शुक्रबार २२ साउन २०७८

नाफाको जिन्दगी बाँचेको मेरा लागि प्रधानमन्त्रीभन्दा पनि जनताको स्वतन्त्रता ठूलो हो । म यसैका लागि १४ वर्ष जेल बसेको हुँ ।
– प्रधानमन्त्री केपी शर्मा ओली

म प्रधानमन्त्रीको दौडमा छैन, र लोभ पनि छैन् ।
– कांग्रेस सभापति शेरबहादुर देउवा

म पद्दति बचाउन लडेको हो, प्रधानमन्त्रीका लागि होइन
– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल

संसदीय प्रणालीमा प्रधानमन्त्री सर्वाधिकार सम्पन्न पद हो । राजनीति गर्नेको अन्तिम अभिष्ट यही पदमा गएर ठोकिन्छ । विधिको शासन कम, शक्तिको उपासना अधिक गर्ने प्रवृत्ति बोकेको हाम्रो समाजमा त झन् यो पदमा गरिमा अझ उच्च छ । प्रधानमन्त्री जुन पार्टीको भयो, राष्ट्रिय राजनीतिमा उसको पल्ला भारी देखिने गरेको छ । बजारमा शक्तिका उपासक उसैका हुन्छन् । साम, दाम, दण्ड, भेद उसैले खेल्न सक्छ । यदि कुनै राजनीतिज्ञले आफ्नो इतिहास स्वर्णअक्षरमा लेखाउने हो या पानीले पानीमा पानी लेख्या जस्तो गर्ने यो उसकै कर्ममा निर्भर रहन्छ । जंगबहादुर, भीमसेन थापा हुँदै बीपी कोइरालासम्मको इतिहासलाई जीवित राख्न यही पदले सघाएकोमा दुईमत छैन् । समकालीन नेताहरुमा शेरबहादुर देउवा चारपटक त्यो पद सम्हाल्न पुगेका छन् । केपी ओली र प्रचण्ड दुई, माधव नेपाल, डा। बाबुराम भट्टराई, झलनाथ खनाल एकपटक सरकार प्रमुख बने । यी व्यक्तिहरु सिंहदरबारको भित्तामा फोटो झुण्ड्याउन सफल भएपनि जनताको मनमा कति स्थापित हुन सके ? त्यो विश्लेषणको अर्को पाटो हो ।

एउटा सांसद मन्त्री हुँदै प्रधानमन्त्री बन्न चाहान्छ । पियन हेड पियन, सिपाही हवल्दार, प्रेस प्रतिनिधि प्रमुख संवाददाता, जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीश, उच्च अदालतको न्यायाधीश सर्वोच्च, सर्वोच्चको न्यायाधीश प्रधानन्यायाधीश भएर इतिहास बनाउने सपना पाल्छ । यो स्वाभाविक हो । जब राजनीति गर्नेहरु राजनीतिको सर्वोच्च पदप्रति उदासीन देखाउँछन् भने त्यसमा पाखण्डको मात्रा अधिक छ भन्ने सत्य बुझ्दा हुन्छ । वास्तवमा कुर्सीप्रति उनीहरुको अनिच्छा ‘अंगुर अमिलो’को कहानीजस्तै हो । शेरबहादुर देउवाले ज्योतिषको हवाला दिँदै सात पटक प्रधानमन्त्री हुने सन्दर्भ उछाल्नुको मनोविज्ञान के हो रु जब देशको समृद्धिका लागि एउटा इँटा थप्ने तागत राखिन्न भने एकपल्ट हुनु र दशपल्ट दोहोरिनुमा तात्विक भिन्नता रहँदैन । आखिर जतिपटक उच्चासनमा गएपनि फोटो टाँसिने त एकैपटक हो । अनि मान्छेले संझिने र बिर्सिने फोटोले नभएर कामले हो ।

शक्तिकै लछाचुँडीका कारण सर्वशक्तिमान नेपाल कम्युनिष्ट पार्टीभित्र भूइँचालो आयो । पद आर्जनकै लागि माघको ठिहीमा नेताहरु सडकमा पलेंटी कस्न पुगे । शक्ति प्रदर्शनका नाममा देशव्यापी जात्रा भए । एक अर्कालाई होच्याउन शब्दकोषमा भएका शब्द अपुग देखिए । लेखा राख्न नमिल्ने, कसैसंग उत्तरदायी हुनु नपर्ने शैलीमा अरबौं खर्च भयो । एकाध मुठी नेताको स्वार्थका लागि ३ करोड जनताको समय बर्बादी भयो । त्यो प्रदूषित बायुले देशका सम्पूर्ण अवयव प्रभावित भए । राज्यको धनजन क्षति भयो । आखिर त्यसबाट प्राप्त खरानीले स्वयं नेतालाई लगाउन पुग्ने चन्दन त दिएन भने राष्ट्रले क्षति बाहेक केही पाएन ।

