सोमबार ०६ बैशाख २०७८

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग फेरि पार्टी एकीकरण गर्ने रहर देखाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित स्थायी समितिको बैठकमा उहाँले सञ्चारकर्मीहरुलाई बैठक कक्षमा बोलाउनुभयो । त्यसपछि निर्वाचन आयोगबाट आएको दुई वटा पत्र सञ्चारकर्मीहरुकै सामु पढेर बैठकमा सुनाउनुभयो ।

एउटा पत्र निर्वाचन आयोगले पुन पार्टी एकीकरणका लागि पठाएको थियो । त्यो पत्र पढिसकेपछि प्रचण्ड अर्थपूर्ण तरिकाले मुसुक्क हास्नुभयो । त्यसपछि उहाँले मिडियातिर अनुहार नदेखाई घोप्टिएर टिप्पणी गर्नुभयो– ‘अब हामीलाई समय प्राप्त भएको छ, एकीकरण फेरि गर्ने भन्नेतिर जानुपर्ने भयो, हामीलाई त एकीकरणको समस्या त होइन ।’

बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सञ्चारकर्मीहरुले सोधेका थिए– सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिनुहुन्छ ? उहाँले प्रष्ट जवाफ दिनुभएन । किन समर्थन फिर्ता नलिएको भनी सोधिएको प्रश्नमा नारायणकाजीले प्रष्ट जवाफ दिनुभएन । कहिले समर्थन फिर्ता लिने भनी सोधिएको जवाफ पनि उहाँले दिनुभएन । कांग्रेस र जसपासँग भएको वार्ताबारे प्रचण्डले बैठकलाई जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । आज पनि वार्ता हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अब माओवादी केन्द्रले जबज अंगाल्छ कि अंगाल्दैन भनी सोधिएको प्रश्नमा नारायणकाजीको जवाफ थियो– ‘तपाईंको प्रश्न नै गलत छ, जबज हाम्रो कार्यदिशा होइन, हिजो एकीकृत पार्टीमा पनि जबज मानेका थिएनौं ।’

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले तत्काल सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । नयाँ सरकार गठन भन्दा पनि राजनीतिक अन्यौल हटाउने माओवादीको उद्देश्य रहेको दावी प्रवक्ता श्रेष्ठले गर्नुभयो । सबै राजनीतिक दलसँग सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

पार्टीको संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गरेको उहाँले जानकारी दिनुभयो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन । माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना सांसदहरुसँग सम्पर्क गर्ने र छलफल गर्ने काम गर्ने भएको छ ।

media7post

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया