Wednesday, October 28

दलित शब्द होइन, व्यवहार र आचरण परिवर्तन गरौँ’

August 4, 2020 211

सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो ।

ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए । कति मानिसहरु भित्र आए गए । तर, ती व्यक्तिले मलाई हेरिमात्र रहनुभयो ।

पछि मैले उहाँलाई बोलाएँ, ‘किन त्यहाँ त्यसरी बसिरहनुभएको हो ? आउनुस्, फोटो खिच्ने हो कि कुरा गर्ने हो, गर्नुस् ।’

उहाँको अनुहार रातो भयो । अक्मकिँदै बोल्नुभयो, ‘अलि मिल्दैन कि ! मिल्दैन ।’ मैले हाँस्दै भने, ‘छोडिदिनुस् यी सब । खुरुक्क आउनुस् ।’ त्यसपछि उहाँ मसँग आएर बस्नुभयो । कुरा गर्नुभयो । उहाँ दलित समुदायको हुनुहुँदो रहेछ । हाम्रो थोर बहुत घनिष्ठता पनि बढ्यो ।

त्यसपछि हाम्रो सुटिङ सुरु भयो । छायांकन सकिएर प्याकअप हुँदै थियो । उहाँ फेरि त्यहीँ देखिनुभयो । उहाँको हातमा एउटा पोको थियो । नजिकै आएर भन्नुभयो, ‘तपाईंका लागि मैले खानेकुरा पकाएर ल्याएको छु । स्वीकारिदिनुस् न ।’

त्यो कुरा मलाई यसकारण पनि महत्वपूर्ण लाग्छ कि सम्बन्धित व्यक्तिको व्यवहार र आचरणले नजिक आउन डराएको मान्छेले पनि खाना पकाएर ल्याउने बनायो । यसले मलाई शिक्षा पनि सिकायो ।

यहाँ दलित शब्द हटाउने वा नहटाउने भन्नेजस्ता प्रश्न पनि उठे । तर, दलित शब्दमा के छ र त्यस्तो हटाउनुपर्ने ? दलित शब्द आफैंमा नराम्रो होइन । हटाउनुपर्ने त हाम्रो व्यवहार हो र हाम्रो व्यवहार हो ।

हाम्रो संस्कृति, परम्परा, रहन-सहन धर्ममा भएको विभिन्न कुप्रथामध्ये सबैभन्दा चित्त नबुझेको कुरा भनेको जातका आधारमा एउटा मान्छेले अर्को मान्छेलाई गर्ने भेदभाव र अमानवीय व्यवहार हो । र, यसो गर्नुमा कुनै तर्क पनि भेटेको छैन ।

म पनि यही समाजको उपज हुँ । मेरा बुबा मुमाहरुले पनि केही हदसम्म त्यो कुरीतिलाई अपनाउनुभयो होला । तर, मेरा बुबा मुमा असाध्यै प्रगतिशील हुनुहुन्थ्यो । त्यसैले यसबारे हामीलाई कुनै दबाव दिनुहुन्थेन । यसमा मलाई गर्व लाग्छ । यसको एउटा उदाहरण सुनाउँछु ।

म त्यस्तै ४/५ वर्षको थिएँ । मेरो घरमा सहयोगीका रुपमा त्यस्तै २२/२४ वर्षकी महिला हुनुहुन्थ्यो । मैले उहाँलाई तँ भनेर सम्बोधन गर्थेँ । एकदिन बुवाकै अगाडि मैले तँ भनेर सम्बोधन के गरेको थिएँ, उहाँले कानमा समाएर घिसार्दै ती सहयोगीका अगाडि पुर्‍याउनुभयो र भन्नुभयो- अब आफूभन्दा ठूलोलाई कहित्यै तँ भन्दिनँ भनेर माफी माग् !

मैले यस्तैखालको प्रशिक्षण पाएका कारण पनि ममा विभेदविरुद्धको चेतना आएको हुन सक्छ । र, अहिले मैले दलितको मुद्दामाथि जातको प्रश्न भन्ने कार्यक्रम चलाउने शौभाग्य पाएको छु । यसलाई मैले मात्र प्रस्तोताका रुपमा म यो कार्यक्रममा आएको होइन । आत्मसाथ गरेरै म यो मुद्दामा आएको हो ।

जातीयता समस्याको समाधान त्यही समुदायकाले मात्र हल गर्नुपर्छ भन्ने पनि होइन । कुनै पनि समुदायमा परिरहेको समस्यामा त्यो समुदायको एक्लो पहलले उठ्नका लागि त्यति सजिलो हुँदैन । त्यसका लागि अरुको पनि जरुरत पर्छ ।

किनकि, एउटा व्यक्ति वा समुदायलाई त्यो अवस्थामा पुर्‍याउनका लागि सबैको भूमिका हुन्छ । त्यसैले यसको निकासका लागि पनि भूमिकाको जरुरत पर्छ । जस्तो कि महिलाको समस्या समाधान गर्नका लागि महिलाको मात्र एक्लो पहल सम्भव छैन ।

दलित समुदायको समस्या समाधानका लागि केही कानुन बनेका होलान् । विडम्बना के छ भने कानुनमा लेख्न जति सजिलो हुन्छ । व्यवहारमा उतार्न त्यति नै गाह्रो हुँदो रहेछ । मानिसको त्यो मनोविज्ञानलाई मेटाउनका लागि त्यति सहज रहेन छ । कानुनलाई व्यवहारमा खरोरुपमा उटार्न नसकेका कारण पनि पनि यस्ता अमानवीय घटनाहरु यथावत रहेका हुन् कि !

भर्खरै मात्र भएको रुकुमको घटनालाई नै उदाहरण लिऔँ ।[][]

जातीय अहंकारबाट एउटा समुदायले अर्को समुदायलाई त्यसरी क्रुर व्यवहार र हत्यासम्म गर्ने आँट कसरी आउँछ त ? जो कानुनको रक्षक हुनुहन्छ, उहाँहरुले नै यो मुद्दामा त्यति गम्भीर हुनुहुन्न ? फितलो किसिमले हेर्नुहुन्छ कि भन्ने दृष्टिकोणले पनि उहाँहरुलाई त्यस्तो आँट आएको पनि हुन सक्छ ।

अन्तरजातीय विवाहका आधारमा हत्या भएका अजित मिजारको शव पाँच वर्षदेखि टिचिङ अस्पतालमा लावारिस छ । यसरी पाँच वर्षसम्म रहनुको कारण के हो ? कुनै न कुनै पक्षमा निर्णय त हुनुपर्ने हो ।

यसले समाजमा के नजिर बसेको छ भने यो मुद्दामा कानुन जति गम्भीर बन्नुपर्ने हो त्यति बनेको छैन । यसलाई सबै व्यक्तिहरुले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । कानुनमा भएको कुरालाई सतप्रतिशत कार्यान्वय गर्न तुरुन्तै लाग्नुपर्छ ।

मेरो व्यक्तिगत कुरा गर्दा कुनै त्यस्तो समुदाय छैन होला, जसको प्रतिनिधित्व गरेर मैले अभिनय गरेको छु । हिमालको शेर्पादेखि, तराईको किसानसम्म, भरियादेखि दलितसम्मको भूमिका निर्वाह गरेको छु । जब कुनै एउटा अभिनेताले अभिनय गर्छ, त्यो कलाकारितामा मात्र सीमित रहँदैन ।

कलाकारले चरित्र गर्ने पात्रको भावना, भोगाइ, कठिनाइहरु कहीँ उसको मन मस्तिस्कमा तैरिरहेको हुन्छ । कतै न कतै अवचेतन मस्तिष्कमा बसिरहेको हुन्छ । फलामको काम गर्ने पात्र भएर अभियन गर्दा उहाँहरुकै घरमा गएर छायांकन गरिरहेको छु । उहाँहरुसँगै बसेर खाना खाएका छौँ ।

त्यतिबेला उहाँहरुको घरमा हामीलाई हेर्नको लागि गाउँभरिका मानिस भेला भएका हुन्थे । त्यतिबेला फलामको काम गर्ने दाइले खुशी हुँदै भन्नुहुन्थ्यो, ‘मेरो घर त सधै‌ं खाली हुन्थ्यो, कोही पनि आउनुहुन्नथ्यो तपाई आएर त पुरै गाउँ नै मेरो घरमा आयो ।’

त्यसैले, दलित समुदायको मानिसको घरमा जानेवित्तिकै रोग लाग्ने वा मृत्यु भइहाल्ने त होइन रहेछ । परम्पराबाट आएको एउटा मनोविज्ञान र कुप्रथाले मात्र निर्देशित गरेको रहेछ । यस्तो मनोविज्ञानलाई नै हटायो भने त कुनै समस्या नै रहँदैन ।

तर, जात रङ, पृष्ठभूमिको आधारमा मानिसमाथि अमानवीय व्यवहार देखिइरहेकै छ । यसको कहिले जरैदेखि उखेलिएर समाधान हुन्छ ? यो असाध्यै ठूलो प्रश्न हो । यद्यपि हाम्रो कर्तव्य भनेको यसबारे छलफल गर्ने, बोल्ने र जनतामा भेदभावको कुरालाई उजागर गरिरहने हो ।

(बिहीबार काठमाडौंमा आयोजित ‘जातको प्रश्न’ विषयक टेलिभिजन सम्वाद कार्यक्रममा चलचित्रकर्मी हमालद्वारा व्यक्त विचारको सम्पादित अंश)

Source :onlinekhabar[][]

प्रतिकृया दिनुहोस्