०७८

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ।

शनिबार पेरिस डाँडामा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिएको हो।

सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् ।

यस्तै बैठकले हिजो एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा ‘बादल’ सहितका नेताहरू नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए।

उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए।

उनीहरु पार्टीमा नफर्की केपी ओली नेतृत्वको एमालेतिर लागेका छन् भने एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ । तत्कालीन नेकपामा विवाद हुँदा उनीहरु ओलीतिर लागेका हुन् भने त्यतिबेला ओलीलाई सहयोग गर्दा मणि थापा, प्रभु साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए ।

Sansarko khabar

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया