आइतबार ०५ बैशाख २०७८

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वाेच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट पारे । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग भने । सरकार टिकाउने दायित्व प्रधानमन्त्रीको हो कि तपाईंहरुको पनि हो भन्ने प्रश्नमा खनालले भने, ‘हाम्रो पार्टी नेकपा एमालेको । कुनै व्यक्तिले जोगाएर पनि जोगिँदैन । पार्टीले जोगाउन थालेपछि जोगिन्छ । हामी जोगाउनै लाग्छौं ।

संसदले मुलुकलाई राम्रो निष्कर्ष तर्फ लानुपर्ने उनको भनाई छ। उनले नेकपा एमाले देशका वामपन्थी एकताको पक्षमा रहेको र सो मुद्दा कहिल्यै पनि नछाड्ने समेत बताए। ‘यो संसद भनेको सबभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो। देशको सम्पूर्ण राजनीतिक पार्टीहरुले, राजनीतिज्ञहरुले खेल खेल्ने ठाउँ यही हो। अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईहरुले बिस्तारी बिस्तारी देख्दै जानुहुन्छ । तर मलाई लाग्छ, संसदले एउटा राम्रो निष्कर्षतर्फ अब मुलुकलाई लानुपर्छ । नेकपा(एमाले) सधैभरी यो देशको वामपन्थी एकताको पक्षमा छ । वामपन्थीहरुलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छ । मुलुकको अग्रगतिको पक्षमा छ । प्रगतिको पक्षमा छ । हामी यी मुद्दालाई कहिल्यै पनि छोड्दैनौँ,’ उनले भने। एमाले र माओवादी केन्द्रबीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो ।

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया