बुधबार ०९ आषाढ २०७८

काठमाडौं । नेकपा एमाले भित्र अहिले चर्को विवाद बढ्दो छ । यहि बेलामा नेकपा एमालेका नेता भीम रावल आज बिहान सुटुक्क पेरिसडाँडा पुगेका थिए । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेका बेला भीम रावल पेरिसडाँडा पुगेका थिए ।

पुष्प कमल दाहाल ‘प्रचण्ड’ संग करिब २० मिनेट जति वार्ता गरेर नेता रावल फर्किएका थिए । प्रचण्डले हिजो मात्रै एमालेमा विद्रोह गर्न माधव नेपाल समूह फर्केर गएको अभिव्यक्ति दिएका थिए र आज बैठक चलिरहेको बेला भीम रावल पेरिसडाँडा पुग्नुलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

भीम रावलले पेरिसडाँडा पुगेको कुरा मिडियाले सोधे पश्चात स्वीकार्दै भने, “किन मैले पेरिसडाँडा जानु नहुने हो र ? प्रधानमन्त्री ओलीले चाँही जो संग पनि बालुवाटारमा भेट्न हुँदा हामीले पेरिसडाँडा जान नहुने हो र ?”

भीम रावललाई पत्रकारले पेरिसडाँडा जानुको कारण के हो भन्ने प्रश्न गर्दा नेता रावलले बोल्न चाहेनन् । नेता रावलले भने, “म किन गएँ भन्ने कुरा अहिले बोल्न मिल्दैन तर राजनीतिक कारणले नै गएको हो ।”

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकीकरण अझै सम्भव छ भन्ने प्रश्नमा नेता रावलले सकारात्मक जवाफ दिएका छन् । आफूहरु अहिले पनि एकता गरेर एउटै लक्ष्य बोकेर हिड्नु पर्ने धारणा समेत व्यक्त गरेका छन् ।

news18nepal

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया