बिहिबार १४ साउन २०७८

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि देशभर पार्टी कार्यालयको नाम परिवर्तन तथा स्थापना गर्ने कार्य तिब्र छ । पार्टी कार्यालय स्थापना गर्न माओवादी केन्द्रभन्दा एमाले अगाडि देखिन्छ । एमालेमा पनि ओली समर्थित नेता कार्यकर्ता बढी हौसिएका छन् ।

सुदूरपश्चिमका सबै जस्तो जिल्लामा मंगलबार नै एमाले कार्यालय स्थापना तथा नाम परिर्वतन सम्पन्न भएको छ । प्रदेशको स्थायी मुकाम धनगढीमा रहेको पार्टीको कार्यालयमा ओली पक्षका नेता कर्णबहादुर थापाकै सहभागितामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको ब्यानर टाँगिएको थियो । उनी पार्टी एक हुनुभन्दा पहिले एमालेमा प्रदेशको उप–संयोजक भूमिकामा थिए । पार्टी एक भएपछि उनी प्रदेश अध्यक्षको भूमिकामा थिए ।

प्रदेशका सबै जिल्लामा एमालेले पार्टी कार्यालय उद्घाटन गरिसकेपछि बुधबार प्रदेशको पार्टी कार्यालय पनि सञ्चालनमा ल्याउने उनीहरूको तयारी थियो । पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा एमालेमा देखिएका दुई पक्ष माधव र ओली समर्थित नेता कार्यकर्तामा समन्वय हुन सकेको छैन ।

कैलाली पार्टी कार्यालय पनि ओली समर्थित नेता कार्यकर्ताकै सहभागितामा सञ्चालमा ल्याइएको थियो । माधव समर्थित ढिलो गरी त्यहाँ पुगेका थिए । सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालमा भने बुधबार माधव समर्थित नेता कार्यकर्ताहरू अगाडि पुगे ।

उनीहरूले नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको ब्यानर टाँग्दै पार्टी कार्यलय सञ्चालमा आएको सामाजिक सञ्जालमा सार्वजनिक गरे । उनीहरूले सार्वजनिक गरे लगत्तै ओली समर्थित नेता कर्णबहादुर थापाको नेतृत्वमा एक टोली त्यहाँ पुग्यो । उनी बिहान ११ बजे प्रदेश पार्टी कार्यालयमा पुगेका थिए । उनी त्यहाँ पुग्दा गेट बन्द थियो । कैलालीको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा सुरक्षाकर्मी खटिएका थिए ।

थापा पार्टी कार्यालय पुग्ने उनलाई प्रहरीले रोक्न खोज्यो । उनलाई रोक्न खोजेपछि थापाले प्रहरी प्रशासनदेखि मन्त्रालयसम्म फोन गरे । त्यसपछि थापाको नेतृत्वमा आएको टोली पार्टी कार्यालयभित्र गएर भीम रावल र भानुभक्त जोशीको कार्यकक्षबाट उनीहरूका नेम प्लेट पछारे ।

त्यहाँ उनी समर्थित नेता कार्यकर्ताले रावलको ठाउँमा लेखराज भट्ट र भानुभक्तको ठाउँमा कर्णबहादुर थापाको नेम प्लेट झुन्ड्याए । त्यसविरुद्ध माधव समर्थित कार्यकर्ताले नयाँ राखिएको नेम प्लेट हटाएपछि झडपको स्थिति पैदा भएको हो ।

माधव समर्थित नेताहरूले नेम प्लेट हटाउँदा विवाद भएको जनाएका छन् । ‘अदालतले पार्टी एकृकीत हुनुभन्दा पहिलेकै ठाउँमा पुर्‍याइ दिएको छ ।’ माधव समर्थित नेता दीपक सिंहले भने । ‘अहिले कहाँबाट प्रदेशको नयाँ इन्चार्ज, अध्यक्ष आए ।’ नेकपा पार्टी एकीकृत हुनुभन्दा पहिले एमालेमा सुदूरपश्चिम प्रदेशको इन्चार्जका भीम रावल थिए भने अध्यक्ष भानुभक्त जोशी हुन् ।

माधव समर्थितले लगाएको बोर्डलाई हटाएर अहिले ओली पक्षले नयाँ बोर्ड लगाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने प्रदेश कार्यालयको उद्घाटन गर्ने भन्ने कुरा जानकारी आएको बताए ।  त्यसै अनुसार कार्यालयमा सुरक्षाकर्मी खटाएको उनले जानकारी दिए ।
कार्यालयमा झडप भएपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

एमाले जीवित हुँदैमा कसैका पद जीवित हुँदैनन् : थापा

प्रदेश पार्टी कार्यालयमा पुगेका ओली समर्थित नेता कर्णबहादुर थापाले पत्रकारसँग संक्षेपमा कुरा गदै एमाले जीवित हुँदैमा कसैका पद जीवित नहुने तर्क दिए ।

‘अहिले हाम्रो इन्चार्ज  लेखराज भट्ट नै हुनुहुन्छ । राजनीति हिसाबले अगाडि बढेको कुरा जो हो । त्यो बदर भनेको होइन । सर्वोच्चको फैसलाले पुराना पार्टीलाई पार्टी विहीन बनाउन नहुने हुनाले नेकपा भनेको ऋषि कट्टेल हो । अनि त्योभन्दा पूर्ववत् अवस्थामा के थिए त्यो मात्र भनिदिएको हो । यहाँ कतिपय मान्छेहरू नेकपा पुरानो पार्टी आयो पदहरू पनि आए भ्रम छर्न खोजिरहेका छन् भने कसैका पद यहाँ आएका छैनन् ।’ उनले भने, ‘कैलालीका अध्यक्ष रतन थापा हुनुहुन्छ । उहाँ नै हुनुहुन्छ । नौ वटै जिल्लाका अध्यक्षहरू यस बीचमा बनाएका छौँ । उहाँहरू नै अध्यक्ष हुनुहुने छ ।’

उनले नेता भीम रावलले पार्टी फर्कन चाहेमा प्रदेश कमिटीको ३० लाख रुपैयाँ ब्याजसहित पार्टीका खातामा फिर्ता गरेमा पार्टीको साधारण सदस्यसम्म रहने बताए ।

‘भीम रावलले यो पार्टीमा आउने हो भने पार्टीमा विवाद हुने बित्तिकै ३० लाख रुपैयाँ गायव गर्नुभएको छ । पहिले उहाँले आर्थिक अनियमितताको जुन अपराध गर्नु भएको छ त्यसको सार्वजनिक माफी माग्नुपर्नेछ र ३० लाख को ब्याजसहित पार्टीको खातामा फिर्ता भए साधारण सदस्यसम्म रहन सक्छन् त्योभन्दा माथि कसैले सोचेको भए गलत कुरा हो ।’ भीम रावलले पार्टीमा विवाद हुने बित्तिकै प्रदेश कमिटीको ३० लाख रुपैयाँ आफू निकट नेताहरूलाई झिकाउन लगाएका थिए ।

fafakdhar

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया