
काठमाडौँ — नेकपा (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने निष्कर्ष निकालेको छ । शुक्रबार ओलीले एकपक्षीय केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय पार्टी पदाधिकारी, प्रदेश पदाधिकारीको चयनका साथै केन्द्रीय सदस्यमा २३ सदस्य मनोनित गरेका थिए ।
उक्त निर्णयलगत्तै साँझ बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले निर्णय नमान्ने बरु पार्टीमा सामना गरेर जाने निष्कर्षमा पुगेको नेता रघुजी पन्तले जानकारी दिए ।
उनका अनुसार ओलीले पार्टी फुटाउने मनसायबाट निर्णय गरेको निष्कर्ष पनि बैठकको छ ।
ओली पक्षको बैठकका निर्णय पार्टी विधान र विधिविपरीत छ । त्यो निर्णय हामीले स्वीकार्ने कुरै छैन । आजको बैठकबाट जेजस्तो परिस्थिति उत्पन्न भएको छ, यसको सामना गरेर अगाडि बढ्छौं,’ नेता रघुजी पन्तले इकान्तिपुरसँग भने, ‘हाम्रो बुझाई अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीलाई विभाजनको दिशातिर लैजानु भयो ।’
आजको बैठकले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक र चैत पहिलो साता राष्ट्रिय भेला बोलाउने निर्णय गरेको उनले बताए ।
sansarkokhabar