आइतबार ०५ बैशाख २०७८

काठमाडौँ – माओवादी केन्द्र नाम फेर्न अध्यक्ष प्रचण्डसहित अधिकांश नेता सहमत छन्। नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ। बुधबार बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएर सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उधृत गर्दै एक नेताले जनाए।

पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समितिका अधिकांश सदस्यहरु सहमत देखिएका छन्।‘माओवादी केन्द्र नाम परिवर्तन गर्ने सहमति स्थायी समिति बैठकले गरिसकेको छ तर अर्को के नाम राख्ने भन्ने छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठलाई उधृत गर्दै ती नेताले भने, ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको छ।’

एक जना युवा नेताका अनुसार सुरुमा केही युवा केन्द्रीय सदस्यहरुले यो पहल थालेका थिए। स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए। अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो।

‘हाम्रो पार्टी भनेको जनयु-द्ध लडेकाहरुको मात्र हो भन्ने देखियो,’ एक जना केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘नयाँ तप्कालाई समेट्न पनि नाम परिवर्तन गरेर जानुपर्ने कुरा नेतृत्वलाई भनेका छौँ।’ अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको हो।

अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध प्रचण्डसँग एउटै समूहमा रहेका माधवकुमार नेपाल समूहले अलग भएर एमालेभित्रै रहेर संघर्ष गर्ने निर्णय गर्यो। यो निर्णय मुख्यतः एमालेमा नरहँदा सांसद पद धरापमा पर्ने कारणले गरिएको भएपनि माओवादी केन्द्रको नाममा पूर्वएमालेका नेता कार्यकर्ताहरू रहन नसक्ने अवस्थाका कारण पनि आएको मानिएको छ।

स्रोतका अनुसार माओवादी केन्द्रले नाम फेर्न लागेको सुनेर माधवकुमार नेपाल समूहका नेताहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्। तर, त्यसको अर्थ उनीहरू फेरि प्रचण्डसँग मिलिहाल्छन् भन्ने होइन। माओवादी केन्द्रले अहिले नाम परिवर्तन गर्ने तयारी गर्नुको कारण गैरमाओवादी वा हिजो माओवादी मन नपराउने जमातलाई सहज बनाउनु पनि रहेको मानिएको छ।

‘अन्य पार्टीमा रहेका, स्वतन्त्र भएर बसेकाहरुलाई माओवादी बन्न नपर्ने गरी आफ्नो पार्टीमा आउने वातावरण तयार गर्न पनि नाम परिवर्तन गरेर जानुपर्ने सुझाव आएको’ स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताए। ‘अदालतले ब्युँताएको माओवादी केन्द्रको नाम लिएर जनतामा जानुभन्दा नयाँ नाम बनाउन छलफल भएको छ। तर, निष्कर्षमा पुगिएको छैन,’ महराले भने, ‘हामीले तीन वर्षअघि नेकपा बनाउँदा नै माओवादी केन्द्र बिर्सेका छौँ। अदालतले ब्युँतायो भन्दैमा पश्चगमनमा फर्कने कुरा हुँदैन भन्ने साथीहरुको राय छ।’

एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ। ‘हिजोको बाटोमा फर्किंदा अग्रगामी शक्ति बन्न सकिँदैन, नयाँ ध्रुवीकरणको लागि बाटो बनाउने र एकै ठाउँमा उभिन अपिल गर्ने हो भने माओवादी जोडिएको नाम नै किन चाहियो?’ अर्का एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने।

उनले सबैलाई समेट्न पार्टीले पहल गर्नुपर्ने बताए। ‘नेकपा बनाएर गल्ती गरिएको छैन भन्ने नेतृत्वलाई विश्वास छ भने अब नेकपा नै बन्नेगरी सबैलाई समेट्नुपर्छ,’ उनले भने। उनीहरुले नेपालका सबै कम्युनिस्टहरु फेरि कपटक गोलबन्द हुन पनि नाममा लचिलो हुनुपर्ने बताएका हुन्।

‘केपी शर्मा ओलीले कम्युनिस्ट एकतालाई धुजाधुजा पारे। अदालतको फैसलाले विभाजनमा पुर्‍याउँदा दीपावली गरे,’ उनले भने, ‘ओली गुट एकताको पक्षमा रहेनछ भन्ने देखियो। तर, हामीले ३ वर्षअघि फर्केर त्यही माओवादी केन्द्र नाम लिएर जनतामा जानु उचित हुँदैन।’

‘समाजमा रहेका एकेडेमिक तप्का माओवादी भनेपछि झस्किन्छ, माओवादी नबनी पार्टीमा आउने ढोका खोल्न पनि नाम परिवर्तन गर्नुपर्छ भनेका छौँ,’ ती नेताले भने। केन्द्रीय सदस्य युवराज चौलागाईंले १ गते बस्ने केन्द्रीय समितिको बैठकमा नाम परिवर्तन प्रस्तावबारे छलफल हुनसक्ने बताए। ‘केन्द्रीय समितिको बैठकमा नामको बारेमा छलफल हुनसक्छ। तर, तत्काल नाम परिवर्तन होलाजस्तो लाग्दैन,’ चौलागाईंले भने।

Sansarko khabar

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया