सोमबार ०६ बैशाख २०७८

काठमाडौं । राजनीतिमा पद ठूलो कुरा होइन, नैतिकता र इमान ठूलो कुरा हो । त्यसमाथि कम्युनिष्ट भन्नासाथ इमान शब्द त्यसै जोडिन्छ । अनैतिक, चरित्रहीन, फटाहा भ्रष्ट व्यक्ति कम्युनिष्ट हुन सक्दैन भन्ने कुरा सारा नेपालीले बुझेको कुरा हो ।

तर, त्यही कम्युनिष्ट आन्दोलनभित्रबाट एक जना यस्ता व्यक्ति जन्मिए, जसले ७० वर्षदेखि नेपाली जनताको चाहनामाथि तातोपानी खन्याए । विगतमा आफूले गरेका सहमति, सम्झौता सबै धुजाधुजा पारे । २०७४ सालको निर्वाचनमा आफू प्रधानमन्त्री बन्नकै लागि माओवादी केन्द्रसँग केपी शर्मा ओलीले गठबन्धन गरेको कुरा अहिले खुल्न थालेको छ ।

त्यतिबेला माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्दा घोषणापत्रमा भनिएको थियो– ‘विगतमा ५० वर्षदेखि विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीच २०७४ असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने ऐतिहासिक घोषणा हामीले गरेका छौं ।

यो घोषणा कार्यान्वयनको पहिलो कदमका रुपमा हामीहरु राष्ट्रव्यापी तालमेल र वाम गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएका छौं । यस कदमसँगै मुलुकभित्र तथा बाहिर तरंग सिर्जना भएको छ । कम्युनिष्टहरुको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका प्रतिक्रियावादीहरु आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले विक्षिप्त भएर कम्युनिष्ट अधिनायकवादको हौवा पिटाउन थालेका छन् । प्रतिक्रियावादीहरुले चलाएको यस्तो भ्रमपूर्ण हल्ला उनीहरुको हतास मनस्थितिको परिचायकभन्दा अरु केही होइन ।’

कम्युनिष्ट पार्टीमा एउटा गलत नेतृत्व जन्मियो भने त्यसले देश कसरी समाप्त पार्छ भन्ने कुराको उदाहरण विश्व कम्युनिष्ट आन्दोलनमा गोर्वाचोभपछि ओली बनेका छन् । ओलीको षड्यन्त्र यत्तिकैमा रोकिनेवाला छैन, किनभने उनी विदेशीको चक्रव्यूहमा फसिसकेका छन् ।

त्यही घोषणापत्रमा उल्लेख गरेका कुरालाई जनताले पत्याए । तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र)का उम्मेदवारलाई दुईतिहाइ मतसहित सत्तामा पुर्याए । जब दुईतिहाइको मतसहित २०७५ जेठ ३ गते प्रधानमन्त्रीका रुपमा दोस्रोपटक केपी शर्मा ओलीको उदय भयो, त्यस दिनदेखि नै उनमा सत्ता उन्माद चढ्न थाल्यो ।

२०७५ जेठ २३ गते माओवादी केन्द्रसँग पार्टी एकता गर्दा गरेको सहमति भुल्न थाले । मुखमा जे आयो त्यही बोल्न थाले । आफूलाई जे मन लाग्छ त्यही गर्न थाले । कम्युनिष्ट आचरण, विचार, विधि, पद्धति सबै भुल्न थाले । यो नै उनको पतनको बाटो थियो । र, पुस ५ गते आफ्नो खाल्डो आफैँ खने ।

अझ निर्वाचन घोषणापत्रमा ‘नेपालका कम्युनिष्ट पार्टीहरु खासगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नेतृत्व नभएको भए न त संविधानसभाको विषय राष्ट्रिय कार्यसूची बन्न सक्थ्यो, न त विभिन्न बाधाअवरोधलाई पन्छाउँदै संविधानसभाबाट समाजवाद उन्मुख संविधान नै घोषणा हुन सक्थ्यो ।

कम्युनिष्टहरुको अथक प्रयत्न र पहल नभएको भए नेपालमा आजका यी अग्रगामी परिवर्तनहरु सम्भव हुने थिएनन् । अब यिनै दुई पार्टीको काँधमा सामाजिक न्यायमा आधारित सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ’ यस्तो पनि भनिएको थियो । यी घोषणापत्रमा उल्लेख कुराहरु प्रधानमन्त्री ओलीले बिर्सिए पनि नेपाली जनताले बिर्सिएका छैनन् ।

कम्युनिष्ट एकता नेपाली जनताको चाहना भए पनि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहना थिएन । यो कुरा प्रधानमन्त्री ओलीले राम्रैसँग बुझेका थिए । तर, उनले कम्युनिष्ट एकता जोगाउन सकेनन् । आफैँले प्रतिक्रियावादीलाई बुझाउने काम गरे ।

नेपालमा कम्युनिष्ट एकता बलियो भएसम्म विदेशी शक्तिले खेल्न सक्दैनन् भनेर उनीहरु जसरी भए पनि यो एकता भत्काउने रणनीतिमा थिए । अन्ततः पुस ५ को कदम नेपाली जनताको हार, प्रतिक्रियावादीहरुको जित थियो । जुन कुरा सर्वोच्च अदालतको फैसलाले उल्ट्याइदियो ।

त्यसपछि पनि कम्युनिष्ट पार्टी एक हुन्छ कि भन्ने डर प्रतिक्रियावादीहरुमा थियो । जसलाई फागुन २३ को सर्वोच्च अदालतको फैसलाले साथ दियो । अब अदालतको फैसलापछि पार्टी एकता विधिवतरुपमा भंग भयो । पूर्व एमाले र पूर्व माओवादी ०७५ जेठ २ गतेको अवस्थामा फर्किए । यो पनि नेपाली जनताको पराजय, प्रतिक्रियावादीहरुको विजय थियो ।

कम्युनिष्ट पार्टीमा एउटा गलत नेतृत्व जन्मियो भने त्यसले देश कसरी समाप्त पार्छ भन्ने कुराको उदाहरण विश्व कम्युनिष्ट आन्दोलनमा गोर्वाचोभपछि ओली बनेका छन् । ओलीको षड्यन्त्र यत्तिकैमा रोकिनेवाला छैन, किनभने उनी विदेशीको चक्रव्यूहमा फसिसकेका छन् । विदेशीकै इशारामा पार्टी फोड्नेदेखि मुलुकलाई भूटान बनाउने यात्रा तय गरेका छन् । यसको रणनीति कतै बन्दैछन् ।

drishtinews

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया