बिहिबार १४ साउन २०७८

काठमाडौं।

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई प्रस्तावको पक्षमा हस्ताक्षर गरेकामा नेकपा एमालेका २६ सांसद थिए ।

उनीहरु वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर हुन् । तीमध्ये ३ सांसद पछि हटेका छन् । यो अंकगणितलाई आधार मान्दा नेपाल पक्षमा २३ सांसद छन् ।

पछिल्लो समय राजनीतिमा निकै उथलपुथल आइसकेको छ । माधव नेपालसँग उनलाई साथ दिदै आएका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत नेताहरु टाढिएका छन् ।

उनीहरु नेपाल पक्षमै बस्लान् या ओलीसँग लाग्लान् ? चासोको विषय छ । नेपालको साथमा रहेर अहिले टाढिएका नेताहरु पर्ख र हेरको अवस्थामा छन् ।

माधव नेपालको पक्षमा रहेका २३ मध्ये १५ प्रत्यक्ष निर्वाचित हुन् । ८ जना समानुपातिकतर्फका सांसद हुन् ।

प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिकतर्फका केही सांसदहरु ओली समूहमा फर्कने सम्भावना रहेको छ ।

ओलीले कारबाही या दिने अवसरबाट यसको निक्र्यौल हुन्छ । अन्यथा उनीहरु माधव नेपाल पक्षमै रहने देखिन्छ ।

२३ सांसदलाई आफ्नै पक्षमा पार्न सके माधव नेपालले ओली समूहमा गएका केही सांसदलाई तान्न पनि सक्छन् । जसमध्ये विगतमा देउवाको पक्षमा हस्ताक्षर गर्ने ३ सांसद पनि छन् ।

उनले ओली समूहमा गएका अरु सांसदलाई पनि तान्न सक्ने सम्भावना छ । ७ जना सांसद नेपाल पक्षमा तानिन सक्छन् ।

अहिले रहेका २३ जनालाई जोगाएर थप तान्नसके ३० जनासम्म सांसद माधव नेपालको पक्षमा पुग्न सक्छन् ।

माधव नेपालले आफ्नो पक्षमा रहेका २३ जना सांसदलाई नै जोगाउन सकेनन् भने परिस्थिति फरक हुन सक्छ ।

उनको पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईसहितका सांसदले गुट परिवर्तन गरेमा प्रत्यक्षतर्फ नै ५ देखि ७ सासद घट्न सक्छ ।

सामानुपातिकतर्फ पनि सांसदमाथि कारबाही भई सदर भएमा ८ जना घट्न सक्छन् । त्यस्तो अवस्थामा माधव नेपालको पक्षमा १० भन्दा कम सांसद रहन सक्छन् ।

घटनाक्रमलाई विश्लेषण गर्दा नेपालसँग कि त १० भन्दा कम सांसद रहन्छन् कि त २३ देखि ३० सांसद रहन्छन् ।

१० भन्दा कम सांसद भएमा देउवाको पक्षमा विश्वासको मतका लागि बहुमत पुग्न मुश्किल पर्न सक्छ ।

नेपालले २३ देखि ३० सांसद बनाएमा देउवा स्पष्ट बहुमत पाएर आवधिक चुनावसम्म प्रधानमन्त्री रहने सम्भावना रहन्छ ।

tajapostnp

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया