बिहिबार १४ साउन २०७८

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना गर्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी जनता समाजवादी पार्टी (जसपा) यतिबेला सत्ता सहकार्यका लागि सरकारसँग वार्ता गरिरहेको छ ।

डा. भट्टराईको इच्छा र चाहना नहुँदा–नहुँदै पनि जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको जोडबलमा जसपाका शीर्ष नेताहरू ओलीसँग छलफलका लागि बिहीबार साँझ बालुवाटार पुगे ।

पार्टी बैठकमा सहभागी भएर बालुवाटार जाने निधो भइसकेका डा. भट्टराई अन्तिम समयमा ओलीलाई भेट्न गएनन् । भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीलाई जसरी पनि हटाउनुपर्ने माग राख्दै आएका थिए । तर यतिबेला उनकै पार्टी ओलीलाई समर्थन गर्ने सम्भावनाबारे छलफल र वार्ता गरिरहेको छ ।

तर डा. भट्टराई ओलीका स्थायी विरोधी जस्तै छन् । उनले केही दिनअघि ट्विटरमा लेखेका छन्, ‘अखाद्य वस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो । तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुबै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको ? ओली हटाऊ, देश बचाऊ’

ओलीविरुद्ध चर्काे टिप्पणी गर्दै आएका डा. भट्टराईसहित शीर्ष नेताहरू बालुवाटार जानुपर्ने निर्णय जसपाले गरेपछि डा. भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आयो । जसपाका शीर्ष नेताहरू बिहीबार साँझ ५ बजे बालुवाटार गएका थिए ।

जसपा नेपालको बिहीवार बसेको पदाधिकारी बैठकले राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको थियो । जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई लगायत साँझ ५ बजे बालुवाटार जाने तय भइसकेपनि अन्तिम समयमा आएर डा. भट्टराई बालुवाटार गएनन् ।

बिहीबार दिनभर पार्टीको बैठक तथा अन्य भेटवार्ताका कारण धपेडी भएका कारण डा. भट्टराईले बालुवाटार जाने कार्यक्रम रद्द गरेको बताइएको छ । तर खासमा उनी ओलीसँग सत्ता सहकार्य गर्ने विषयमा सकारात्मक छैनन् । उनले ओलीको राजीनामा माग्दै आएका छन् । मिडिया डबली

१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया