शुक्रबार १५ साउन २०७८

नेकपा एमालेभित्र अब के होला भन्ने सबैतर्फ जनचासो रहेको छ । पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समयमा संसदमा २०८ मत पाएर सुरु भएको एमालेको सत्तारोहरण नमिठो अतित भएर सकिएको छ । आफ्नै पार्टीका केही नेताका कारण अहिले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।

नेकपा एमाले भित्र फ्लोर क्रस गर्ने मध्येका एक नेता कृष्णकुमार श्रेष्ठ किसानले अब केपी ओलीलाई महेश बस्नेत लगायतले पनि छोड्ने बताएका छन् । उनका अनुसार अब ओली निकट भएर बसेका नेताहरु धमाधम माधव नेपालतर्फ फर्कन खोज्दैछन् ।

अनलाइन खबरसँग दिएको एक प्रतिक्रियामा श्रेष्ठ भन्छन्, ‘महेशजीलाई पनि त्यहाँ बस्ने वातावरण छैन, यतै आउनुहुन्छ । यही बाटोमा नआई सुख छैन, उहाँहरुलाई पनि कहाँ बस्न दिने वातावरण छ र त्यहाँ? महेश बस्नेत र किसान श्रेष्ठले पार्टीमा के गर्‍यो, के गरेन भन्ने त सबैलाई थाहा छ नि । संसद बचाइयो, अब पार्टी मिलाउने हो । नत्र अर्को निकास निस्किन्छ ।’

उनी कांग्रेस वरिष्ठ नेता पौडेललाई चुनाव हराएर चर्चामा आएका ब्यक्ति हुन् । देउवालाई संसदमा जिताउँदा तनहुँका जनताको झन् बढी माया पाएको श्रेष्ठले बताए । ‘तनहुँका जनताले जुन विश्वास गर्नुभएको छ, आज पनि एक रौं फरक छैन’ उनले भने, ‘फेरि चुनाव जितेर आउँछु, कुनै समस्या छैन ।’

श्रेष्ठलाई मन्त्री हुने लोभमा देउवालाई भोट दिएको आरोप पार्टी भित्रैबाट लागेको छ । विश्वासको मत दिएँ, मन्त्री बनाऊ भन्दै ढोका ढोका नचहार्ने उने बताएका छन् । त्यत्रो दुःख गर्दा केपी ओलीले त मन्त्री नबनाएको अब देउवाले बनाउँछन् भन्ने आशा नभएको उनले बताए ।

त्यस्तै नकेपा एमालेले पार्टी विवाद मिलाउन गठित कार्यदलको तयार गरेको १० बुँदे सहमति कार्यान्वयन सुरु गरेको छ। यसअघि केन्द्रीय कमिटीको १४औं बैठक भनी बोलाइए पनि उक्त बैठकलाई दशौं बैठकमा परिणत गरिएको छ। माधव नेपाल समूहको मागअनुसार नै दशौं बैठकमा परिणत गरिएको बताइएको छ।

नेकपा माओवादी केन्द्रसँग एकताअघि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकमा नेपाल समूहका नेताहरुको सहभागिता छैन। माओवादी केन्द्रबाट एमाले आएका नेताहरु भने उपस्थित छन्। बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भएको आरोप लगाएका छन्। उनले नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन्।

यस्तै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव गरेका छन्। उनले ती सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैटक सुरु गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन्। बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले भने अब स्पष्टीकरणको अर्थ नभएकाले सिधै कारबाहीको निर्णय गर्नुपर्ने माग गरेका छन्।

etajakhabar

४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया