Tuesday, October 27

हिँडेर आइरहेकालाई रोक्न खोज्यो भने यहाँ तलसम्म हो भनेर छल्न खोज्छन्

August 5, 2020 124

काठमाडौं : काठमाडौं उपत्यका छिर्ने सबैभन्दा ठूलो र व्यस्त नाका हो, नागढुंगा । मंगलबार मध्यान्ह १२ बजेतिर नागढुंगामा धनगढीबाट स्कुटरमा आएका अर्जुन गुरुङ लरखराइरहेका थिए। काठमाडौं प्रवेशका लागि प्रहरीले अनुमति नदिएपछि उनी तनावमा थिए।

बुटवलमा स्कुटर नवीकरण गराएर आएका गुरुङलाई प्रमुख जिल्ला अधिकारीको पास नभएको भन्दै प्रहरीले रोकेको हो। उनी १० दिनअघि नागार्जुन नगरपालिका -३ बाट पास बनाएर गएका थिए। ‘जाँदा गए, यही पासले भयो, अहिले सीडीओको पास चाहिन्छ भन्छन्’, आक्रोशित मुद्रामा भेटिएका गुरुङले भने, ‘पास नभए फर्किएर जाऊ भन्छन्, यहाँ आएको मान्छे त्यति टाढा फेरि फर्केर जाने कुरा भएन।’

लगत्तै धादिङको नौबिसे हिँडेका दुई जनालाई पास नभएको भन्दै प्रहरी रोक्यो। पेसाले प्राविधिक उनीहरू कामको सिलसिलामा हिँडेका रहेछन्। ‘साइडको कामको लागि नौबिसे हिँडेका हौं’, प्राविधिक राजन महर्जनले भने, ‘हामीसँग अरू सबै कागजात छ, कार्ड पनि छ तर सीडीओको पास नभई जान पाइँदैन भनेर प्रहरीले रोकेको छ।’

यी प्रतिनिधि घटना मात्रै हुन्। काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले अन्तरजिल्ला प्रवेशमा कडाइ गरेको छ। सीमा नाकामा भित्रिने र बाहिरिनेलाई सुरक्षाकर्मीले अनिवार्य पासको व्यवस्था गरेको छ। चेकजाँचमा कडाइ गरिएपछि नागढुंगामा नेपाली सेनाको सामग्री लिएर आएको एउटा गाडीलाई प्रहरी रोकेर राख्यो। सेनाका अधिकारीले आफ्नो परिचयपत्र देखाउँदा पनि प्रवेश गर्न नदिएको भन्दै हामीसँग गुनासो पोखे। ‘हामीलाई पनि रोकिएको छ, समान धेरै छ, नत्र त हामी फर्किन्थ यौं,’ सादा पोसाकमा रहेका सेनाका एक अधिकारीले नाम नबताउने सर्तमा भने, ‘सीडीओको पास नभए जान पाउनु हुन्न भनेर रोकिराखेको छ।’ प्रहरीले पासमा कडाइ गरेपछि कतिपय यात्रु गाडीबाट ओर्लिएर चेकजाँच छल्न पैदल हिँडेकोसमेत पाइयो भने कतिपय यात्रु वैकल्पिक बाटोको खोजीमा थिए।

काठमाडौंबाट तराई हिँडेका दुई युवा पास नभएकाले ‘चोरबाटो’ खोज्दै थिए। सवारीसाधन चेकजाँचमा
प्रहरीले कडाइ गरे पनि पैदल यात्रुलाई भने रोक लगाउन सकेको छैन। ‘हिँडेर आइरहेकालाई रोक्न खोज्यो भने यहाँ तलसम्म हो भनेर छल्न खोज्छन्’, एक प्रहरीले भने, ‘कतिपय टाढाबाट पैदलै आएका हुन्छन्, फेरि फर्काएर पठाउन पनि गाह्रो।’ गाडी रिजर्भ गरेर आएका यात्रु पनि नागढुंगा नाका नजिक आएपछि ओर्लिएर पैदलै आउने गरेका भेटियो। धादिङबेंसीबाट बसमा आएका केही यात्रु खानी खोलामा ओर्लिएर पैदलै नागढुंगासम्म पुगेका थिए। नागढुंगा पार भएपछि उनीहरू लोकल बसमा गन्तव्यतर्फ लागे।

पास बिनाका गाडीलाई भित्रिन र बाहिरिन रोक लगाइएको बताउँदै महानगरी प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भने, ‘सीडीओको पासबाहेक यहाँ कसैले आउन जान पाउँदैन, बिरामीलाई मात्रै हामीले आउन जान दिएका छौं, अरू सबैलाई सीडीओको पास चाहिन्छ।’ उनका अनुसार पास बिना चलेका २५ वटा सवारीसाधनलाई संक्रमण नियन्त्रण ऐनअनुसार कारबाही गरिएको छ।

बिहान बेलुका सवारी र यात्रु चाप बढी भए पनि नाकामा दिउँसो भने चहलपहल कम देखिन्छ। सरकारले साँझ ७ देखि बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ। यसले गर्दा राति एम्बुलेन्स र शववाहनबाहेकका सवारी सञ्चालनमा नआएको सुरक्षाकर्मीले बताए। अहिले नागढुंगा नाकाबाट मात्रै दिनहुँ करिब ६ सय सवारीसाधन भित्रिने प्रहरीको तथ्यांक छ। ती सबै पास भएका सवारी साधन हुन्। सरकारले काठमाडौं प्रवेश गर्ने सबै नाकामा कोरोना परीक्षण गर्ने जनाए पनि अहिले यो सेवा बन्द छ। सुरुका ६ दिन मात्रै परीक्षण गर्दा नागढुंगा नाकामा ६ हजार ६४ जनाको स्वाब संकलन गरिएको थियो।

Source Annaapurna Post

प्रतिकृया दिनुहोस्