मंगलबार १२ आश्विन २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको धेरै दिन भएपनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।बुधवार बसेको सत्तारुढ गठबन्धनका दलको बैठकले छिट्टै मन्त्री नियुक्त गर्ने सहमति गरेका छन् । तर त्यसले पूर्णता पाउन सकेन ।

बिहीबार बिहान समेत प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भयो । भेटमा मन्त्री नियुक्ति र भागबण्डाबारे छलफल भएपनि नेकपा एमालेका नेता माधवकुमार नेपाललाई अझै पर्खिनुपर्ने निष्कर्ष निकालिएको छ ।

नेता नेपालले न देउवा सरकारमा जाने निर्णय गरिसकेका छन्, न अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन् । नेता नेपाल कतै पनि स्पष्ट नखुलिसकेकाले देउवाले सरकारमा सहभागी हुनसक्ने आश गरिरहेका छन् । नेपाल पक्षमा केही नेताहरूले सरकारमा सहभागी हुनुपर्ने मत राखिरहेका छन् ।

देउवा–प्रचण्डबीच भएको भेटवार्तापछि प्रचण्ड सोझै नेपालनिवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेर सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरे । नेता नेपाललाई पर्खिन खोज्दा अझै केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनसक्ने स्रोतले जनाएको छ ।

नेता नेपाल पक्ष सरकारमा आउने/नआउने टुंगो नलागेकाले अन्य दलबीच समेत मन्त्रालयको भागबण्डा प्रभावित भएको छ। नेपाल पक्ष सरकारमा आएमा ६ वटा मन्त्रालय दिने समझदारी अन्य दलबीच बनेको छ ।

एमालेको नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी केन्द्र र जसपाले बराबरी ७/७ वटा मन्त्रालय पाउने भएका छन् भने कांग्रेसले ८ वटा मन्त्रालय पाउने समझदारी बनेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया