बिहिबार १४ साउन २०७८

स्थानीय तहको अधिकार प्रयोग गर्दै काठमाण्डौं महानगरपालिकाले यस शैक्षिक सत्र बाट काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नेवारी भाषा (नेपाल भाषा) को अध्ययन अनिवार्य गरेको छ । २०७७ साल असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकबाट काठमाडौं महानगरपालिकाअन्तर्गत सबै विद्यालयहरुमा नेवारी भाषा अनिवार्य पढाउनुपर्ने निर्णय पारित गरेको थियो । सोही निणर्य कार्यान्वयन गर्न कक्षा १ देखि कक्षा ८ सम्म महानगरभित्रका सबै विद्यालयमा अनिवार्यरुपमा नेवारी भाषा अध्यापन गराउनैपर्ने भन्दै महानगरले पहल सुरु गरेको हो ।

अब काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा अनिवार्यरुपमा पढ्नुपर्ने भएको छ । अब यो नियम सामुदायिक विद्यालयमा मात्रै नभएर निजी विद्यालयमा लागू हुने महानगरपालिकाले जनाएको छ । यस प्रयोजनका लागि महानगरपालिका आँफैले १७२ जना शिक्षकको नियुक्ति गरेर सामुदायिक विद्यालयमा पठाएको छ । ती शिक्षकहरुले महानगरभित्र रहेका ९२ वटा सामुदायिक विद्यालयमा पढाउनेछन् ।

पहिले पनि स्थानीय पाठ्यक्रम भनेर अतिरिक्त गणित, अङ्ग्रेजी वा विज्ञान विषय पढाइन्थ्यो । तर यसपटकबाट भने महानगरले जबरजस्ती नेपाल भाषाको अध्ययनलाई अगाडि बढाएको छ । जसका कारण निजी विद्यालयहरु के गर्ने भन्ने अन्योलमा परेका छन् । धेरै बिद्यालयहरुमा नेवारी भाषा बोल्ने र बुझ्ने विद्यार्थी ५ प्रतिशत पनि छैनन् । तर महानगर नेपाल भाषा पढाउन पहल गरेपछि अभिभावक पनि अचम्ममा परेका छन् । धेरै बिद्यालयहरुले महानगरको यो निर्णय पालन गर्न सम्भव नभएको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरी महानगरले काठमाडौंमा नेवार विद्यार्थी मात्रै छन् भनेर सोच्नु गलत भएको बताउँछन् । काठमाडौं देशकै राजधानी भएकाले यहाँ सबै क्षेत्रबाट मानिसहरु आउने भएकाले स्थानीय भाषा भन्दा स्थानीय विषयवस्तु समेटिएको पाठ्यक्रममा जोड दिनुपर्ने पुरी बताउँछन् ।

४० पटक हेरिएको

तपाईको प्रतिक्रिया