महाभारत युद्ध शक्ति र सत्ताको उत्कर्ष प्रयोग थियो । अत्याचार, दुराचार, पापाचार, आफन्तप्रति आशक्ति, कुटनीति, धोका, उन्माद सबै यो कथामा समेटिएका छन् । सत्ताप्रति कौरवको लोभ र सत्यमा अडिग पाण्डवकोे निष्ठा आखिर दुवैको भोक सत्तामै गएर टुंगिन्छ । तर त्यत्रो धनजनको क्षतिपछि प्राप्त सत्तायात्राको घडीमा पाण्डव पक्षमा अनपेक्षित वैराग्य देखापर्छ । उनीहरुकै हातबाट मारिएका कर्ण आफ्नो भाइ भएको थाहा पाएपछि सत्ताका प्रवल उत्तराधिकारी युधिष्ठिरमा वैराग्य आउँछ । युद्धका डिजाइनर श्रीकृष्ण र अर्जुनमा समेत उदासीनले घरजम गर्छ । आखिर त्यत्रो युद्धबाट आर्जन गरिएको सत्ता कसैका लागि उपयोगी भएन । आखिर महाभारतको त्यही दृश्य नेपालको राजनीतिमा देखियो । नेताहरुको सोच एउटा, परिणाम अर्को सिर्जना भयो । केपी ओलीलाई सत्ताच्युत गरेपछि त्यो कुर्सीमा रजगज गर्न पाइने प्रचण्ड–माधव नेपालको योजना चकनाचूर भयो ।

अदालतको अघिल्लो आदेशले संसद पुनर्गठन हुँदा हौसिएका उनीहरु पछिल्लो आदेशबाट थान्को लागेपछि ब्यूँझिएका छन् । कस्तो दुर्भाग्य भने संसद पुनस्र्थापनापछि शुरु भएको पहिलो बैठक बहिष्कार गर्नुपर्ने अवस्थामा उनीहरु पुगे । शक्ति सौदाका लागि आफ्नो घरखेतको सम्पूर्ण तालाचाभी केपी ओलीलाई बुझाएका प्रचण्डले अब माकुरा लागेको घरबाट दैनिकी चलाउन शुरु गर्नुपर्ने छ । ओलीको रिसमा ओलीसंग कुम जोड्न पुगेका माधवकुमार नेपालले ओलीको अनुमतिमा ओत लाग्नुपर्ने छ । शारीरिक, मानसिक हिसावले उनीहरुको राजनीतिक जीवनकै यो कठिन मोड हो ।

नेपालमा सधैं शक्ति र सत्तामा मात्रै लुछाचुँडी हो ? नेपालको राजनीतिले त्याग चिन्दैन रु राजनीति सेवा हो कि व्यापार ? परिवर्तनको नायक समय हो कि व्यक्ति ? नेपालमा त्यागी नेता नभएको कहाँ हो र ? मुखमा आएको प्रधानमन्त्री पद गणेशमानसिंहले सहकर्मी कृष्णप्रसाद भट्टराईलाई हस्तान्तरण गरेकै हुन् । सिंहदरबारमा आगो लाग्दा त्यसको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री पदबाट राजीनामा दिने कीर्तिनिधि विष्टको इतिहासबाट सबै भलिभाँती परिचित छन् । हावाहुरीले रंगशालामा कुदाकुदमा चेपिएर दर्शकको मृत्यु भएपछि त्यसको नैतिक जिम्मेवारी लिएर मन्त्रीबाट राजीनामा दिएर उच्च नैतिकवान राजनीतिज्ञको परिचय दिने केशरबहादुर विष्ट यही धरामा राजनीति गरिरहेका छन् ।

बोल्दा तलमाथि परेकै कारण नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएको दृश्य भर्खरकै हो । राजनीतिज्ञ मात्र होइन, बजेट बनाउँदा मन्त्रीले मर्यादा भुलेको चित्त नबुझेपछि अर्थसचिव रामेश्वर खनालले सचिव पदबाटै विदा लिए । उदाहरण राम्रा विषयको खोज्ने कि नराम्राको भन्ने मात्र हो । त्यागले त्यागको बद्ला त्याग नै माग्ने हो । महात्मा गान्धी पदमै नपुगी पूज्य भए । मदर टेरेसलाई देवी बन्न पद चाहिएन । नेल्शन मण्डेला पदले विश्वका हिरा भएका हैनन् । पदअघि गुण विकास गरिनुपर्छ । त्यो गुणले पदलाई सुशोभित बनाउँछ । राजनीति नाटक गर्ने थलो होइन । त्यसैले यो तथ्य नेताहरुले घाँटीघाँटीसम्म बुझ्न जरुरी छ ।

onlinepana

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया